स्याङ्जामा गत वर्षभन्दा दोब्बर कफी उत्पादन हुने अनुमान
स्याङ्जा : दुई-तीन वर्षको तुलनामा यस वर्ष स्याङ्जामा कफी उत्पादन वृद्धि भएको छ। सुन्तला जस्तै कफी उत्पादनको लागि पनि स्याङ्जाको भूगोल उपयु्क्त मानिन्छ।
जिल्ला कफी सहकारी संघ लिमिटेड स्याङ्जाका अनुसार यस वर्ष ३० हजार किलो पार्चमेन्ट कफी उत्पादन हुने अनुमान छ। जसका निम्ति १ लाख ५० हजार किलो कफी फलेको सहकारीका अध्यक्ष फणिनारायण अर्यालले जानकारी दिए।
उनका अनुसार गत वर्ष १६ मेट्रिक टन अर्थात १६ हजार किलो कफी उत्पादन भएको थियो। कफीबाटै यस वर्ष स्याङ्जाले झण्डै २ करोड आम्दानी गर्ने लक्ष्य लिएको छ।
किसानका लागि फ्रेसचेरी (बोटबाटै टिपेर ल्याएको राता दाना) को प्रतिकिलो मूल्य १ सय १३ रुपैयाँ निर्धारण गरेको छ। सहकारी संघको बोर्ड बैठकको निर्णय अनुसार किसानले तत्काल सय रुपैयाँ हात पार्छन्। तीमध्ये १० रुपैंया सहकारीमा जम्मा हुन्छ भने ३ रुपैयाँ कफी ढुवानीमा खर्च हुन्छ।
राष्ट्रिय चिया तथा कफी बोर्डले निर्धारण गरेको मूल्यभन्दा बढी दिएर सहकारीले किसानको कफी खरिद गर्ने गर्दछ। ‘सहकारी संघमा स्याङ्जामा ४ हजार ५ सय किसान आवद्ध छन्।’
स्याङ्जामा २०५६ सालदेखि व्यवसायिक रुपमा कफी खेती सुरु गरिएको हो। करिब ३ सय हेक्टरमा कफी खेती गरिने जनाइएको छ। पाखोबारी र वनजंगल भित्र कफीको उत्पादन राम्रो हुन्छ। रोपेको ३/४ वर्षमै फल दिन्छ। कफी खेतीका लागि त्यति झन्झट र दुख पनि हुँदैन। स्याहार र संरक्षणमा भने ध्यान दिनु जरुरी छ।
झण्डै दशकदेखि यहाँका कफी जापान र नेपाल स्टेट कफी कम्पनी मार्फत निर्यात गरिन्छन्। केही वर्षअघि यहाँका कफी जर्मन र हाइल्याण्ड कम्पनीमा पनि पुगेका थिए।
स्याङ्जाको चापाकोट नगरपालिकासहित कालीगण्डकी र हरिनास गाउँपालिका बाहेक सबै ठाउँमा कफीको उत्पादन राम्रो छ। पुतलीबजार, वालिङ, भीरकोट, गल्याङ् नगरपालिका र फेदिखोला, आँधीखोला, बिरुवा र अर्जुनचौपारी गाउँपालिकामा कफी उत्पादन हुने उपयुक्त स्थल हुन्।
कामदारका अभावमा गाउँघरका जग्गा बाँझो रहन थालेपछि पुनः कफी रोप्ने काममा स्थानीयबासीले चासो देखाएका छन्। कफीको मूल्य तत्कालै नगद हातमै पाउन थालेपछि किसानको चासो बढेको हो।
स्याङ्जामा यस वर्ष कफी उत्पादन राम्रो भएको कफी व्यवस्थापक माया तिवारीले बताइन्। कफी टिप्ने, संकलन गर्ने र प्रशोधनका कमसमेत सुरु भएका छन्। केही कफी बोटमा पाक्दैछन्, केहि टिपिदैछन्। केही प्रशोधनका लागि पखाल्ने, सुकाउने, बोक्रा छोडाउने, प्याकिङ गर्ने पनि भैरहेका ब्यवस्थापक तिवारीको भनाइ छ।
सहकारीले कफी किसानलाई पायक पर्नेगरी कफी संकलन केन्द्र तोकेको छ। जुनसुकै समयमा जतिसुकै परिणाममा ल्याए पनि सहकारीले कफी खरिद गर्ने गरेको छ। बजारको सुनिश्चितता र तत्कालै नगद पाउने भएपछि यहाँका किसानले कफी रोपण गर्दै आएको कफी किसान डिल्लीराम रेग्मी भन्छन्।
सहकारीले पनि कफी किसानलाई प्रोत्साहित गर्न बिरुवा र प्रविधि खरिदमा अनुदान दिनुका साथै कफी किसानलाई आइपर्ने समस्यालाई तत्काल समाधान गर्दै आएको छ।
कफीका लागि उर्वर मानिएको स्याङ्जामा कफी रोपण कार्यलाई प्रोत्साहित गर्न सके आयआर्जन गर्ने गतिलो माध्यम बनाउन सकिन्छ। विदेशीले समेत यहाँका कफीको स्वाद रुचाएका छन्। कफी निर्यात योग्य बाली भएकाले यसले अर्थतन्त्रमा समेत सहयोग पुग्ने देखिएकाले यसतर्फ सम्बन्धित पालिकाले ध्यान दिन सके कफीका माध्यमबाट राम्रो आजआर्जन बढाउन सकिने कृषिका जानकारहरु बताउँछन्।
स्याङ्जा लगायत पाल्पा, गुल्मी, अर्घाखाँची र प्यूठान कार्यक्षेत्र रहने गरी केहीवर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण कफी सुपरजोन परियोजना पनि लागु भएको थियो।