७ वर्षमा पनि बनेन् अस्पताल भवन

७ वर्षमा पनि बनेन् अस्पताल भवन
सुन्नुहोस्

बेनी : सुरु गरेको ७ वर्षमा पनि म्याग्दीको बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माण कार्य पूरा भएको छैन। चार वर्षअघि सकिनुपर्ने भवनको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत छ। भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए। 

‘५० शय्या क्षमता भएपनि १५ शय्याको संरचना र पूर्वाधारबाट सेवा दिनुपर्ने बाध्यता छ,’ उनले भने, ‘अस्थायी, पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ।’ म्याग्दीका साथै पर्वत, बागलुङ र मुस्ताङका सर्वसाधारणले सेवा लिने अस्पतालले ६ वर्षयता अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्दै आएको छ।

सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङले २०७३ मंसिर २१ गते भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। 

२४ करोड चार लाख २९ हजार ८६९ रुपैयाँ लागत अनुमान गरिएको भवन २०७६ मंसिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो। चौथो पटक थपिएको म्याद पनि चैतमा सकिँदैछ। दैनिक ५/६ जनाको अनुपातमा मजदुरले काम गर्दै आएका छन्।

आयोजनाका प्रमुख सुनिता श्रेष्ठका अनुसार ४ हजार ९६३ वर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चार तले तीन वटा भवनको ढलान सकिएको छ। पलास्टर, झ्यालढोका राख्न, विद्युत, पानी जडान, रंगरोगन र टायल राख्न बाँकी छ।
‘ठेकेदारले कार्यस्थल पनि छाडेका छैनन्, कामलाई गति पनि दिएका छैनन,’ उनले भनिन्, ‘पछिल्लो पटक पेस गरेको कार्यायोजना अनुसार निर्माणलाई तीव्रता नदिए ठेक्का तोडेर कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ।’ 

हालसम्म १४ करोड भुक्तानी भइसकेको भवनको भौतिक प्रगति ७५ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षमा ६८ लाख बजेट बिनियोजन भएको छ। थप बजेट व्यवस्थापनका लागि रकमान्तर गर्न मन्त्रालयमा प्रस्ताव पठाएको आयोजना प्रमुख श्रेष्ठले बताइन्। 

१५ शय्या क्षमताको अस्पताल २०७२ मा ५० शय्यामा स्तरोन्नति भएको थियो। नयाँ भवन बनाउन अस्पतालको पुरानो भवन भत्काइएको थियो। बहिरंग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ। आकस्मिक र अन्तरंग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ। स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ। 

अस्पतालका प्रमुख चिकित्सक डा.अञ्जु थापाले भवन अभावमा विशेषज्ञ चिकित्सक आउन नमान्ने, म्याग्दीले पाउनुपर्ने हब अस्पतालको कार्यक्रम अन्यत्र जिल्लामा गएको बताइन्। सघन उपचार कक्ष (आइसीयु) र डायलाइसिस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ। भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्ग मैत्री समेत हुनेछ। भुइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा ईमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेसन थियटर, बहिरंग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ। 

भवन निर्माणमा भएको ढिलासुस्तीका विषयमा पालिका, जिल्ला, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिले सम्बद्ध आयोजना कार्यालय, सहरी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराउँदै आएका छन्।  

गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह सञ्चालक रहेको फर्म समेत आवद्ध रहेको भवन निर्माणमा लापरबाही भएको बताए। ‘कारबाहीबाट बच्नका लागि ४,५ जना मात्र कामदार राखिराख्ने गरेका देखिन्छ,’ उनले भने ‘महासंघकै अध्यक्ष संलग्न आयोजना निर्माणमा लापरबाही हुनुमा निर्माण व्यवसायीको गलत नियत र पदको दुरुपयोग हो।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.