नेपाललाई पराजित गर्दै भारत साफ यू–१६ महिला च्याम्पियनसिपको फाइनलमा
काठमाडौं : भारत साफ यू–१६ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाललाई १०–० गोल अन्तरले पराजित गर्दै भारत फाइनल प्रवेश गरेको हो ।
नेपालमाथि एकतर्फी जित निकाल्दै भारतले उपाधिका लागि बंगलादेशसँगको भिडन्त पक्का गरेको छ । भारतका लागि पर्ल फर्नान्डेस र गुर्लिन करले २–२ गोल तथा अनिता डुंगडुंग, अनुष्का कुमारी, बिनोफिलिया शुलाई, रेआना र गुर्नाज करले १–१ गोल गरे । एक गोल आत्मघाती भयो ।
लिग चरणको अन्तिम खेल शुक्रबार भुटान र बंगलादेशबीच हुनेछ । प्रतियोगिताको फाइनल भने आइतबार हुनेछ ।