कालीगण्डकीमा लामो पुल थपियो
![कालीगण्डकीमा लामो पुल थपियो](https://annapurnapost.prixacdn.net/media/albums/Lamo-bridge-2_M3hulTWENT_CeCPA3NJmL.jpg)
बेनी : पर्वत र बागुलङ जिल्लाको सिमाना भएर बग्ने कालीगण्डकी नदी माथी अर्को लामो पुल बनेको छ। कालीगण्डकी खोँचले छुट्याएको बागलुङ र पर्वतलाई झोलुङ्गे पुलले नजिक बनाएको छ।
जलजला गाउँपालिका–८ नाग्लीवाङको ओडारे र बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधाम जोड्ने ५२४ मिटर लामो झोलुङ्गे पुल सञ्चालन भएको हो। कालीगण्डकी नदी माथि निर्माणको अन्तिम चरणमा रहेको पुल आवत जावतका लागि सञ्चालन हुन थालेको जलजला–८ का वडा अध्यक्ष हरिविकास जिसीले बताए।
यो पुल सिङगल स्पानको सस्पेन्सन ब्रिजमध्ये विश्वकै दोस्रो लामो झोलुङ्गे पुल भएको दाबी गरिएको छ। नाग्लीवाङका बासिन्दा व्यापारिक कामका लागि बागलुङमा निर्भर छन्।
करिब २ घण्टाको यात्राअवधी १० मिनेटमा छोटिएको जलजला–८ नाग्लीवाङका नारायण थापाले बताए। ‘नाग्लीवाङ देखि बाग्लुङ पुग्न हिड्न सक्नेलाई १ घण्टा र नसक्नेलाई २ घण्टा लाग्ने गरेको थियो,’ उनले भने ‘नाग्लीबाङवासीलाई बागलुङ बजारमा आवतजावत गर्न, बिरामी हुँदा छिटो अस्पताल पुग्न र कृषि उपज बजार लैजान सहज भएको छ।’
पुलले बागलुङ र पर्वतको पर्यटन विकासमा पनि सहयोग गरेको नाग्लीवाङका वासिन्दा समेत रहेका जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसीले बताए। ‘८ वर्षअघि नाग्लीवाङ र गौरीधाम जोड्ने पुलको अवधारणा अघि सार्दा धेरैले पत्याएका थिएनन,’उनले भने ‘निरन्तरका प्रयासपछि पुल निर्माण भएको छ। नाग्लीवाङ बासीको सपना साकार भएको छ।’
सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुर र हिमशिखर हिरा कन्स्ट्रक्सनबीच भ्याटबाहेक ८ करोड २३ लाख ४१ हजार ४११ रुपैयाँमा वि.सं. २०७९ असार २१ ग्ते पुल निर्माणको लागि ठेक्का सम्झौता भएको थियो।
आगामी २०८१ असार महिनासम्म ठेक्काको म्याद रहेको पुल निर्माण कार्य सम्झौता लगत्तै पर्याप्त मजदुर, उपकरण परिचालन तथा सामग्री जुटाएर लक्ष्य अगावै सम्पन्न हुने चरणमा पुर्याएको निर्माण कम्पनीका प्रतिनिधि बसन्त घर्तिले बताए।
बागलुङ नगरपालिका–१, रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१, अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल तीन वर्षअघि निर्माण भएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)