बेनी-जोमसोम सडकमा पहिरै पहिरा
![बेनी-जोमसोम सडकमा पहिरै पहिरा](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_IoDvzrf4td_Vq1oHN4LHp.jpg)
बेनी : राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक निर्माण र यातायात सञ्चालनका लागि पहिरो, कालीगण्डकी र सहायक खोलाहरूमा आउने बाढी र कटान चुनौती बनेको छ।
म्याग्दीको बेनीदेखि मुस्ताङको लेते सम्मको खण्डमा रहेका पहिरो, कटान र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ। यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको ब्यभार बढेको बेनी-जोमसोम-कोरला सडक योजनाका प्रमुख धुरबकुमार झाले बताए।
‘बाढी, कटान र पहिरो नियन्त्रणको काम तत्काल गर्न नसके नियमित यातायात सञ्चालन गर्न समस्या हुनुका साथै निर्माण भएका संरचनामा क्षति पुग्ने देखिएको छ,’ उनले भने ‘सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यही अनुरूप डीपीआर निर्माण नगरिएकाले नियन्त्रणका लागि विस्तृत अध्ययन गरेर योजना सञ्चालन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना र बजेट माग गरेका छौ।’
१४ ठाउँमा पहिरो
बेनी-जोमसोम-कोरला सडक योजना अन्तर्गत १४ ठाउँमा ठूला पहिरो छन्। म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगखोला, वडा नम्बर -२ माझखर्क, कुनौटो, रिठाबोट, वडा नम्बर -३ मा पर्ने बैसरी, चमेरे र गलेश्वर पारी राहुघाटमा पहिरोले सडक निर्माण र यातायात सञ्चालन प्रभावित बनाएको छ।
अन्नपूर्ण गाउँपालिका-२ मा पर्ने नागढुङ्गा, भुरुङभीर, वडा नम्बर-६ मा पर्ने टिम्मुरेभिर क्षेत्रको साँघुरो भूगोल, छेउकै कालिगण्डकी नदी र बारम्बार माथिबाट खस्ने पहिरोले सडक जोखिम बनाएको छ। अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ३ दानाको गुइठेभिर, खाम भित्ता, लाटाखोलामा बर्सेनि निरन्तर माथिबाट पहिरो झर्ने तथा कालीगण्डकीले कटान गरिरहेको छ। खामभित्तामा तलबाट कालीगण्डकीले कटान गरेको र माथिल्लो खण्डमा संरक्षण विना डोजर चलाएर सडक खनिएकाले पहिरो गएको देखाएको छ।
काभ्रे, घोप्टेभिर र बादरजुङ भिरमा रक फलको समस्या छ। मुस्ताङको घासा नजिकै खहरेखोला क्षेत्रमा पहिरो र कालीगण्डकी नदीको कटानको दोहोरो समस्या छ। लेतेखोला क्षेत्रमा पनि पहिरोको समस्या छ। दानाको रुप्से र घाँसाको खहरेखोलामा २०७७ साउनमा आएको बाढीले निर्माणाधीन पुलको संरचना बगाएको थियो। धार परिवर्तन गरिरहने कालीगण्डकीले मार्फा, स्याङ, जोमसोममा सडकलाई कटानको जोखिम छ। गत असारमा कागखोलामा आएको बाढीले कागबेनीमा निर्माण भएको मोटरेबल पुल बगाएको थियो।
मुस्ताङका खोलाहरूमा आउने बाढीले थुपारेको गेग्रानको सतह बढेर पुललाई छुन थालेको छ। पाण्डाखोलाको बाढीले पुलको सतहसम्मै गेग्रान थुपारेको छ भने धार परिवर्तन गरिरहने समस्या छ। मार्फाखोलाको बाढीले मोटरेबल पुल निर्माण र यातायात सञ्चालन प्रभावित बनाएको छ।
कालीगण्डकी नदीको किनार र कडा चट्टान भएको अन्नपूर्ण गाउँपालिकाको भिरकाटे क्षेत्रमा सडकको विकल्पमा ३८४ मिटर लामो सुरुङ बनाउन डीपीआर तयार पारी बजेट व्यवस्थापनका लागि प्रस्ताव गरिएको छ। रक फल हुने काभ्रेभिरको सडकलाई फराकिलो र ग्रेड सुधार गरेर सुरक्षित बनाउन ‘रक एंकरिङ/रक नेलिङ’ गर्न थालिएको बेनी जोमसोम कोरला सडक योजनाका सूचना अधिकारी बिष्णु चापागाईले बताए। ‘बादरजुङ भिरमा कालीगण्डकीको कटान नियन्त्रणका लागि खोला डाईभर्सन गरेर सडक संरक्षण गर्न थालिएको छ,’ उनले भने ‘बाढीले बगाएको निर्माणाधीन रुप्सेखोला र खहरेखोलाको पुलको ठेक्का तोडिएको छ।’ भुरुङ्गखोला र रुप्सेखोलामा बेलिब्रिज जडान र रुप्सेमा भित्ता काटेर पहिरो पन्छाउने तथा सडक फराकिलो बनाउने काम अन्तिम चरणमा रहेको उनले बताए।
बेनी-जोमसोम-कोरला सडकमा बाढी, पहिरो र कटानको समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना सञ्चालन गर्न स्थानीय सरोकारवालाले माग गरेका छन्। तत्कालीन रुपमा कटानको जोखिममा रहेको ठाउँमा कालीगण्डकीलाई डाइभर्सन र माथिबाट खस्ने पहिरो रोकथामका लागि भूमिगत पानी व्यवस्थापन गर्न बजेट व्यवस्थापन गर्नुपर्ने म्याग्दी प्रदेशसभा १(१) बाट निर्वाचित प्रदेश सांसद हरिबहादुर भण्डारीले बताए। पहिरो र कटानको जोखिम भएको ठाउँमा विस्तृत अध्ययन गरि थप आयोजना सञ्चालन गर्नुपर्ने देखिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)