कर्णालीमा औद्योगिक विकासमा ध्यान दिन जरुरी छ
कर्णाली प्रदेश भाषा, सभ्यता र संस्कृतिमा नेपालकै धनी प्रदेश हो। यो प्रदेश खस साम्राज्यको विरासत नै हो। खस भाषा र संस्कृतिको जन्मभूमि पनि हो। प्रचुर सम्भावनाका बाबजुद पनि कर्णाली अहिले मुलुककै गरिब र विकट प्रदेशका रूपमा चिनिन्छ।
यहाँका मन्दिर, मस्टो देवता, ज्वाला, पञ्चकोशी धाम, माजिलका, ऐतिहासिक गुम्बा, कीर्तिखम्ब, पञ्चदेवल, सिंजा र दुल्लुजस्ता गृष्मकालीन र शीतकालीन ऐतिहासिक डोबहरूले यहाँको सभ्यता र इतिहासको महत्वलाई दर्साएको छ। यहाँका हिमाल, पहाड, लेकाली घाँसे मैदान, वनजंगल, कृषि भूमि, नदी, तालतलैयाले बिशिष्ट संभावना बोकेको छ।
स्थानीय र प्रदेश सरकारले सातवटा जः जमिन, जडिबुटी, जंगल, जल, जैविक विविधता, जनशक्ति, जीव जन्तुको उपभोग गर्नु जरुरी छ। तर, अहिले कर्णाली बेरोजगारहरूको प्रदेश अर्थात् कालापहाड जानेहरूको प्रदेशका रूपमा चिनिन्छ। प्रदेश सरकारले बनाएको औद्योगिक नीतिले सबै उद्योगलाई समेट्न सकेको छैन।
प्राकृतिक स्रोत साधनको प्रचुर सम्भावना रहे पनि ती स्रोतहरूको प्रभावकारी उपयोग हुन नसक्दा यो क्षेत्रको विकास अपेक्षाकृत रूपमा हुन सकेको छैन। कर्णालीमा भएका संभावनालाई आयआर्जनसँग जोड्न औद्योगिक विकास गर्नु जरुरी छ। तर, राज्यका सबै निकायले यसमा ध्यान दिन सकेका छैनन्।
हामीले सुरु गरेको कर्णाली जडिबुटी प्रशोधन उद्योगले विगत १३ वर्षदेखि जडिबुटी चिया, मसला, बेसार, सिस्नुको पाउडरलगायतका विभिन्न उत्पादन गरी स्वदेश तथा विदेशमा समेत निर्यात गरिरहेको छ। तर, हामीलाई राज्यको ठोष सहयोग भने केही छैन।
धेरै सम्भावना हुँदाहुँदै पनि कर्णाली प्रदेशमा ठूला र मझ्यौला उद्योगधन्दा खुल्न सकेका छैनन्। त्यसतर्फ राज्य गम्भीर हुनु जरुरी छ।
(गिरी, कर्णाली जडिबुटी प्रशोधन उद्योग कालीकोटका अध्यक्ष हुन्।)