मन्त्रिपरिषद् भागबन्डामा आआफ्नै दाबी

मन्त्रिपरिषद् भागबन्डामा आआफ्नै दाबी
सुन्नुहोस्

काठमाडौं : प्रभावशाली मन्त्रालय भागबन्डामा सत्तागठबन्धनमा सहमति जुट्न सकेको छैन। गठबन्धनको मंगलबार बसेको बैठकमा गृह र अर्थ मन्त्रालय कसले लिने भन्नेमा सहमति बन्न सकेन। मन्त्रालयमा सहमति नजुट्दै गठबन्धनलाई थप बलियो र फराकिलो बनाउने प्रयास भने सत्तागठबन्धनका नेताहरूले गरिरहेका छन्। त्यसैकारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई उनकै निवास पुगेर भेटे,  गठबन्धनमा सहकार्यको प्रस्ताव गरे। 

मन्त्रालय भागबन्डा नहुँदा सोमबार तीन जना मन्त्रीले मात्रै शपथ लिएका थिए। मंगलबारको छलफलमा गृह मन्त्रालयमा रास्वपा सभापति रवि लामिछाने र माओवादी केन्द्रका नेता एवं निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले दाबी गरेका थिए। आफूलाई गृहमन्त्री बनाउन सहयोग माग्दै श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग पनि भेटघाट गरेका थिए। नयाँ गृह मन्त्रालयमा अरूको पनि दाबी आएपछि कांग्रेसले लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको चर्चा पनि चलाइएको छ।

गृहमन्त्रीमा लामिछानेकै प्रबल सम्भावना छ। उता अर्थमन्त्री पनि अर्को आकर्षक मन्त्रालय हो। निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको  असहमतिकै कारण कांग्रेससँगको गठबन्धन तोडेका प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालय आफूले राख्ने दाबी गर्दै आएका छन्। गठबन्धनको सबैभन्दा ठूलो एमाले पनि एउटा आकर्षक मन्त्रालय राख्न चाहेको छ। उसको पनि अर्थ मन्त्रालयमा दाबी छ।    

मन्त्रालय भागबन्डको प्रारम्भिक चरणको मात्रै छलफल भएकाले सरकारलाई पूर्णता पाउन अझै केही समय लाग्ने गठबन्धनका नेताहरू बताउँछन्। माओवादी केन्द्रका महासचिव देव गुरुङले मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको बताए। उनले भने, ‘छिट्टै सबै कुरा टुंगिन्छ।’ गठबन्धनमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी छन्। एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतलाई पनि समेट्ने गृहकार्य भइरहेको पनि मन्त्रालय भागबन्डामा केही दिन अरू लाग्ने नेताहरू बताउँछन्। त्यस्तै, सरकारको न्यूनतम सहमतिको साझा कार्यक्रमसहित केही नीतिगत विषयमा पनि छलफल भइरहेको नेताहरूको भनाइ छ। 

नेपाल भेट्न ओली र प्रचण्ड पुगे कोटेश्वर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ‘फकाउन’ प्रधानमन्त्री  दाहाल र एमाले अध्यक्ष ओली मंगलबार साँझ कोटेश्वर पुगेका थिए। प्रतिनिधिसभामा एकीकृत समाजवादीको १० सिट छ।  उक्त भेटमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि सहभागी थिए। 

एमाले अध्यक्ष ओली र नेपालबीच लामो समयपछि औपचारिक भेटघाट भएको हो। ओलीले सोमबार नेपाललाई टेलिफोन गरेर सत्तागठबन्धनमा सहकार्यका लागि आग्रह गरेका थिए। तर, नेपालले फोनबाट नभई भेटेरै सल्लाह गर्नुपर्ने अडान राखेका थिए। त्यसपछि, प्रधानमन्त्री दाहाल र ओली उनकै निवास पुगेका थिए।  

०७८ भदौ २ मा एमाले फुटाएर एकीकृत समाजवादी गठन गरेपछि ओली र नेपालबीच निकै तिक्तता थियो। त्यसअघि नेकपामा हुँदा पनि नेपाल र ओलीबीच सम्बन्ध राम्रो बनेन्। तत्कालीन प्रधानमन्त्री ओलीले ०७७ पुस ५ मा संसद् विघटन गरेपछि त दुई नेताबीच ‘पानी बाराबारकै’ स्थिति उत्पन्न भयो। नेकपामा हुँदा नेपाल र प्रचण्ड एक भएर ओलीलाई एक्ल्याका थिए। ओली र नेपालबीच ‘इगो’ रहँदै आएको थियो। गत वर्ष एमालेले राष्ट्रपतिमा प्रस्ताव गर्दा पनि नेपालले अस्वीकार गरेका थिए। तर, १५ वर्ष नेपालले पार्टीको नेतृत्व गर्दा भने ओली उनका विश्वासपात्र नै थिए। नयाँ गठबन्धनमा समावेश हुने विषयमा नेपालले सकारात्मक उत्तर दिएको बताइएको छ।  यस्तै ६ सिट रहेको जनमतलाई पनि सत्तागठबन्धनमा ल्याउने प्रयास भइरहेको छ। जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्रीमा बार्गेनिङ गरिरहेको छ। हाल मधेस प्रदेशमा जसपाको नेतृत्वमा सरकार छ। नयाँ गठबन्धनले जनमतलाई भन्दा जसपालाई नै प्राथमिकता दिएको छ। नयाँ गठबन्धनको आठबुँदे सहमतिमा जसपा नै सहभागी छ।  यस्तै ४ सिट रहेको लोसपा र नागरिक उन्मुक्तिलाई पनि गठबन्धनमा ल्याउने प्रयास भइरहेको छ।  एमाले प्रचाग विभाग प्रमुख राजेन्द्र गौतमले सरकारलाई पूर्णता पाउन केही समय लाग्ने बताए। गठबन्धनमा संख्या बढाउने विषय प्राथमिकतामा रहेको बताए। न्यूनतम साझा कार्यक्रममा बनाएपछि मात्रै मन्त्रालयको बाँडफाँट हुने उनले बताए। ‘मन्त्रालयको विषयमा छलफल सुरु भएको छैन,’ उनले भने।  

चार दलले शक्ति बाँडफाँट गर्दै आन्तरिक सहमति जुटाउन एक–एक जना सदस्य रहेको कार्यदल गठन गरिसकेका छन्। जसमा एमालेबाट महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, रास्वपाका उपसभापति स्वर्णिम वाग्ले र जसपाका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ छन्। 

सोमबार मात्रै पुरानो कांग्रेससहितको गठबन्धन भत्काएर एमालेसहितको गठबन्धन बनेको  हो। नयाँ गठबन्धनमा एमालेको ८८, माओवादीको ३२, रास्वपाको २१ र जसपाको १२ सिट गरी १४३ सिट छ। २७५  सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिट चाहिन्छ। तर, अन्य साना दललाई गठबन्धनमा भित्र्याउने कोसिस भइरहेको छ।   

एमालेको प्रमुख सचेतकमा बर्तौला र सचेतकमा बराल एमालेको प्रतिनिधिसभाको प्रमुख सचेतकमा महेशकुमार बर्तौला मनोनीत भएका छन्। प्रमुख सचेतक रहेका पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलाले प्रमुख सचेतकको जिम्मेवारी  दिइएको हो। यसअघि बर्तौला सचेतक थिए।  सांसद बर्तौला मकवानपुर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। सचेतकमा भने सुनिता बराल मनोनीत भएकी छन्। झापाकी बराल समानुपातिक सांसद हुन्। दुवै जना पहिलोपटक प्रतिनिधिसभा सदस्यमा भएका युवा नेता हुन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.