उत्तरपुस्तिका हराउनेमाथि कारबाही गर्न अनेरास्ववियु र नेविसंघको माग
‘डियर सुमना, उत्तर पुस्तिका हराउने कस्तो नमुना?’
काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ)ले उत्तरपुस्तिका हराउनेमाथि कारबाही गर्न माग गरेको छ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट बिएका विद्यार्थीका उत्तरपुस्तिका हराएपछि अनेरास्ववियु र नेविसंघले कर्मचारीलाई कारबाही गर्नुपर्ने माग गरेका हुन्।
पनिकाको लापरबाहीका कारण स्नातक तह प्रथम वर्षको जनसंख्या विषय र स्नातक तह प्रथम वर्षको ‘फाउण्डेसन अफ एजुकेसन ४१२’उत्तर पुस्तिका हराएको छ। उत्तरपुस्तिका हराएपछि पनिकाले पुन : चैत २१ गतेदेखि परीक्षा गर्ने तयारी थालेको छ।
अनेरास्वियुका अध्यक्ष समिक बडालले त्रिभुवन विश्वविद्यालयले दिन प्रति दिन आफैँले आफ्नै स्तर खस्काउँदै गरेको आरोप लगाएका छन्। ‘कहिले साईट ह्याक गरेको थाह हुँदैन। कहिले उत्तर पुस्तिका हराएको थाहा हुँदैन।’उनले प्रश्न गरे, ‘यस्तो कमजोरी हुँदा समेत एउटा प्राज्ञिक नेतृत्वले नैतिक जिम्मेवारी लिन नपर्ने, हामीले विश्वविधालयबाट कस्तो चेतना फैलाउने हो ? गल्ती जस्ले गर्दा पनि सजाय विधार्थीले भोग्नुपर्ने?’
त्रिवि जिल्ला अध्यक्ष समिरराज विष्टले पनि विज्ञप्ति जारी गर्दै तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।‘परीक्षा नियन्त्रण कार्यालयबाट पटकपटक भइरहेको चरम लापरबाही, परीक्षा समितिको अध्यक्ष (रजिष्ट्रार) तथा परीक्षा नियन्त्रक एवम् कार्यरत कर्मचारीहरूको गैरजिम्मेवारीपना, उदासीनता र ढिलासुस्ती गर्ने प्रवृतिप्रति तत्काल छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ’ विज्ञप्तिमा भनिएको छ ।
यसैगरी बिहीबार नेविसंघले पनि पर्चासहित विरोध गरेको छ। विद्यार्थीले बिहीबार बिहान उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले शिक्षामन्त्री सुमना श्रेष्ठ मन्त्री बनेपछि पनि प्रश्न पत्रहरू हराउने पुरानो प्रवृतिले निरन्तरता पाएको बताएका छन्।
प्लेकार्डमा भनिएको छ, ‘डियर सुमना, उत्तर पुस्तिका हराउने कस्तो नमुना?’,‘मन्त्री फेरिए, भिसी फेरिए तर उत्तर पुस्तिका हराउने चलन फेरिएन’लगायतका पम्प्लेट बोकेर नाराबाजीसमेत गरेका थिए।
छानबिनबाट कारवाहीको लागि सिफारिस समेत भइसकेकाले कारबाहीको प्रक्रिया छिटोभन्दा छिटो गर्न नेपाल विद्यार्थी संघ, केन्द्रीय तदर्थ समितिले माग गरेको छ।