अवैध रूपमा ल्याइएको प्याज बरामद
बुटवल : रुपन्देही प्रहरीले भारतीय सीमा नाकाबाट अवैध रुपमा भित्र्याएको प्याज बरामद गरेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका-१ स्थित कालिदहमा बुधबार खटेको प्रहरी टोलीले ८ लाख १० हजार रुपैयाँ बराबरको अवैध प्याज बरामद गरेको हो।
भारतीय सीमा नाकाबाट दैनिक उपभोग्यका सामानहरू ओसारपसार गर्ने क्रम नरोकिएपछि प्रहरीले निगरानी बढाएको छ। बरामद गरिएका १ सय ४० बोरा प्याजसहित चारवटा मोटरसाइकल र सातवटा साइकलसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मनोहर प्रसाद भट्टले जानकारी दिए।
जिल्लाको रोहिणी गाउँपालिका–३ धनधईमा दुई लाख रुपैयाँ बराबरको भन्सार छलीका जुत्ता, चप्पल, कपडा र बच्चाका सामग्रीहरू समेत बरामद गरिएको भट्टले जानकारी गराए।