भैंसी ब्याए सुत्केरी भत्ता
गुल्मी : गुल्मीको मालिका गाउँपालिकाले पहिलो बेत ब्याउने भैंसीलाई सुत्केरी भत्ता वितरण गर्ने भएको छ। गाउँपालिकाको पशुशाखाअन्तर्गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृति कार्यक्रमअनुसार पहिलो बेत ब्याउने भैंसीलाई सुत्केरी भत्ता उपलब्ध गराउन लागेको गाउँपालिकाले जनाएको छ।
सुत्केरी भत्ता प्राप्त गर्न चाहने पशुपालक किसानलाई केन्द्रित गर्दै गाउँपालिका–८ कार्यालयले मंगलबार सातदिने एक सूचना जारी गरेको छ। यस आर्थिक वर्षको साउन १ गतेदेखि ब्याएका भैंसीका किसानलाई निवेदन माग गरिएको छ।
साउन १ गतेयता ब्याएका भैंसीपालक किसानले निवेदन दिन सक्ने सूचनामा उल्लेख छ। सुत्केरी भत्ता लिन चाहने किसानले निवेदन, वडा कार्यालयको सिफारिस, भैंसी धनीको चेकको फोटोकपी, नागरिकताको प्रतिलिपि, सुत्केरी भैंसीसँगै खिचिएको फोटोलगायतका कागजात माग गरिएको छ।
कार्यालयका अनुसार किसानको घरमै जन्मेको भैंसीको पाडी पहिलो बेत घरमै ब्याएको हुनुपर्नेछ। कम्तीमा तीन जना छिमेकी साक्षी बसेर मुचुल्का गर्नुपर्नेसमेत कार्यालयले जनाएको छ। वडाध्यक्ष सूर्यबहादुर घर्ती क्षेत्रीद्वारा हस्ताक्षरित सूचनामा सुत्केरी भैंसीलाई के कति भत्ता दिने भन्नेबारे भने केही खुलाइएको छैन।