बेनीमा विपद् उद्धारको नमुना अभ्यास
![बेनीमा विपद् उद्धारको नमुना अभ्यास](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_3PehWDpVLm_tfdrJy1p1Y.jpg)
बेनी : बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शुक्रबार सशस्त्र प्रहरीले विपद् उद्धारको नमुना अभ्यास गरेको छ। गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा सशस्त्र प्रहरी बल नेपालको मुक्तिनाथ बाहिनी र गलेश्वर आश्रित गुल्मले विपद् उद्धारको नमुना अभ्यास प्रदर्शन गरेका हुन्।
विपदमा खटिने जनशक्तिको क्षमता अभिवृद्धि र समुदाय स्तरमा विपद् पूर्वतयारीका विषयमा सचेतना फैलाउने उद्देश्यले नमुना अभ्यास प्रदर्शन गरिएको शसस्त्र प्रहरी बलको मुक्तिनाथ बाहिनीका बाहिनीपति कालिदास धौवाजीले बताए।
‘जलउत्पन्न प्रकोप पश्चात पीडितहरूको उद्धार सम्बन्धी जनशक्तिको क्षमता विकासका साथै समुदायमा सचेतना फैलाउने उद्देश्यले नमुना अभ्यास प्रदर्शन गरिएको हो,’ उनले भने ‘विपद्को पूर्वतयारी, उद्धार, प्रतिकार्य र व्यवस्थापनका गतिविधिलाई प्रभावकारी बनाउन सचेतनामुलक कार्यक्रमले सहयोग गर्नेछ।’
सशस्त्र प्रहरीका ३५ जना सुरक्षाकर्मीहरूले नदीजन्य विपद्को उद्धारमा अपनाइने ५ वटा विधिको नमुना अभ्यास प्रस्तुत गरेका थिए। सशस्त्र प्रहरीको टोलीले एक हप्तासम्म तालिम गरेका थिए।
बाढीले बगाएका, डोरीको सहायताले भिरबाट झरेर नदी किनारमा फसेका, डोरीमा झुण्डिएर नदीको बीच भागमा फसेका, र्याफटिङबाट खसेका र डुबेकाको उद्धार गर्ने विधिको नमुना प्रदर्शन गरिएको सशस्त्र प्रहरी बल गलेश्वर आश्रित गुल्मका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामकुमार पौडेलले बताए।
उनका अनुसार नदीबाट उद्धार पछि प्राथमिक उपचार, मृत्यु भएकाको शव व्यवस्थापन र बाढी पहिरोबाट घरबास गुमाएकाहरूलाई अस्थायी आवास निर्माण गर्ने नमुना प्रस्तुत गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)