‘अबको विश्वयुद्ध पानीको अभावले हुनेछ’
![‘अबको विश्वयुद्ध पानीको अभावले हुनेछ’](https://annapurnapost.prixacdn.net/media/albums/baglung-yegya_MR0ki6E5h3_b7wI7XmaoB.jpg)
बागलुङ : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अबको विश्वयुद्ध पानीको अभावको कारणले हुने बताएका छन्। बागलुङको सर्वसिद्धि पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको सातौं दिन सोमबार आयोजित राष्ट्रिय सुरक्षा प्रणाली र न्यायिक पद्धतिको कार्यान्वयन सम्मेलनमा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले वायु प्रदूषणको कारण पानीको अभाव हुँदै गएकाले अबको विश्वयुद्ध पानीको अभावको कारणले हुने बताए। उनले अहिले विश्व जलवायुको ठूलो संकटमा रहेको र जलवायु बिग्रिँदो अवस्थामा रहेको बताए।
जलवायु परिवर्तनको कारण अहिले हिमालहरू कालो भइरहेको श्रेष्ठले बताए। हिमालमा हिउँ नरहने हो भने हिमाल नरहने र पहाड मात्र रहने पूर्वप्रधानन्यायाधीश श्रेष्ठको भनाइ छ। ‘हिमालमा हिउँ रहेन भने हिमाल हिमाल रहँदैन पहाड मात्र रहन्छ’ उनले भने, ‘हिमाली जडिबुटी र हिमालमा रहन जलचल र छलचल घटेर जान्छ। जनप्रणाली हुन्थ्यो त्यो हुँदैन। यसको परिणाम जलको आपूर्ति घटेर जान्छ। मानवका लागि नभइ नहुने पानी हो। त्यसैले अबको विश्वयुद्ध सायद पानी अभावका कारणले हुन्छ।’
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले एक दशक अगाडि बैंककमा भएको न्याय सम्बन्धी कार्यक्रममा अन्य देशको कारणले वायुप्रदुषण बढिरहेको र नेपालको हिमालमा त्यसको असर देखा परेको भनाइ राखेको बताए।
‘अहिले हिमालमा हिउँ पग्लिएको छ। हिमाल कालो हुँदैछ। नेपालीले गर्दा होइन तर परिणाम नेपालीले भोग्नुपरेको छ। हिउँ कालो हुँदा हाम्रो जीवन, अस्तित्वमा र सभ्यतामा असर पर्छ,’ उनले भने, ‘यसको अन्तर्राष्ट्रिय जवाफदेहिता संहिता निर्माण हुनुपर्छ जसले हामीलाई जवाफ दिनुपर्छ। मैले बैंककमा एक दशक अगाडि न्यायसम्बन्धी कार्यक्रममा यो प्रश्न उठाएको थिएँ।’
श्रेष्ठले विश्वको मानव सभ्यतालाई जोगाउनका लागि जलवायु न्यायको आवश्यक रहेको बताए। ‘यो विश्वलाई मानव सभ्यताका लागि जोगाउने हो भने जल संरक्षण आवश्यक छ,’ उनले भने, ‘यसका लागि जलवायु न्याय चाहिएको छ।’ न्यायको क्षेत्र विस्तार हुनु आवश्यक रहेको श्रेष्ठको भनाइ छ। ‘हिजो देवानी, फौजदारी, पारिवारिक लगायतको न्यायको कुरा गयौं। तर, वातावरणीय र जलवायु न्यायको कुरा गरेनौं,’ श्रेष्ठले भने,
‘हामीले ब्रह्माण्डलाई जोगाउने कुरा गरेनौं। आज त्यो बेला आएको छ। हाम्रो न्यायको क्षेत्र विस्तार हुनु आवश्यक छ।’ न्यायको धारणा नै हो सार्वभौमिकता रहेको बताउँदै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले न्याय सार्वभौतिक हुनुपर्ने र मान्छेका लागि मात्र नभइ जनवार, जलचर र ब्रह्माण्डलाई नै न्याय आवश्यकता रहेको बताए।
श्रेष्ठले जल वायुको न्यायका लागि महायज्ञ महत्वपूर्ण रहेको बताए। उनले कालीगण्डकीको संरक्षण र शालीग्रामको संरक्षणका लागि सम्पूर्ण नागरिक एकजुट हुनुपर्ने बताए। ‘कालीगण्डकीमा रहेको शालीग्रामको संरक्षण हुनुपर्छ। गिट्टी ढुङ्गाका नाममा शालीग्राम मासिदा कुनै हालतमा मन्जुर हुनुहुँदैन,’ श्रेष्ठले भने, ‘कालीगण्डकी संरक्षण नभए शालीग्राम संरक्षण हुँदैन, शालीग्राम संरक्षण नभए हाम्रो पहिचान, आध्यात्मा र सभ्यता संरक्षण हुँदैन। महायज्ञले हामीलाई प्रेरणा जोगाउनुपर्छ।’ उनले अहिलेसम्म सबै फरक फरक तिरबाट हिँडेको बताउँदै बब एकीकृत प्रयास गर्ने र सम्पूर्ण ब्रह्माण्डीय स्रोत, साधन सम्पदालाई जोगाउन लाग्नुपर्नेमा जोड दिए।
उनले सर्वसिद्धिधाम पञ्चकोटमा निर्माण भएका धार्मिक मन्दिरहरूले गण्डकी प्रदेश र बागलुङ जिल्लालाई मात्र नभई देशलाई नै चिनाउने काम भइरहेको बताए। पञ्चकोटमा निर्माणाधिन विश्वशान्ति गण्डकी कलशले जल संरक्षणका सम्बन्धमा विश्वलाई दिने महत्वपूर्ण सन्देश दिने श्रेष्ठले बताए।
सम्मेलनमा बोल्दै गण्डकी प्रदेशका मुख्यन्यायिवक्ता चिरनजीवी शर्मा पौडेलले न्यायलाई शब्दले व्याख्या गर्न नसकिने र आत्माले विश्लेषण गर्नुपर्ने बताए। उनले आपूmले राम्रो वा नराम्रो गरेको बारेमा आत्माले विश्लेषण गर्नुपर्ने धारणा राखे। यस्तै उच्च अदालत पोखराका न्यायाधीश राजु खतिवडाले न्याय र धर्म एक अर्काका पूरक रहेको बताउँदै न्यायको आधार नै आध्यात्ममा रहेको बताए।
यस्तै सुरक्षाविद् डा मेख केसीले अपराधको उदगम र प्रस्थान बिन्दु खुशी मन र विकृत मानसिकताको उपज रहेको बताउँदै साथीभाइको सँगत, कुलत, अनैतिक देखासिकी, चाडै पैसा कमाउने कुण्ठा, चरम भौतिकवादको अपराधमा फसिरहेको बताए। महायज्ञले नकारात्मकबाट सकरात्मक, लिनेबाट दिने, अज्ञानीबाट ज्ञानी, नास्तिकबाट आस्तिक, अनैतिकबाट नैतिकवान बनाउन ऊर्जा प्रदान गर्ने बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)