मोबाइल खोसेर भाग्ने चार जना पक्राउ

मोबाइल खोसेर भाग्ने चार जना पक्राउ
सुन्नुहोस्

भैरहवा : गत माघ २९ गते मायादेवी गाउँपालिका-३ बरेवा बस्ने १९ वर्षीय राजु भरलाई पल्सर मोटरसाइकलमा आएका दुई युवाले अति आवश्यक परेको भन्दै मोबाइल प्रयोग गर्न दिन आग्रह गरेपछि उनले निजहरूलाई आफ्नो मोबाइल दिए। मोबाइल पाउने वित्तिकै पल्सर मोटरसाइकलमा रहेका ती युवा मोटरसाइकल कुदाएर भागे। 

जिल्ल परेका राजु तत्काल नजिकैको प्रहरीलाई मोटरसाइकलको विवरण र ती युवाको हुलियासहित आफूलाई परेको समस्याको बारेमा जानकारी गराए। प्रहरीलाई भने यो घटना पहिलो थिएन। यसअघि गत माघ ४ गते रोहिणी गाउँपालिकाका दीपेन्द्र चौधरी, माघ १६ गते ओमसतिया गाउँपालिकाका सन्दिपकुमार पासी र माघ १७ गते भैरहवाकै सावित्रा कान्दुको मोबाइल पनि मोटरसाइकलमा आएका युवाले खोसेर भागेका उजुरी प्रहरीलाई आएको थियो।

विभिन्न बहानामा मोबाइल चोरी गरेर भाग्ने युवाको खोजीमा प्रहरी पहिलेदेखि थियो। 'यसको लागि विशेष टोली गठन गरी प्रहरी अनुसन्धानमा थियो। सिसीटिभी लगायतबाट अनुसन्धान गरिरहेका थियौं,' रुपन्देही प्रहरी प्रवक्ता मनोहरप्रसाद भट्टले भने, 'बुधबार यस घटनाबारे थप खबरसँगै मोटरसाइकल विवरण पायौं।'

भट्टले मोबाइल खोसेर भाग्ने गिरोह पक्राउ गरेको बताउँदै बिहीबार उनीहरूलाई सार्वजनिक गरिएको जानकारी दिए। उनका अनुसार सिद्धार्थनगर नगरपालिका-७ का २५ वर्षीय मनिष हरिजन, वडा नं ३ का २४ वर्षीय देवान गुरुङ, वडा नं १३ का २४ वर्षीय रोमन घर्ती र चोरीको मोबाइल खरिद गर्ने सियारी गाउँपालिका-३ बस्ने ३१ वर्षीय मोहम्मद रसिद मुसलमान पक्राउ परेका छन्।

यही समूहले रुपन्देही जिल्लाका विभिन्न भागमा केही समयदेखि मोबाइल चोरी गरेको प्रहरीको आरोप छ। 'एक्लै देखेका व्यक्तिको नजिक गएर एक्कासि मोबाइल खोसेर भाग्ने गरेका थिए वा अति आवश्यक परेको बताउँदै मोबाइल लिएर फरार हुने गरेका थिए,' प्रनाउ भट्टले भने, 'प्रारम्भिक अनुसन्धानमा निजहरुले लागूऔषध खरिद गर्ने र सेवन प्रयोजनका लागि चोरी गरेको देखिएको छ।'

पक्राउ परेकाहरु यसअघि पनि लागुऔषध र चोरीलगायत मुद्दामा सजाय पाएका युवाहरू रहेको भट्टले जानकारी दिए। उनका अनुसार आरोपितबाट प्रहरीले विभिन्न कम्पनीका आठ थान मोबाइल र लु५६प ७१७ नं को मोटरसाइकलसमेत बरामद गरेको छ। 

सबैलाई जिल्ला अदालतबाट थप अनुसन्धानका लागि प्रहरीले सात दिनको म्याद थप गरेको प्रनाउ भट्टले बताए। 'गिरोहका अन्य सदस्य पनि छन् कि भन्ने विषयमा सुक्ष्म अनुसन्धान गरिरहेका छौं,' उनले भने। मुलुकी अपराधसंहिता २०७४ अनुसार कसूरको अवस्था हेरी चोरी प्रमाणित भए दुई वर्षदेखि सात वर्षसम्म कैद र २० हजारदेखि ७० हजारसम्म जरिवाना हुने व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.