किन बाक्लियो प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच भेटघाट ?
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संवैधानिक परिषद्को बैठक बोलाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बालुवाटारमा दौडधुप बढेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग मंगलबार राति छलफल गरेका प्रमुख प्रतिपक्ष दलका नेता देउवा आज बिहान बालुवाटारमा गएर पुन: छलफल गरेका हुन्।
बालुवाटार स्रोतका अनुसार बिहीबार बिहान प्रचण्ड र देउवाबीच संवैधानिक परिषद्बाट हुने नियुक्ति, संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित र संसदमा जारी गतिरोध अन्त्य र समसामयिक विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री प्रचण्डले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदका सदस्यमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख रहने व्यवस्था छ।
संसदीय समितिबाट संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा (टिआरसी) विधेयक पास गर्ने उद्देश्यले बोलाइएको बैठक तत्कालीन कानुन मन्त्री धनराज गुरुङले एक पटक पुन: प्रधानमन्त्रीसँग छलफल गर्ने भन्दै रोकेपछि प्रचण्ड असन्तुष्ट बनेका थिए। लगत्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालबीच ८ बुँदे सहमति गर्दै प्रचण्डले गत फागुन २१ गते नयाँ सत्ता समीकरण बनाएका थिए।
यद्यपी नयाँ समीकरण बन्नु अगाडिदेखिनै सरकारले यस अगाडिदेखि नै एमाले, कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग छलफल गरेर सर्वसम्मतरुपमा विधेयक पारित गर्ने तयारी थालेको थियो।
यता नयाँ सत्ता समीकरण बनेसँगै जुनसुकै समयका भ्रष्टाचारका फाइल खोल्ने उद्घोष गरेपछि सरकारसँग कांग्रेस सशंकित बनेको छ। कांग्रेसले सहकारी ठगीमा संलग्न भएको आरोप लगाउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेर संसद अवरुद्ध गरिरहेको छ।
बुधबार राज्यव्यवस्था समितिमा पनि सांसद दिलेन्द्र बडुले ठगीको विषय छानबिन नटुंगिएसम्म जिम्मेवारीबाट पन्छनुपर्ने तर्क गरेका थिए। जवाफमा उपप्रधान एवं गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेका थिए। उनले भने,‘सहकारीमा जहाँ मेरो नाम भनिएको छ। त्यहाँ नामबाहेक केही छैन। हस्ताक्षर छैन। न ल्याप्चे छ। न मैले निवेदन दिएको छु। मेरो सामान्य केवाईसी भरिएको छ। त्यहाँ केही पनि भरिएको छैन। न अनुसन्धान भएको थाहा छ। त्यो मुद्दा अदालतमा दर्ता भएको छ। मुद्दामा म प्रतिवादी छैन। बयानमा मेरो नाम रवि लामिछाने भनेर उल्लेख पनि छैन।’