झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापा : झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका-८ निवासी अन्दाजी ४५ वर्षीय सागर मिश्र रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार सोमबार साँझ साढे ६ बजेको समयमा कनकाई ८ खाडीबस्तीस्थित घैलाडुब्बाबाट लक्ष्मीपुर तर्फ जाँदै गरेको मे १ त ११५१ नम्बरको ट्याक्टरले विपरीत दिशा तर्फ जाँदै गरेको प्रदेश १-०१-०१३ प २५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मिश्रलाई बीएण्डसी अस्पताल बिर्तामोड पुर्याएलगतै चिकित्सकले मृत घोषित गरेका थिए। यता इलाका प्रहरी कार्यालय घैलाडुब्बाले दुवै सवारी साधनसहित ट्याक्टर चालक बिर्तामोड नगरपालिका-४ निवासी ५७ वर्षीय कृष्णप्रसाद सुवेदीलाई नियन्त्रणमा लिएको छ।