पशुपतिनाथमा लाखौंको घुइँचो

पशुपतिनाथमा लाखौंको घुइँचो
तस्बिर : सुनिता डंगोल

काठमाडौं : कोही पूजाआजामा व्यस्त छन् त कोही नाचगानमा। कोही ‘शिव’को प्रसाद भन्दै ‘चिलिम’ तान्न मस्त छन् भने कोही साधुसन्त र दर्शनार्थीबीचको रमाइलो। कोही पानी÷चिया बाँडिरहेका छन् त कोही खाना। कोही स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् अनि कोही सुरक्षामा तल्लीन छन् त कोही सेवा ग्रहणमा। वारि पशुपतिनाथ मन्दिर, बीचमा बागमती नदी अनि पारि श्लेषमान्तक वनक्षेत्र। शुक्रबार सखारैदेखि साँझसम्म यी क्षेत्रमा लाखौंको घुइँचो। यो दृश्य पाशुपत क्षेत्र पुगेर महाशिवरात्रि मनाउने आन्तरिक र बाह्य धार्मिक पर्यटकको घुइँचो हो।

‘पहिला ९ घण्टासम्म लाइन लागेर भगवान् भोलेको दर्शन गरेका थियौं आज दुई घण्टामै दर्शन गर्न पाइयो, खुसी लागेको छ’, भक्तपुर सूर्यविनायकबाट पशुपतिनाथ पुगेकी श्रेया थापा भन्छिन्, ‘खै के छ कुन्नि, महाशिवरात्रिमा पशुपतिनाथ आउनेको संख्या बर्सेनि बढेकै देख्छु। शिवको शक्ति भव्य र दिव्य हुनुपर्छ।’ 

अविवाहित युवती योग्य वर पाउने अपेक्षासहित महाशिवरात्रिका दिन व्रत बस्ने र पशुपतिनाथ मन्दिर आएर पूजाआजा गर्ने गर्छन् भने विवाहिता नारी पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बस्ने र शिवको दर्शन, पूजाआजा गर्ने गर्छन्। छोरीसँग आएकी मूलपानीकी नम्रता घिमिरेले भनिन्, ‘पहिलेदेखि चलिआएको चलन मानेका हौं। संस्कृति जोगाउने हामीले नै हो। छोरीलाई पनि व्रत लिन र पूजाआजाको संस्कार सिकाउँदैछु। शिवको महिमा सुनाउँदै र बुझाउँदै छु।’

पशुपति क्षेत्र विकास कोषले केही वर्षअघि महाशिवरात्रिमा विदेशबाट करोडौंको फूल झिकाएर पाशुपत क्षेत्र सजाएर भक्तजनलाई विशेष आकर्षण दिलाएको थियो। त्यसको पछिल्लो वर्ष कोषले झिलिमिली बिजुलीबत्तीको आकर्षण भक्तजनलाई प्रदान गरेको थियो। अर्को एक वर्ष पाशुपत क्षेत्रमा रहेका विभिन्न पर्खालमा शिव, पशुपतिलगायत विभिन्न आकृतिमा रङ पोतेर आकर्षक चित्र बनाएर दर्शनार्थीलाई लोभ्याएको थियो। गत वर्षदेखि पाशुपत क्षेत्रमा साउन्ड सिस्टमको व्यवस्था गरी पशुपति आउने भक्तजनलाई दिनभरजसो शिवसँग सम्बन्धित भजन र धुन आदि सुन्ने व्यवस्था गरिएको छ।

यस वर्ष पशुपतिनाथमा चढाइएको बेलपत्र र धूपलाई पुनप्र्रयोग गरी १४ फिट अग्ला १० वटा बत्ती बनाएर निरन्तर १२ घण्टा पशुपतिनाथ मन्दिरको पश्चिम द्वारमा बालिएको कोषका सदस्यसचिव राजु खत्रीले जानकारी दिए। उनले अन्नपूर्णलाई भने, ‘यसपटकको महाशिवरात्रिको आकर्षण यो बत्ती र बागमती नदीमा पानी पनि हो। 

२२ गतेदेखि २७ गतेसम्म १८ करोड ५० लाख लिटर पानी भष्मेश्वरसम्म ड्याम बनाएर छोडिएको छ।’ उनका अनुसार, दर्शनार्थीको सहजताका लागि पाँचवटा र्‍याम्प थपेर नौवटा बनाइएको यसपटक दर्शनार्थीलाई सहज दर्शन सम्भव भएको छ। नेपाल र भारतका गरी झन्डै २५ सय साधुसन्त पशुपतिनाथ परिसरमा आइसकेका छन्।

कोषले पाशुपत क्षेत्रमा गाँजा, भाङ, मासु र मदिरा विगत वर्ष झैं निषेध गरेको थियो। तर खासगरी बागमती नदीपूर्व साधुसन्तले युवालाई गाँजा खिलीमा बिक्री गरेका दृश्य देखिए। साथीभाइसँग आएका एक युवाले पहिलोपटक गाँजा ताने। उनले भने, ‘शिवको प्रसाद हो, ग्रहण गर्नैपर्‍यो। शिव सम्झने स्वाद पनि हो यो।’ 

श्लेषमान्तक वनक्षेत्र र राम मन्दिर परिसरमा यस्ता समूह र दृश्य बर्सेनि देख्न पाइन्छ। निषेध भने पनि लुकिछिपी बेचबिखन गर्ने र सेवन गर्नेको संख्या शून्यमा झर्न सकेको छैन।

बिहान २ बजेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरिएको थियो। पशुपति क्षेत्र विकास कोषले यस वर्ष २० लाख भक्तजन पशुपति आउने आकलन गरेको थियो। दर्शनका लागि कोषले तिलगंगा क्षेत्रको पिंगलास्थानबाट पूर्व र दक्षिणको लाइन, जयबागेश्वरी पश्चिम ढोका र गुह्येश्वरी गौरीघाटबाट उत्तरको लाइन तय गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। 

दर्शनार्थीलाई जुत्ताचप्पल र स्वास्थ्य सेवासमेत मिलाइएको उनको भनाइ छ। ६० भन्दा बढी आवास र भोजन क्षेत्र हंसमण्डपमा तोकिएको छ भने विभिन्न क्षेत्रमा अन्य सुविधा दिलाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.