आजदेखि छैटौं झापा गोल्डकप

आजदेखि छैटौं झापा गोल्डकप

झापा : बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा शनिबारदेखि छैटौं झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ। 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एक समारोहबीच उद्घाटन गर्न लागेको झापा गोल्डकपको सम्पूर्ण तयारी पूरा भइसकेको गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए।  उद्घाटन समारोहमा गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको प्रस्तुति रहनेछ। गोल्डकपलाई भव्य र सभ्य बनाउन मैदानदेखि सडकसम्म सिँगारिएको छ। 

रंगशालामा अस्थायी बाँसे प्याराफिट निर्माणदेखि सौन्दर्यीकरणमा आयोजकले विशेष ख्याल गरेको छ। बिर्तामोड क्षेत्रको सरसफाइ र रात्रिकालीन लाइट (झिलिमिली बत्ती)को व्यवस्था मिलाइएको छ। बिर्तामोड मुक्तिचोकदेखि रंगशालासम्म सडक आसपास आकर्षक बनाइएको गोल्डकपका अध्यक्ष बस्नेतले बताए। ११ हजार ३ सय ५० जना दर्शक अटने प्याराफिट निर्माण गरिएको बताउँदै अध्यक्ष बस्नेतले भने, ‘उद्घाटन खेल संकटा क्लब र सशस्त्रको एपीफबीच हुनेछ।’ 

विगतका वर्षहरूमा भएका कमजोरी तथा सुझावलाई आत्मसात गर्दै व्यवस्थित रूपमा गोल्ड कप सम्पन्न गर्ने तयारी हामी जुटेका छौँ। ‘यस पटक शौचालय, पार्किङ, टिकट काउन्टरलगायतलाई व्यवस्थित गरेका छौँ भने प्याराफिटलाई दर्बिलो बनाएका छौँ,’ उनले भने। 

खर्चलाई अघिकतम घटाएर गोल्डकप सम्पन्न गर्ने तयारी गरेको बताउँदै उनले भने, ‘यस पटक एक करोड ४० लाख रुपैयाँमा गोल्डकप सम्पन्न गर्ने लक्ष्य लिएर अघि बढेका छौं। यस्तो आर्थिक मन्दीमा चन्दा र सहयोग मागेर गोल्डकप सञ्चालन गर्न गाह्रो हुँदो रहेछ। हामीले यसको संस्थागत विकास र दिगोपनको बारेमा सोच्नै पर्छ।’ 

गोल्डकपलाई व्यवस्थित गर्दै यसको दिगोपनाका लागि अक्षयकोष बनाएर अगाडि बढ्ने तयारी गरेको उनले बताए। उनले गोल्डकप सफल बनाउन सम्पूर्ण सरोकारवाला निकायहरूसँग सहयोगको अपेक्षा गरेका छन्। नकआउट चरणमा प्रवेश शुल्क दुई सय, सेमिफाइनलमा तीन सय र फाइनलमा चार सय रुपैयाँ निर्धारण गरिएको छ। फाइनलमा ८० रुपैयाँ बराबरको जुस टिकटसँगै वितरण गरिने जनाइएको छ। 

यती बु्रअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन्। विभागीय टोली नेपाल पुलिस क्लबले फागुन २० गते ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। उद्घाटन खेलको विजेताले सर्लाहीको बागमती युवा क्लबसँग पहिलो क्वार्टर फाइनल खेल खेल्नेछ।

त्यस्तै, फागुन २२ गते नेपाल पुलिस र चर्च ब्वाइजबीच हुने खेलको विजेताले न्युरोड टिम (एनआरटी) सँग दोस्रो क्वार्टर फाइनल खेल खेल्नेछ। तेस्रो क्वार्टर फाइनल खेल फागुन २३ गते विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले दुई पटक ए डिभिजन लिग च्याम्पियन बनेको मच्छिन्द्र एफसीसँग प्रतिस्पर्धा गर्नेछ। 

अन्तिम क्वार्टर फाइनल खेल फागुन २४ गते झापा ११ एफसीले एन्फा मकवानपुरसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। 

अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ। गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछन्, भने उपविजेताले नगद सात लाख रुपैयाँ प्राप्त गर्नेछन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.