कर्णालीको मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेल नियुक्त
दैलेख : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेको नेता यामलाल कँडेल नियुक्त भएका छन्। कर्णाली प्रदेश प्रमुख तिलक परियारले मंगलबार कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
त्यसअघि कँडेलले सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एस गरी कूल २३ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख परियारसमक्षक मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए।
गत बुधबार मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले ७ दिनको समय दिएर नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए। ४० सदस्यीय प्रदेशसभामा प्रदेशमा सरकार गठनका लागि २१ जना सांसद्को आवश्यकता पर्छ। वर्तमान गठबन्धनको पक्षमा सभामुखसहित २४ जना सांसद छन्।