चामल चोरीको आरोप लगाएको भनेर हत्या, अभियुक्त १२ वर्षपछि पक्राउ

चामल चोरीको आरोप लगाएको भनेर हत्या, अभियुक्त १२ वर्षपछि पक्राउ
हत्याको १२ वर्षपछि पक्राउ परेका शौरभ तामाङ

विराटनगर  : चामल चोरीको आरोप लगाएको भनेर एक जना व्यक्तिको हत्या गरी फरार बनेका अभियुक्तलाई १२ वर्षपछि भोजपुर प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–४ (साविकको चरम्बी गाविस–३) का ३० वर्षीय शौरभ तामाङ रहेका छन्। तामाङलाई झापाको काँकडभिट्टाबाट बुधबार पक्राउ गरेर जिल्ला ल्याइएको भोजपुर प्रहरी प्रमुख डीएसपी सुदीपराज पाठकले जानकारी दिए। कर्तव्य ज्यान मुद्दामा भोजपुर अदालतले दोषी ठहर गर्दै तामाङलाई जन्मकैदको फैसला गरेको छ। 

प्रहरीले पक्राउ गरेर बुझाएपछि कैद सजाय भुक्तानका लागि उनलाई अदालतले बिहीबार कारागार चलान गरेको छ। भोजपुरको चरम्बी–३ का सीताराम राईको २०६८ माघ ७ गते हत्या भएको थियो। राईले आफ्नो घरबाट तामाङ समेतका ३ जना व्यक्तिले चामल चोरी गरेको भनेर आरोप लगाएपछि दुई पक्षबीच विवाद भएको थियो। 

प्रहरीका अनुसार दुई पक्षबीचको विवाद मिलाउन गाउँमा बोलाइएको छलफलमा सहभागी नभएको र आफूहरूलाई चामल चोरको आरोप लगाएको भनेर तामाङसहितले राईको हत्या गरेको पुष्टि भएको छ। 

आफूहरूलाई चोरको आरोप लगाएको भनी रिसईबी साँधेर बसेका ३ जनाले घरमै पुगेर राईको हत्या गरेको प्रहरीले जनाएको छ। आँगनमा बाँसको चोया काडेर बसिरहेका राईलाई खुकुरी, लाट्ठी र ढुंगाले आक्रमण गरिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
 
वारदातपश्चात घटनामा संलग्नहरू फरार बनेका थिए। फरार रहेकाको अनुसन्धान एवं खोजतलासका क्रममा घटनामा संलग्नमध्ये तामाङलाई पक्राउ गर्न प्रहरी सफल भएको डीएसपी पाठकले बताए। उनका अनुसार घटनामा संलग्न ३ जनालाई नै भोजपुर अदालतले दोषी ठहर गरिसकेको छ। प्रहरीले अभियुक्तविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाएको थियो। २०७७ साल फागुन २३ गते मुद्दाको फैसला गर्दै अदालतले अभियुक्तहरूलाई जन्मकैदको सजाय सुनाएको थियो। 

तर, घटनामा संलग्नहरू सजाय भुक्तान नागरिकन लामो समयदेखि फरार बनिरहेका थिए। फरार रहेकामध्ये अन्य २ जनाको खोजी जारी राखिएको जानकारी डीएसपी पाठकले दिए। उनका अनुसार हाल पक्राउ परेका तामाङ घटनापछि केही समय तराईका विभिन्न स्थानमा लुकिछिपी बसेको र त्यसपछि भारततर्फ भागेको पत्ता लागेको छ। ‘भारतमा ५/६ वर्ष बसेर पुनः नेपाल फर्किएको खुल्यो,’ पाठकले भने, ‘नेपाल आएर झापाको काँकडभिट्टामा लुकिपिछी बसिरहेको सूचनाका आधारमा भोजपुरबाट परिचालित प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.