असल अभ्यासमा चौरजहारी

असल अभ्यासमा चौरजहारी
फाइल तस्बिर।
सुन्नुहोस्

स्थानीय तह नागरिकका अपेक्षा पूरा गर्ने नजिकका शासकीय संरचनाहरू हुन्। नागरिक हितको रक्षा र प्रवद्र्धन स्थानीय सरकारको मुख्य जिम्मेवारी हो। जसले स्थानीय सरकारप्रति भरोसा र विश्वासमा अभिवृद्धि गर्छ। मुलुक संघीय संरचनामा प्रवेश गरेको आठ वर्ष भयो।

संघीय शासन प्रणालीले नागरिकका अपेक्षा सम्बोधन गर्न सक्यो वा सकेन ? जेहोस्, स्थानीय तहहरू सिर्जनशील र रचनात्मक कार्य सञ्चालन गर्न जरुरी छ। लेखमा रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले गरेका केही असल अभ्यासको चर्चा गरिएको छ।

नगरबस सेवा  :  पहाडी भूभागमा घण्टौं पैदल यात्रा गर्नुपर्ने बाध्यता चौरजहारीवासीमा थियो। ‘जनप्रतिनिधिले सरकारी गाडीको सेवासुविधा प्रयोग गर्छन्, जनताका दु : ख उस्तै’ भन्ने गुनासो पनि थियो। त्यसैले २०७६ सालदेखि सञ्चालनमा आएको नगरबस हाल पाँचवटा छन्, जुन सहुलितपूर्ण र नियमित छ। यात्रामा सहिद परिवार, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूलाई विशेष सहुलियतको व्यवस्था छ।

पोसाक तथा स्टेसनरी सामग्री वितरण  :  एउटै आकार र प्रकारको अभ्यास पुस्तिका पनि। प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत बालबालिकाका लागि यो सुविधा छ। यसले विद्यार्थी उपस्थिति र टिकाउ दरमा समेत वृद्धि गरेको छ। आर्थिक अवस्थाका कारण पोसाकमा हुने विभेदको अन्त्य भई एकरूपता कायम भएको छ।

नगर शिक्षक परिचालन  :  समुदायको सक्रियता स्थापना गरिएका सामुदायिक विद्यालयहरू पछिल्लो समय आन्तरिक स्रोतको अभावमा ऋणमा थिए। शिक्षकहरूको तलबभत्ताको जोहो गर्न हम्मेहम्मे थियो। निजीस्रोत शिक्षकविहीन बनाउन चौरजहारीले ११५ नगर शिक्षक परिचालन गरेको छ।
टिनका छानामुक्त विद्यालय भवन निर्माण अभियान  :  टिनका छानामुक्त विद्यालय निर्माणको अभियान सञ्चालनका लागि पाँच वर्षअघि थालिएको यो अभियानले पूर्णता पाएको छ। ३७ सामुदायिक विद्यालयमा पक्की भवन निर्माण भएका छन्। टिनका छाना पूर्णरूपले विस्थापित भएका छन्।

एक घर एक धारा  :  गाउँबस्तीहरू खानेपानीको चरम समस्यामा थिए। स्वास्थ्य र सरसफाइका लागि नगरपालिकाले ६ वर्षदेखि एक घर एक धाराको अभियान सञ्चालन गर्‍यो। १८ वटा लिफ्ट योजनाहरू सञ्चालनमा आए। एक दर्जन खानेपानी योजना बने। फलस्वरूप ९० प्रतिशत घरमा धारा बने। खानेपानीका लागि खच्चड र ट्याक्टरमा समेत पानी ढुवानी गर्नुपर्ने अवस्था अन्त्य भएको छ।

स्वास्थ्य बिमा कार्यक्रम  :  उपचार खर्चको अभावमा कुनै पनि नागरिकको ज्यान जाने अवस्था नबनोस् भनेर नगरपालिकाले कमजोर आर्थिक अवस्थाका १२८४ घरपरिवारको नि : शुल्क स्वास्थ्य बिमा गरिदिएको छ। विपन्न, सहिद परिवार तथा घाइते अपांगता भएका परिवारलाई नगरपालिकाले नि : शुल्क बिमा गरिदिएर स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गरेको छ। नगरका प्रत्येक परिवारमा एक लाखसम्म स्वास्थ्य उपचार सेवाको सुनिश्चिता भएको छ।

ई–हाजिरी सञ्चालन  :  विद्यालय र कार्यालयहरूमा विभिन्न बहानामा शिक्षक कर्मचारी अनुपस्थित हुने अवस्था थियो। कतिपय उपस्थित नहुने, उपस्थित भएर पनि पूरा समय कार्यालयमा बस्न नचाहने प्रवृत्ति अन्त्य गर्न चुनौती थियो जुन अन्त्य भएको छ। दैनिक, मासिक र वार्षिक रूपमा कर्मचारीहरूको उपस्थितिको तुलनात्मक रूपमा लेखाजोखा गर्न मिल्ने सफ्टवेयर सञ्चालनमा छ।

नि : शुल्क फोटोकपी सेवा र सेवाग्राही सन्तुष्टि सर्वेक्षण  :  नगर कार्यपालिकाको कार्यालयमा आउने सेवाग्राहीले फोटोकपीका लागि पैसा तिर्नु पर्दैन। यसले सरल, सहज र छरितो सेवा प्रवाहमा टेवा पुगेको छ। फोटोकपीका लागि जाँदा–आउँदा झन्डै एक घण्टा लाग्थ्यो। नगरपालिकाको सेवा प्रवाहका बारेमा सेवाग्राहीसँग सन्तुष्टि सर्वेक्षण गर्ने गरिएको छ। यो सेवा सेवाग्राहीबाट प्राप्त सुझाव कार्यान्वयन गरिएको हो।

कल सेन्टरको स्थापना  :  अति आवश्यकीय सेवाका लागि सेवाग्राहीको सहज पहुँचको प्रबन्ध नगरपालिकाले मिलाएको छ। अतिआवश्यकीय सेवाका लागि २४औं घण्टा कल सेन्टर उपलब्ध छ। प्राकृतिक विपद्मा उद्दारसमेतका लागि नगर प्रहरीको सहयोग लिन कल सेन्टर सहयोगी बनेको छ।
अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान  :  जातीय विभेद सामाजिक अपराध हो। शान्त, न्यायपूर्ण र समतामूलक समाज निर्माणका लागि जातीय विभेदरहित समाज आजको आवश्यकता हो। त्यसको पूर्ण प्रत्याभूतिका लागि प्रेरित गर्न नगरपालिकाले अन्तजातीय विवाह गर्ने जोडीहरूलाई पुरस्कारसहित सम्मान गर्ने गरेको छ।

आन्तरिक राजस्व लक्ष्यभन्दा बढी  :  आव २०७९/८० मा नगरपालिकाले आन्तरिक राजस्व लक्ष्यभन्दा बढी संकलन गरेको छ। २ करोड २२ लाख प्रक्षेपण गरेकोमा २ करोड ३१ लाख राजस्व संकलन भएको छ। मासिक तथा वार्षिक लक्ष्य तोकी नतिजा सार्वजनिक तथा सम्मानले सकारात्मक नतिजा प्राप्त भएको हो।

निष्कर्ष  :  स्थानीय सरकार घर नजिकको सरकार हो। नागरिकका समस्यालाई सहजरूपमा ग्रहण गरी सार्वजनिक सेवाप्रवाहलाई रचनात्मक रूपले सम्बोधन गर्नु सरकारको दायित्व हो। नागरिकको मन जित्ने गरी स्थानीय तहहरूले कार्यक्रम कार्यान्वयन गर्न जरुरी छ। जनहितमा समर्पित भई रचनात्मक रूपमा प्रस्तुत हुन सके स्थानीय सरकारको गरिमा सधैं उचो हुने देखिन्छ। कर्मकाण्डी पाराले जनताका अपेक्षा पूरा हुन सक्दैनन् भन्ने पुष्टि भइसकेको छ। सफल हुनेहरू फरक केही गर्दैनन् तर हरेक काम फरक ढंगले गर्छन्। यसले सरकार र जनताबीचको सम्बन्धलाई मजबुद र बलियो बनाउँछ। 

ढकाल, चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय हुन्


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.