अर्थतन्त्रको प्रभाव बिमा बजारमा
![अर्थतन्त्रको प्रभाव बिमा बजारमा](https://annapurnapost.prixacdn.net/media/albums/Bima-insurence_20181207025812_Rbp9nR9may_xFLn9f9W8U.jpg)
काठमाडौं : पछिल्लो समय समग्र अर्थतन्त्रमा परेको प्रभाव बिमा बजारमा पनि देखिन थालेको छ। गत वर्षको तुलनामा यसपटक बिमा गर्नेको संख्यामा कमी आएको छ। नेपाल बिमा प्राधिकरणको चालु आर्थिक वर्ष (आव) को फागुनसम्मको तथ्यांकले गत आवको सोही अवधिको तुलनामा बिमालेख संख्या १.३९ प्रतिशतले घटेको देखाएको छ।
आर्थिक वर्ष (आव) २०७८/७९ को फागुनसम्ममा १ करोड ४० लाख १ हजार ५ सय ७७ बिमालेख जारी भएको थियो । तर, यसयता एक वर्षको अन्तरमा १ लाख ९४ हजार ३ सय २८ संख्यामा घटेको छ। यसरी घट्दा हाल फागुन मसान्तसम्ममा १ करोड ३८ लाख ७ हजार २ सय ४९ बिमालेख मात्रै जारी भएको छ।
नेपाल जीवन बिमक संघका अध्यक्ष पोषकराज पौडेल समग्र अर्थतन्त्रका गतिविधि सुस्त भएकाले पनि बिमाको दायरा बढ्नमा चुनौती भएको बताउँछन्। यद्यपि कतिपयले गरेका बिमालेख अवधि सकिएको अर्थात् परिपक्व भएकाले बाहिएकाले पनि समग्रमा केही बिमालेख घट्न गएको उनले जनाए। सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका पौडल जीवन बिमा यस्ता क्राइसिसलाई टेको लगाउन झन् महत्व हुने तर्क गर्छन्। उनी भन्छन्, ‘मान्छेलाई गाह्रो पर्दा, जोखिम बढ्दा बिमाले नै बेहोर्न मद्दत गर्छ। संसार भर नै यही अभ्यास छ। हाम्रोमा मानिसको आम्दानी पनि कम र समग्र अर्थतन्त्रमा परेका प्रभावले गर्दा बिमा दायरामा असर गरेको छ। तर, बिमाको महत्व झन् यो बेलामा बढी हुन्छ।’
यद्यपि अध्यक्ष पौडेलकाअनुसार बिमामा आकर्षण घटेको छैन। धेरैले बिमा गर्न फारम भरेर बसेका छन् तर पैसा भुक्तानी गर्न समय कुरेर बस्नुपर्ने बाध्यता सृजना भएको पौडेल बताउँछन्। ‘अहिले बिमा गर्न चाहने धेरै छन्। तर, कहिले तुरुन्त प्रिमियम भुक्तानी गर्न सकेका छैनन्। बिमा गर्न इच्छुक अधिकांशको पैसा सहकारीमा फसेर नउठेको, जग्गामा फ्रिज भएका कारणले बिमाशुल्क प्रिमियम भुक्तानी सुस्त भएको छ,’ अध्यक्ष पौडेलले थपे। यद्यपी बिमाप्रति आकर्षण भने दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ छ। ‘बिमा गर्दा आर्थिक सुरक्षा र जोखिम हस्तान्तरण त हुन्छ। यसका साथै पैसा खाँचो पर्दा बिमालेखलाई धितो राखेर ऋणसमेत लिने सुविधा भएकाले यसमा आकर्षण बढ्दो छ,’ उनले अन्नपूर्णसँग भने।
तुलनात्मक रूपमा बिमालेख संख्यामा कमी देखिए पनि समग्रमा सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीमार्फत बिमाशुल्क आर्जन भने बढेको छ। एकै वर्षको अन्तरमा ५.१९ प्रतिशतले कुल बिमाशुल्क संकलन वृद्धि भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। जसअनुसार आर्थिक वर्ष २०७९/८० फागुनसम्ममा जीवन बिमा कम्पनीहरूले बिमावापत ९८ अर्ब ५९ करोड ६ लाख ६१ हजार रुपैयाँ बराबरको बिमाशुल्क आर्जन गर्न सफल भएका छन्। बिमा कम्पनीहरूको यो व्यवसाय अघिल्लो आर्थिक वर्षको भन्दा ५.१९ प्रतिशतले बढी हो।
यो अघिल्लो आव २०७८/७९ को फागुनसम्ममा जीवन बिमा कम्पनीहरूले ९३ अर्ब ७२ करोड ५२ लाख ५२ हजार रुपैयाँ बिमाशुल्क संकलन गरेका थिए। बिमा कम्पनीहरूले उक्त अवधिमा नयाँ बिमा गरेरभन्दा पनि यसअघि बिमा गरेका बिमितले नवीकरण गरेबापत धेरै बिमा शुल्क आर्जन गर्न सफल भएका हुन्। यसकारण कुल बिमा शुल्कमा नवीकरणको अंश बढी छ।
यसर्थ, बिमा समितिको तथ्यांकअनुसार उक्त आवधिभरि कम्पनीहरूले कुल बिमा शुल्कअन्तर्गत १८ अर्ब ७२ करोड ५१ लाख रुपैयाँ प्रथम बिमा शुल्क संकलन गरेका छन्। यो गत आवको भन्दा १.०८ प्रतिशत बढी हो। यस्तै, कम्पनीहरूले नवीकरणमार्फत ७९ अर्ब ८६ करोड ५५ लाख ५२ हजार रुपैया बिमाशुल्क आर्जन गरेका छन्।
बढी शुल्क आर्जन गर्नेमा नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन र नेसनल लाइफ
समग्र बिमा कम्पनीमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले बिमावापत शुल्क आर्जन गरेको छ। चालु आवको ८ महिनामा २६ अर्ब ३० करोड रुपैयाँबराबर आर्जन गरेको छ।
यस्तै, सबैभन्दा बढी बिमाशुल्क आर्जन गर्ने दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एनएलआईसी) रहेको छ। यसले ११ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेको छ। यसपछि तेस्रो स्थानमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। यसले ११ अर्ब ५६ करोड १८ लाख ९५ हजार रुपैयाँबराबरको व्यवसाय गरेको छ।
यसपछि बिमा शुल्क आर्जन गर्नेमा क्रमशः हिमालयन लाइफले ११ अर्ब १८ करोड, सूर्यज्योेति लाइफले ५ अर्ब ७० करोड, राष्ट्रिय बिमा संस्थानले ५ अर्ब २३ करोड, एसियन लाइफले ५ अर्ब १५ करोड बिमाशुल्क आर्जन गरेका छन्।
४ अर्ब हाराहारीमा बिमाशुल्क कमाउने कम्पनीमा क्रमशः सानीमा लाइफ, सिटिजन लाइफ र मेट लाइफ छन्। यसपछि ३ अर्बभन्दा कम बिमा वापत रकम संकलन गर्नेमा क्रमशः आईएमई लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायबल नेपाल र सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)