मुस्ताङको घरपझोङमा ११ जना जुवाडे पक्राउ
जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिकामा जुवातास खेल्दै गरेका ११ जना जुवाडे पक्राउ परेका छन्। मंगलबार दिउँसो ३ बजेर ५० मिनेट जाँदा घरपझोङ-३ पुथाङ एअरपोर्ट बजार तल बजाज शोरुमसँगै जोडिएको होटल आशिष मःम रेष्टुरेन्टमा जुवा खेल्दै गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
त्यहाँ जुवा खेलिरहेको अवस्थामा ४ बुक तास र नगद २० हजार ७२५ रुपैयाँसहित ११ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकको कमाण्डमा त्यहाँ पुगेको प्रहरी टोलीले जुवा खेल्दै गरेको अवस्थामा जुवातास खेल्नेहरूलाई रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेले जानकारी दिए।
पक्राउ पर्ने घरपझोङ-३ का ४८ वर्षीय मिनबहादुर थकाली,घरपझोङ-३ का ५० वर्षीय महेश थकाली, घरपझोङ-३ का ४५ वर्षीय सुरेन्द्र थकाली, घरपझोङ-३ का ४६ वर्षीय पुस्त थकाली, घरपझोङ-३ का ५१ वर्षीय महेन्द्र थकाली,घरपझोङ-३ का ६५ वर्षीय फलेन्द्र प्रसाद थकाली छन्। यसैगरी सोही जुवाखालबाट पक्राउ पर्नेमा घरपझोङ-३ का ४० वर्षीय सुमन थकाली,घरपझोङ-३ बस्ने २४ वर्षीय बुद्धि नेपाली,घरपझोङ-३ बस्ने ३३ वर्षीय टासी गुरुङ, ३७ वर्षीय विक्मान थकाली र रामेछाप उमाकुण्ड घर भई मुस्ताङ बस्ने ४५ वर्षीय आङपासाङ शेर्पा छन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले जुवा खालबाट रंगेहात पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !