भन्सार छली ल्याइएको सामान बरामद
बुटवल : जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छलेर ल्याइएका विभिन्न सामग्रीहरु बरामद गरेको छ । सोमबार प्रहरीको विभिन्न कार्यालयबाट खटेको टोलीले भारतबाट लुकाईछिपाई ल्याएका तीन लाख ३३ हजार आठ सय ५० रुपैयाँ बरावरको सामग्री बरामद गरिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।
सिद्धार्थनगर नगरपालिका वडा नं. ४ सुगरमिलबाट ६ सय ९० किलो प्याज, रोहिणी गाउँपालिका वडा नं. ७ अमवाबाट रेडवुल, सरफ, मसला लगायत घरायसी सामग्री, बोईलर कुखुरा, कोटहिमाइ गाउँपालिका वडा नं. ४ बाट महिला पुरुषले प्रयोग गर्ने चप्पल र कपडा लगायत सामग्री बरामद गरी भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले भारतीय सिमानाकाबाट अवैध रुपमा चोरीपैठारी गरेर ल्याएका सामग्रीहरु दिनहुँ बरामद गर्ने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रंजितसिँह राठौरले जानकारी दिए ।