मकवानपुरले उचाल्यो जितपुरसिमरा क्रिकेट कपको उपाधि, पर्सा स्तब्ध
सिमराः जितपुरसिमरा टिट्वेन्टी क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ। जितपुरसिमरा-४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघमाथि ७ विकेटको फराकिलो जित निकाल्दै मकवानपुरले उपाधि उचालेको हो।
पर्साविरुद्धको उपाधि भिडन्तमा उत्कृष्ट प्रदर्शन गर्दै मकवानपुरले पहिलो संस्करणको विजेताको सूचीमा आफूलाई उभ्याउन सफल भएको हो। मकवानपुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै पर्साले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ९० रन मात्र जोडेको थियो।
पर्साका लागि सुरज पटेलले ४५ र हासिम अंसारीले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन्। पर्सालाई सस्तैमा रोक्ने क्रममा मकवानपुरका अशिम श्रेष्ठले तीन, पियुश शर्माले दुई, विशाल फुयाल र रोहित ठाकुरले समान एक–एक विकेट लिएका थिए
पर्साले दिएको ९१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको मकवानपुरले १२.१ ओभरमा जित निकालेको थियो। मकवानपुरका लागि तक्षक सिम्ख्डाले ३०, बिशाल फुयालले १५ र सक्षम बस्ताकोटीले अविजित १४ रन बनाए। पर्साकासम्साद मन्सुरीले तीन विकेट लिए।
उपाधि विजेता मकवानपुरले एक लाख र उपविजेता पर्साले ५० हजार प्राप्त गरेको छ। मकवानपुरका शुभ कंसाकार प्लेयर अफ दि टुर्नामेन्ट र बेस्टर ब्याटर घोषित भएका छन् भने खुकुरी क्रिकेट क्लब भैरहवाका सन्तोष यादव बेस्ट बलर घोषित भए। फाइनल खेलको प्लेयर अफ दि म्याचको पुरस्कार मकवानपुरका विशाल फुयालले प्राप्त गरेका छन्।
विजेता तथा उपविजेता खेलाडीलाई पूर्व युवा तथा खेलकुद मन्त्री एवम् संविधान सभाका सदस्य पुरुषोत्तम पौडेल, संविधान सभाका सदस्य जयराम दहाल, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, नेकपा एमाले मधेस प्रदेश सचिव मनोज पौडेललगायतले पुरस्कार वितरण गरेका थिए।
समापन समारोहमा आयोजकले सिमरा महिला क्रिकेट क्लबका पूर्व प्रशिक्षक विष्णु लामिछानेसहित महिला क्रिकेटर, सिमरा क्रिकेट क्लबका पूर्व कप्तान नाजिर हुसेनलाई सम्मानित गरिएको थियो। अभियान नेपालको आयोजना र जितपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा ६ टिमले सहभागिता जनाएका थिए।
प्रतिक्रिया दिनुहोस !