१९ देशका गैरआवासीय राजदूतलाई प्रत्यक्ष लगानी भित्र्याउन ढकालको आग्रह
बुटवल : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने गरी सहयोग गर्न १९ देशका गैरआवासीय राजदूत र नेपालका लागि अवैतनिक वाणिज्य दूतहरूलाई आग्रह गरेका छन्।
बिहीबार बुटवलमा राजदूतहरू सहभागी कार्यक्रमलाई सम्वोधन गर्दै ढकालले वैदेशिक लगानीका लागि नेपालमा अवसरहरू बढिरहेको भन्दै राजदूतहरूको ध्यानाकर्षण गराएका हुन्। ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको क्रममा राजदूतहरू बुटवलमा आएका थिए।
शुक्रबार र शनिबार लुम्बिनीमा सम्मेलन हुँदैछ। अवैतनिक कन्सुलर कर्प्स नेपाल (एचसिसिएन) का ‘भाइस डीन’ समेत रहेका महासंघका अध्यक्ष ढकालले पर्यटन, जलविद्युत, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, कृषि, पूर्वाधार विकास जस्ता क्षेत्रमा नेपालले बाह्य लगानी प्रवर्द्धन गरिरहेकाले लगानीकर्ताहरू जुटाउन सामूहिक पहल गर्नुपर्नेमा जोड दिए।
कानुन परिमार्जन र नीतिगत सुधारका माध्यमबाट लगानीमैत्री वातावरण निर्माणमा सरकारले पहल गरिरहेकाले बाह्य लगानीकर्ताका लागि थप अवसरहरू सिर्जना भएको समेत ढकालको भनाइ छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनी पवित्र आध्यात्मिकस्थलसहित यो क्षेत्रको सांस्कृतिक र आर्थिक संवाहकको रूपमा प्रवर्द्धन गर्न समेत अध्यक्ष ढकालले ‘लुम्बिनी कन्केलभ’ सहयोगी हुने विश्वास व्यक्त गरे।
अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन, रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू कार्यक्रममा सहभागी छन्।