विकासको नमुना पञ्चकोट धाम
पञ्चकोट धार्मिक तीर्थस्थल मात्र नभएर बागलुङको प्रमुख पर्यटकीय स्थलसमेत बनेको छ। धेरै पूर्वाधार पनि निर्माण भइसकेका छन्। जहाँ जल र ब्रह्माण्ड जोगाउने सन्देश दिन १५ दिने ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ भइरहेको छ। जसको मुख्य उद्देश्य ‘विश्व शान्ति कलश’ निर्माण गर्नु हो ।
बागलुङ : बागलुङ जिल्लाको बागलुङ नगरपालिका–६ स्थित पञ्चकोट क्षेत्र तीन दशकअघि चितुवा बस्ने ओडारको रूपमा चिनिन्थ्यो। स्थानीयका अनुसार उक्त स्थानमा चितुवा बस्ने गर्थे। त्यहाँ घाँस काट्न जानेका लागि पनि निकै जोखिम थियो। जोखिम मोलेरै भए पनि घाँस दाउरा गर्न जाँदा स्थानीयले चितुवा र तीनका डमरुहरू खेलिरहेका देख्थे। तर, अहिले चितुवा बस्ने त्यही ओडारमा जिल्लाकै ठूलो पर्यटकीय एवं धार्मिक गन्तव्य ‘पञ्चकोट धाम’ बनिरहेको छ।
बागलुङ बजारदेखि आधा घण्टाको बस यात्रापछि पुगिन्छ ‘सर्वसिद्धिधाम पञ्चकोट’। अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को नेतृत्वमा २०७१ सालमा बृहत् महायज्ञ आयोजना गरेर यसको निर्माण थालिएको थियो। पञ्चकोटको भौतिक संरचनाहरूमध्ये केहीले पूर्णता पाएसँगै अहिले त्यहाँ पुग्नेहरूको संख्या बढ्दो छ।
जन्मथलोलाई तीर्थस्थलमा बदल्ने अठोट
लामो समयसम्म मुस्ताङको मुक्तिनाथ, चितवन र भारतमा समेत बसेर तपस्या गरेपछि बागलुङ फर्किएका मुक्तिनाथ बाबा कमलनयनाचार्यले आफ्नो जन्म ठाउँलाई धार्मिक तीर्थस्थलको रूपमा बदल्न देखेको सपनाले विस्तारै साकार रूप लिँदै छ। कमलनयनाचार्यले आफूले ७ वर्षको उमेरमा त्यहाँ चितुवाको डमरुहरू देखेको र तीनलाई समात्न ओडारमै पुगेको स्मरण गरे। ‘म ७ वर्षकै उमेरमा चितुवाको बच्चा समात्न जाउँ भन्दै साथीहरूलाई भनेर यहाँको ओडारमा पुगेको थिएँ,’ उनले भने, ‘भित्र जाँदा हामीले डमरुहरू खेलिरहेको देखेका थियौं। अहिले यहाँको ओडारमा चितुवाको मूर्ति निर्माण गरिएको छ।’
पञ्चकोटका परिकल्पनाकार स्वामी कमलनयनाचार्य बागलुङ नगरपालिका ६ भान्सामा जन्मिएका हुन्। लामो समयसम्म मुस्ताङको मुक्तिनाथ, चितवन र भारतमा बसेर उनले तपस्या गरे। तपस्याकै क्रममा मुक्तिनाथ बस्दा उनी काठमाडौंदेखि भारतसम्म आवतजावत गर्थे। त्यतिबेला पञ्चकोट र बागलुङको क्षेत्रहुँदै यात्रा गर्न डर लागेर हेलिकप्टरका पाइलटलाई अर्को बाटोबाट यात्रा गराउन अनुरोध गर्ने गरेको उनी सम्झन्छन्।
‘मलाई गाउँमा आउँदा माया र मोह हुने डरले मुक्तिनाथ बस्दा काठमाडौंदेखि भारतसम्मको यात्राका क्रममा बागलुङतिरको बाटो हुँदै यात्रा नगर्ने भन्दै पाइलटलाई अर्कै बाटो लैजान अनुरोध गर्थें,’ उनले भने, ‘२०७० सालमा बानपा— ६ भान्साको शिवालय मन्दिरमा महायज्ञ हुने भएपछि गाउँका सयौं व्यक्तिहरू बोलाउन गएपछि जन्मगाउँ फर्किएको हुँ।’
महायज्ञको लागि जन्मगाउँ आएको बेला आफूलाई दैविक निर्देशन भएकाले जन्म ठाउँलाई धार्मिक तीर्थस्थलको रूपमा बदल्न लागिपरेको स्वामी कमलनयनाचार्यको भनाइ छ। ‘महायज्ञमा आएको तेस्रो दिनमा मलाई दैविक निर्देशन भएको हो,’ उनले भने, ‘महायज्ञ सम्पन्न भएर गाउँको अवलोकनपछि अहिले गरुणशीला निर्माण गरेको भिरमा बल्लबल्ल पुगेको थिएँ। त्यही राति मलाई यहाँको इष्टपृत्तिले सहयोग गर्ने निर्देशन गरेपछि सिद्धि भएको भूमि भनेकोले यहाँ धाम निर्माण सुरु गरिएको हो।’ उनले जलसम्पदाको पहिले नै चर्चा गर्ने गरेको बताउँदै धामको अवधारणा पछि भएको बताए। सबै प्रकारको वस्तुहरू चिताएको पुग्ने भएकाले सर्वसिद्धिधाम पञ्चकोट भनिएको उनको भनाइ छ।
जिल्लाकै पर्यटकीय एवं धार्मिक गन्तव्यको रूपमा विकास भइरहेको पञ्चकोट विभिन्न पाँचवटा कोटहरूको एकीकृत विकासको रूप हो। ताराजालकोटको रूपमा परिचित स्थान अहिले पञ्चकोटको रूपमा चर्चित धाम बनेको छ। त्यस क्षेत्रमा रहेको ताराजालकोट, कारिकोट, माझकोट, रायँरायँकोट र संसारकोटलाई प्रतीकात्मक रूपमा एकै ठाउँमा विकास गरेर पञ्चकोट नामकरण गरिएको स्वामी कमलनयनाचार्यका उत्तराधिकारी ऋषि प्रपन्नार्यको भनाइ छ। ‘सबै पाँचवटा कोटहरूमा जान सम्भव छैन। संसारकोट निकै टाढा पर्ने भएकाले त्यहाँ सजिलै पुग्न पनि सकिँदैन’, उनले भने, ‘अहिले संरचनाहरू बन्दै गरेको ठाउँ ताराजाल कोटको ठाउँ हो। सबै कोटहरूलाई एकै ठाउँमा विकास गरी पञ्चकोट नामकरण गरिएको हो।’
राजाहरूको इतिहाससँग कोटहरू जोडिएको छ। बाइसेचौबिसे राज्यहरूको पालामा राजाहरूको शक्ति आर्जनका लागि भन्दै दैवी शक्तिको पूजा गर्न यी स्थापना गरिएको विश्वास गरिन्छ। पञ्चकोट धार्मिक हिसाबले मुक्तिक्षेत्र र पुलत्स्य पुलह ऋषिले तपस्या गरेको ठाउँ भएको ऋषि प्रपन्नाचार्यको भनाइ छ। उनले नेपालमा भएका सबै गोत्रहरूको मूल पुरुषलाई पञ्चकोटमा स्थापना गरिने बताए। ‘हामीले सबै समुदायको मूल पुरुषलाई यहाँ स्थापना गरेर साझा धामको रूपमा विकास गर्दैछौं’, उनले भने, ‘आदिवासी जनजातिले पुज्ने र खस आर्य समुदायले पुज्ने सबै मूल पुरुषहरू यहाँ रहनेछन्। यो कुनै एक भगवान्को धाम होइन।’ पञ्चकोटलाई कुनै धार्मिकस्थल विशेषको विकल्पको रूपमा विकास गर्ने आफूहरूको सोचाइ नभएको उनले बताए। ‘सबै धाम र धार्मिक स्थलहरूको आ—आफ्नै महत्त्व छ’, उनले भने, ‘हामी पञ्चकोटलाई पञ्चकोटकै रूपमा विकास गर्न चाहन्छौं। यसको छुट्टै महिमा र गरिमा स्थापित हुनेछ।’
गण्डकी प्रदेश शालिग्राम पाइने विश्वमै एकमात्र नदी कालीगण्डकी किनार र यस आसपासको क्षेत्र पवित्र पुण्यभूमि र मुक्तिक्षेत्र भूमि भएकाले यहाँ सबैतिर भगवान्को बास भएको मुक्तिनाथ बाबाको भनाइ छ। उनले सबै देउताहरूलाई एकै ठाउँमा दर्शन गर्न मिल्ने गरी धाम बनाउने संकल्प गरे अनुरूप काम भइरहेको बताए। एक जना सन्न्यासी बाबाको सपनालाई साकार रूप दिन सबैले सहयोग गरेको उनको बताए। ‘सुरुवातमा त्यो केवल मुक्तिनाथ बाबाको सपना भए पनि अहिले त्यो बागलुङको समृद्धिसँग जोडिएर आउन थालेपछि सबैले अपनत्व महसुस गर्ने वातावरण बनेको छ। यो ठाउँलाई पञ्चकोट धामको रूपमा विकास गर्दै गर्दा बागलुङ जिल्ला र साबिकको समग्र धौलागिरिलाई नै राम्रो फाइदा पुग्छ’, मुक्तिनाथ बाबा थप्छन्, ‘विभिन्न धार्मिकस्थलहरूमा पुगेर दर्शन गर्न सकिने भगवान् र देवीदेवतालाई हामीले यहाँ एकै ठाउँ दर्शन गर्न मिल्ने गरी धामको परिकल्पना गरेका छौं।’ उनका अनुसार अहिले पञ्चकोटको विश्वमै चर्चा हुन थालेको छ। नेपाल तीर्थस्थल विकास राष्ट्रिय समिति, अखण्ड ज्योति बाबा श्रीजी च्यारिटेवल ट्रस्टको तत्त्वावधानमा काम सुरु गरिएको पञ्चकोटमा अहिले पञ्चकोट विकास परिषद्को रूपमा काम अगाडि बढेको छ।
५० करोडको पूर्वाधार निर्माण
२०७१ सालमा महायज्ञबाट उठेको रकमबाट सुरु गरिएको पञ्चकोट निर्माणको कामले अहिले एउटा स्वरूप धारण गरेको छ। पञ्चकोटमा ५० करोड बढीको पूर्वाधार तयार भइसकेका छन्। पञ्चकोट विकास परिषद्का प्रतिनिधि अध्यक्ष दामोदर शास्त्रीले पञ्चकोटमा धेरै देवीदेवताको मन्दिरका साथै, सभाहलहरू निर्माण सम्पन्न भइसकेको बताए। ‘सिसमहल, सत्सङ भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पञ्चनारायण मन्दिर, लक्ष्मीनारायण मन्दिर, गरुडशिला, सडक पूर्वाधारको सुधार तथा निर्माण, खानेपानीको व्यवस्थापनलगायतका निर्माणका कामहरू सम्पन्न भइसकेका छन्,’ उनले भने, ‘फागुनको दोस्रो सातादेखि पञ्चकोटमा ५ हजार ५ सय ५५ किलोको मुक्तिनाथ महाघण्टसमेत अनावरण गरिसकिएको छ।’ १ सय ५१ फिट अग्लो कलश निर्माणका लागि फाउन्डेसनका कामहरू सम्पन्न भइसकेको छ।
विश्वशान्तिको ध्वनि गुञ्जाउने ‘महाघण्ट’
पञ्चकोटमा फागुन ९ गते ‘मुक्तिनाथ महाघण्ट’ अनावरण गरिएको छ। ५ हजार ५ पाँच ५५ केजी रहेको महाघण्ट नेपालकै सबैभन्दा ठूलो महाघण्ट भएको स्वामी कमलनयनाचार्यले बताए। ‘यो महाघण्ट नेपालकै पहिलो हो,’ उनले भने, ‘भारतमा हुन सक्छ तर नेपालमा पहिलो हो।’
पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यो घण्टीलाई ‘महाघण्टी’ नाम दिइएको मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यले बताए। महाघण्टी बनाउन आठ वर्ष लागेको थियो। पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजनाअनुसार उक्त महाघण्ट राखिएको स्वामी कमलनयनाचार्यले बताए।
पञ्चकोटमा निर्माण गर्न लागिएको एक सय आठ फिट अग्लो गण्डकी विश्वशान्ति कलश र निर्माण सम्पन्न भइसकेको हनुमानको मूर्तिको नजिकै महाघण्टलाई राखिएको छ। महाघण्टबाट शान्तिको ध्वनि गुञ्जिने स्वामी कमलनयनाचार्यले बताए। ‘महाघण्टको विधिवत् रूपमा प्राणप्रतिष्ठा गरिएको छ,’ उनले भने, ‘महाघण्टबाट निस्किएको ध्वनि साबिक धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका अधिकांश बस्तीमा सुन्न सकिन्छ।’ धेरै समय खर्चिएर बनाइएको महाघण्ट बनाउन करिब साढे दुई देखि तीन करोड खर्च लागेको अनुमान गरिएको स्वामी कमलनयनाचार्यले बताए।
निर्माणाधीन १५१ फिट अग्लो ‘विश्व शान्ति कलश’
यस पटक महायज्ञको मुख्य उद्देश्य हो ‘विश्व शान्ति कलश’ निर्माण। पञ्चकोटमा धेरै पूर्वाधार निर्माण भइसकेका छन्। पञ्चकोटका योजनाकार स्वामी कमलनयनाचार्यको मुख्य योजनामा जल संरक्षण गर्ने सन्देश दिने उद्देश्यले १० वर्षपहिले नै कलश निर्माणको शिलान्यास भएको थियो। २०७१ सालमा तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइराला, वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत १ हजार ८ जनाले कलश निर्माणको शिलान्यास गरेका थिए।
कोरोना, भूकम्पलगायतको कारणले कलशको निर्माण तीव्र गतिमा हुन नसकेको बताइन्छ। १ सय ५१ फिट अग्लो कलशमा करिब १५ सय व्यक्तिहरू अटाउने गरी कलश निर्माण भइरहेको छ। कलश निर्माणका लागि ४० फिट जमिनमुनिबाट फाउन्डेसन तयार भइसकेको छ।
‘दुई करोडभन्दा बढी खर्च गरेर ४० फिट तलबाट कलशका लागि फाउन्डेसनको काम सकेर एक तला ढलान भइसकेको छ’, स्वामी कमलनयनाचार्यले भने, ‘यो नेपालमै पहिलो पटक कालीगण्डकीको तटबाट विश्व शान्तिको सन्देश प्रवाह गर्ने गरी काम गर्दैछौं।’ सबैभन्दा ठूलो योजना र ठूलो रकम लाग्ने योजनाको रूपमा कलश निर्माण भइरहेको छ। ११ तला हुने कलश तीन तलासम्म प्रयोग गर्न मिल्ने र त्यसभन्दा माथि हेर्नका लागि मात्रै बनाइनेछ। पञ्चकोटमा भौतिक संरचनाको निर्माणसँगै गाईको संरक्षणका लागि बागलुङ नगरपालिका–५ मालिका र पर्वतको जलजला गाउँपालिकामा गौशाला निर्माण गरिएको छ।
जल र ब्रह्माण्ड जोगाउने सन्देश दिन ‘ब्रह्माण्डीय महायज्ञ’
पञ्चकोटमा फागुन ९ गतेदेखि ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ सञ्चालन भइरहेको छ। २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा ९ वर्षीया १ सय ९ जना कन्याहरूले कलशमा कालीगण्डकीलगायतका नदीहरूबाट ल्याइएको जल भरेर महायज्ञको उद्घाटन गरेका थिए। जल र ब्रह्माण्ड जोगाउन सन्देश दिन महायज्ञ सञ्चालन गरिएकाले कलशमा जल भरेर उद्घाटन गरिएको स्वामी कमलनयनाचार्यले बताए।
- पञ्चकोट धार्मिक तीर्थस्थल मात्र नभएर बागलुङको प्रमुख पर्यटकीय स्थलसमेत बनेको छ।
- जल र ब्रह्माण्ड जोगाउने सन्देश दिन पञ्चकोटमा फागुन ९ गतेदेखि ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ सञ्चालन भइरहेको छ।
- ‘विश्वमा भइरहेका द्वन्द्वहरूको अन्त्य हुनुपर्छ भनेर यहाँ महायज्ञसमेत लगाइएको छ। राष्ट्र उन्नतिको लागि पञ्चकोटमा बनाइएको योजना उत्कृष्ट छ।’
- १५ दिनसम्म चल्ने महायज्ञमा हरेक दिन राष्ट्रका विभिन्न पदमा आसीन फरक–फरक व्यक्तित्वको उपस्थिति भइरहेको छ।
- पञ्चकोटमा ५ हजार ५ पाँच ५५ केजी ‘मुक्तिनाथ महाघण्ट’ अनावरण गरिएको छ। जुन नेपालकै सबैभन्दा ठूलो भएको बताइएको छ।
- महाघण्टबाट निस्किएको ध्वनि साबिक धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका अधिकांश बस्तीमा सुन्न सकिन्छ।
- महायज्ञको मुख्य उद्देश्य ‘विश्व शान्ति कलश’ निर्माणगर्ने रहेको छ।
यस्तो महायज्ञ अहिलेसम्म नभएको र अब हुने सम्भावना नै नरहेको स्वामी कमलनयनाचार्यको भनाइ छ। ‘यस्तो महायज्ञ न कहिले भएको थियो, न अरू हुने नै छ। अहिले बेग्लै र बृहत् महायज्ञको तयारी गरेका छौं’, उनले भने, ‘२५ फिट अग्लो मौलोलाई २१ हजार ५ सय ५५ जना कर्ताले २१ हजार क्विन्टल धानले पुर्नेछौं।’ महायज्ञमा राष्ट्र समुन्नति, विश्वशान्ति र व्यक्तित्व विकासको संकल्पमा ५४ वटा जडीबुटीहरू नरिबलमा भरेर हवन गरिएको छ।
‘सवा लाख श्रीफलद्वारा राष्ट्र समुन्नति, विश्वशान्ति र व्यक्तित्व विकास संकल्प लिएर हवन गरिएको छ,’ उनले भने, ‘५४ वटा जडीबुटीहरू नरिबलमा भरेर हवन गरिएको हो।’ महायज्ञ सम्पन्न गर्नकै लागि चार करोड खर्च हुने अनुमान गरिएको छ। ‘महायज्ञ सम्पन्न गर्नकै लागि चार करोड जति खर्च हुन्छ होला’, स्वामी कमलनयनाचार्यले भने, ‘१५ दिनसम्म चल्ने महायज्ञमा हरेक दिन राष्ट्रका विभिन्न पदमा आसीन फरक–फरक व्यक्तित्वहरू आएका छन् र अझै केही शीर्ष तहका नेताहरू आउँदै हुनुहुन्छ।’
दैनिक फरक–फरक विषय सम्मेलनमा
धार्मिक महायज्ञमा विभिन्न राष्ट्रिय विकासका मुद्दामा सम्मेलन भइरहँदा धेरैको मनमा उठ्ने प्रश्न हो, ‘यस्तो पनि सम्भव छ र ?’ यही प्रश्नको उत्तर दिँदै अहिले पञ्चकोटमा दैनिक राष्ट्रियस्तरका विज्ञ, देशका मन्त्रीहरू, राजनीतिक दलका नेताहरू, शैक्षिक व्यक्तिहरू र सरोकारवालाहरूले राष्ट्रिय विकास र समृद्धिका बहसमा सहभागिता जनाइरहेका छन्।
धार्मिक यज्ञमा विभिन्न राष्ट्रिय विकासका सम्मेलनहरू पहिलो पटक भएको स्वामी कमलनयनाचार्यले बताए। उनले आफूहरूले पहिले अभ्यास गरेको बताउँदै सम्मेलनबाट देश विकासमा समेत टेवा पुग्ने अपेक्षा लिएको जनाए। सम्मेलनमा भाग लिन आएका अधिकांश व्यक्तिहरूले राज्यले गर्नुपर्ने काम एउटा महायज्ञबाट भइरहेकोमा प्रशंसा गरेका छन्।
महायज्ञको आठौं दिन योग सम्मेलनमा प्रमुख अतिथिको रूपमा आइपुगेकी प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले राज्यले गर्नुपर्ने काम एउटा महायज्ञमा भइरहेको बताइन्। उनले देश विकासका हरेक विषयलाई चयन गरेर प्रत्येक दिन सम्मेलन भइरहेकोमा महायज्ञ आयोजक टोलीलाई धन्यवादसमेत दिइन्। राष्ट्र उन्नतिको लागि पञ्चकोटमा बनाइएको पूर्वाधार र योजनाहरू उत्कृष्ट रहेको उपसभामुख रानाको भनाइ छ। ‘महायज्ञमा आउँदा पञ्चकोटमा बनाइएका पर्यटकीय स्थलहरू अवलोकन गरेँ,’ उनले भनिन्, ‘विश्वमा भइरहेका द्वन्द्वहरूको अन्त्य हुनुपर्छ भनेर यहाँ महायज्ञसमेत लगाइएको छ। राष्ट्र उन्नतिको लागि पञ्चकोटमा बनाइएको योजना उत्कृष्ट छ।’
स्वामी कमलनयनाचार्यले जल जोगाउन र सनातन धर्म संस्कृतिको संरक्षणको लागि यज्ञ गरिएको बताए। ‘नेपाल जल सम्पदाको देश हो। जलस्रोत भएर पनि हामी पछाडि परेका छौं,’ उनले भने, ‘राष्ट्रिय विषयमा सम्मेलन गरिएका कारण तत्व्यक्तिलाई ऊर्जा विकसित गर्ने र अभिप्रेरित गर्ने कार्य यज्ञले गरोस् भन्ने हो। सनातन धर्म संस्कृतिको संरक्षणको लागि पनि यज्ञ गरिएको हो।’ उनले ब्रह्माण्डीय महायज्ञ केवल धार्मिक कार्यक्रममात्र नभई जल जोगाउन राष्ट्रिय आह्वान पनि हुने बताए।
पर्यटकको रोजाइमा ‘पञ्चकोट’
बागलुङ बजारमा आउने जो कोही पनि अहिले पञ्चकोट पुग्न लालायित देखिन्छन्। बाह्य पर्यटकहरूको संख्या न्यून भए पनि आन्तरिक पाहुनाहरू त्यहाँ पुग्ने क्रम बढेको छ। यहाँ भित्रिने पाहुनाहरूको पहिलो रोजाइ नै पञ्चकोट हुने गरेको छ। पछिल्ला दिनहरूमा पञ्चकोटमा कतिपय भौतिक संरचना निर्माण सम्पन्न भएसँगै दैनिक धार्मिक तीर्थयात्री तथा पर्यटकहरूको संख्या बढ्दै गएको छ।
सामाजिक सञ्जालमा पञ्चकोटको चर्चा र तस्बिरहरू देखेपछि घुम्न आएको पञ्चकोटमा पहिलो पटक पुगेका बागलुङ जैमिनी नगरपालिका–३ का सुमन थापा क्षत्रीले बताए। विशेषगरी शनिबार र अन्य बिदाका दिनमा पञ्चकोटमा घुम्नेको घुइँचो लाग्छ। पछिल्लो समय नेपालका धेरै जिल्लाबाट धार्मिक, शैक्षिक अवलोकनका लागि पर्यटकहरू आउने गर्छन्। पर्यटकको संख्या बढेसँगै आवतजावतका लागि सहज बनाउन सडकहरूको स्तरोन्नतिसमेत गरिएको छ। पञ्चकोट धार्मिक दृष्टिकोणले मात्रै होइन यहाँबाट धौलागिरिलगायतका हिमशृंखला देख्न सकिन्छ।
स्वामी कमलनयनाचार्य जो पञ्चकोट धामलाई पूर्णता दिन लागिपरेका छन् ।