नेपाली हामी रहुँला कहाँ नेपालै नरहे...!
काठमाडौं : प्रकृतिले संसारका सबै राम्रा चिज बनाएर सबैभन्दा पहिले नेपाल बनायो। अनि पछि अरू देश बनायो। संसारका कति देशलाई बालुवा मात्रै दियो, कति देशलाई पानी मात्रै। मेरो देश सगरमाथाको देश हो, नेपालको माटोले संसारको सबैभन्दा उचाइ चुमेको छ। पृथ्वीनारायणले एकीकरण गरेको यही देश हो जहाँ अरनिकोले कलाको कुची चलाए, बुद्धले शान्तिको ध्वनि फिजाए, सीताले नारीको शिर उठाइन्, व्यासले बुद्धिको विरासत बनाए।
मेरो देश कहिले हिमालमा हिउँ बनेर जम्छ, कहिले पहाडमा डाँफे बनेर नाच्छ, कहिले तराईमा धान बनेर फल्छ, कैयौं उकालो उक्लिएर कैयौं ओरालो ओर्लिएर फेवातालमा डुंगा बनेर तैरिन्छ, चितवनमा गैंडा बनेर देखिन्छ, देउरालीमा थकित यात्री बनेर सुसाउँछ अनि ६ हजारभन्दा बढी नदीनाला बनेर सागरमा मिसिन्छ। घोडेजात्राको अवसरमा सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सिस्नुपानी नेपालको आयोजनामा भएको ‘राष्ट्र’ विषयक कार्यक्रममा राष्ट्रपति, पूर्वराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरू, देशका गन्यमान्य सबैजसो सहभागीलाई राष्ट्रको महिमा सुनाइयो– बादलसँग बुई चढेर फेरि आफ्नै भूमि सम्झी फर्किन्छ, कहिले कुहिरोको बर्को ओढेर लुकामारी खेल्छ। लेकदेखि बेँसी पुग्दा संसारका धेरै वनस्पतिको दर्शन गर्न पाइन्छ।
बहुल जात र बहुल भाषाले देशको विविधतालाई उनेको छ। संसारका कैयौं देशहरू वर्षमा एउटा चाड मान्न पर्खिबस्छन्, नेपालमा हरेक दिन एउटा न एउटा चाड मनाइन्छ। विश्वमा एकपटक ह्याप्पी न्यू इयर भनेर मनाइरहँदा नेपाल थुप्रै नयाँ वर्षमा शुभकामना दिइरहेको हुन्छ– कतै न्हुदया भिन्तुना त कतै ल्होसार...। हरेक दिन नयाँ दिनमात्र होइन, नयाँ गति लिएर बाँच्छ मेरो देश। मादलको ताल र सारंगीको धुनमा रम्छ नेपाल। हजुरआमाको संगिनीमा, हजुरबुवाको सिलोकमा, देउडाको राईझुमामा सबैसबैमा बाँच्छ नेपाल।सांस्कृतिक रुपमा नेपाल विश्वमै धनी छ...।
हो, भौतिक विकासमा हामी अलि पछि छौं। आजै सुरु गरे त्यो नि पाइन्छ। हामीले पाउन नसकेको भनेको सक्षम र चामत्कारिक नेतृत्व मात्रै हो। राष्ट्रबारेको गौरव र अलिकति कमजोरी बताइरहँदा देश बनाउँछु भनेर सरकारको नेतृत्व गरिरहने नेताहरू गम्भीर बनेका देखिन्थे।
स्क्रिनमा नेताको मलिन अनुहार देखेर त्यो दृष्य नियालिरहेका एक वृद्धले भने, ‘नेतालाई जति सुनाए, बुझाए पनि पढ्यो पढ्यो पाठ, सोह्र दुना आठ ता होला नि ! के यिनले सिस्नुपानीले पढाएको पाठअनुसार काम गर्लान् र ? म त पत्याउँदिनँ।’ टंक आचार्यको परिकल्पनामा तयार पारिएको उक्त कार्यक्रममा व्यंग्यकवि टुप्लुक्क देखा परे र वाचन थाले–
मेरो देशमा भ्रष्टाचारी भ्रष्टाचार गरिसकेर
भ्रष्टाचारको विरोध गर्न जान्छ
विरोध गरिसकेर फेरि भ्रष्टाचार गर्न जान्छ।
जब उनी ‘मेरो देशमा’ शीर्षकको कविता बाचन गर्दै थिए, तब राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वराष्ट्रपति रामवरण यादव गम्भीर बने तर प्रधानमन्त्री पुष्पकमल दाहाल भने मुसुमुसु हाँसिरहेका थिए सायद घतलाग्दो र यथार्थ कविता सुनेर। ‘शब्दमा दम छ’, कार्यक्रममा सहभागी एक युवती भन्दै थिइन्, ‘शब्दहरूले जति सिस्नुपानी लगाए पनि नेतालाई दुख्ने हैन। एक कानले सुन्छन्, अर्को कानले उडाइहाल्छन्।’ पराजुलीले लामै कविता सुनाए–
मेरो देशमा जब ऊ सत्तापक्षमा हुन्छ
उसले गोबरलाई पुष्टकारी देख्छ,
जब ऊ प्रतिपक्षमा हुन्छ
उसले पुष्टकारीलाई गोबर देख्छ...।
‘मनैभरि तराई, पहाड, हिमाल हाँस्दछ, जहाँ बसे नि मुटुमा नेपाल बाँच्दछ।’ धीरेन्द्र प्रेमर्षिका यी वाक्यलाई मूलभाव बनाएर तयार पारिएको कार्यक्रमको सुरुआतमा सातवटै प्रदेशका संस्कृति समेटेर दृश्यसहित गीत प्रस्तुत गरिएको थियो। लोपोन्मुख बाजा र भाकासहितको उक्त गीत अन्तरा समूहले अशोक राईको संयोजनमा प्रस्तुत गर्दा हजारभन्दा बढी सहभागी सहरवासी ‘नोस्टाल्जिक’ बनेका थिए। ‘राष्ट्रनिर्माणमा अतुलनीय योगदान कति व्यक्ति र विषय ओझेलमा परेका छन्, त्यसैका लागि हो यो राष्ट्र नामक कार्यक्रम किनभने राष्ट्रभक्तिमा धुलो लागोस् तर खिया नलागोस्’, कार्यक्रम सञ्चालक सरोज घिमिरे भन्दै थिए, ‘राष्ट्र मुटु र माटो हो, राष्ट्र जीवनको बाटो हो। राष्ट्र नागरिकको पहिचान हो, गौरव हो। पुर्खाको नासो अनि हामी नागरिकको चासो हो। त्यसैले व्यक्ति बन्नुभन्दा अघि राष्ट्र बनाऔं।’
राष्ट्र कार्यक्रमको शीर्ष गीत प्रस्तुत गर्दै गायक शिशिर योगीले गाएका थिए– ‘काँगडा, टिस्टा, सतलज सिमाना कसैले फैलायो होला, सय थरी जाति संस्कृति फुल्ने बगैंचा कसले बनायो होला।’ लगत्तै एउटा खुट्टाले नाचिन् सीता सुवेदी। आँखामा पट्टि बाँधेर पनि सरोज लामिछाने राष्ट्र सर्लक्क उतारेका थिए गीत अवधिभरि। गीतको बोल यसरी सुरु भएको थियो– सबलाई सुख होस्, सबको जय होस्, हाँसून् धरती माता, ज्योतिर्मय होस् जीवन...।’ चित्र उत्कृष्ट ठानेर सहभागी मध्येबाट केही रकम प्रदान गरिएको थियो। नेपाल आइडल हुँदै इन्डियन आइडलमा प्रस्तुति दिइरहेकी झापाकी मेनुका पौडेल गोपाल योञ्जनको शब्दसंगीतमा प्रस्तुत भइन्, ‘नेपाली नेपालको माया छ कि छैन...।’ सबैलाई भावुक बनाउने गायिका मेनुकालाई सिस्नुपानीले नगद एक लाख प्रदान गरेको थियो।
जम्मा दुइटा कविता सुनाइए राष्ट्रबारे। एकपछि अर्को दमदार कविता सुनाए सिस्नुपानीकै अध्यक्ष लक्ष्मण गाम्नागेले ‘लेख्न बाँकी यौटा राष्ट्रवादी कविता’ शीर्षकमा।
एउटा भीषण राष्ट्रवादी कविता लेख्नु छ आज
समृद्धिले झलमल्ल भएको देश लेख्नु छ आज...
घनघोर राष्ट्रवादी पदार्थहरू थुपारेर
कहिले यता उफारेर कहिले उता उफारेर
क्रान्तिकारी नेताले भाषण गरेजस्तै चर्किएर
मुठ्ठी उजाएर नाक फुलाएर स्रोतामात्र होइन
‘जज’हरूको पनि सातो खानु छ...!
पोखराबाट आएकी कक्षा सात अध्ययनरत प्रेन्सा रेग्मीले पनि देशलाई सर्लक्कै उतार्दै तीतामीठा कुरा सकारात्मक ढंगले राख्दा सबै संवेदनशील बनेका थिए– ‘सानैदेखि सुन्दै आएका छौं, नेपाल आजसम्म रोग, भोक, गरिबी, अशिक्षा, अज्ञानता, दमन, भ्रष्टाचार, शोषण आदिबाट गुज्रँदै आएको छ। यस्तो बेला हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउँला भन्ने सम्माननीय र माननीयज्यूहरूबाट सोहीअनुसार काम देख्न पाए कति जाति हुनेथियो।’ डा. राजेन्द्र विमलको शब्दमा कार्यक्रममा मिथिला नाट्य समूहको प्रस्तुति थियो भने नेपाली सेनाले पनि देशभक्ति नृत्य प्रस्तुत गरेको थियो। भाषा र संस्कार फरक भए पनि एउटै हुन्छ राष्ट्र भनेर यी गीत र नृत्यले सन्देश दिएका थिए।
मुटुका डाक्टर भगवान् कोइरालाले नेतातर्फ हेर्दै ‘म जे बोल्छु, मुटुबाटै बोल्छु’ भनेर नेतालाई सम्झाउँदै चिकित्सकीय भाषामा बोल्न थाले, ‘मुटुले स्वस्थ्य रहन सकारात्मक सोच खोज्छ। रिस, राग, द्वैष र कपट मन पराउँदैन किनभने यी कर्मले हर्ट अट्याक बढाउँछ। राजनीति देशको मस्तिष्क हो, कर्मचारी र अन्य क्षेत्रका हामी मुटु हौं। मस्तिष्क स्ट्रेसमा प¥यो भने त्यसले मुटुलाई धेरै धक्का दिन्छ। मुटु बिग्रियो वा फेल हुने स्थितिमा पुग्यो भने त्यसलाई मस्तिष्कलाई आघात पार्छ र कहिलेकाहीँ स्ट्रोक पनि हुन्छ।’ उनले गल्फ खेलसँग राजनीति र नेतासँग तुलना गर्दै अत्यन्तै सजग हुन सन्देश दिए। समाज नकारात्मकतातर्फमात्र दौडिरहेको भन्दै सकारात्मक सोच र संस्कार बसालेर देश समृद्धि बनाउन उनले सबैलाई आग्रह गरेका थिए। शिक्षामन्त्री सुमना श्रेष्ठले देश बदल्न बालबालिकामा लगानी गर्नुपर्ने बताइन्।
राष्ट्र कार्यक्रमको अर्को मूल पक्ष थियो, सहिदगेट र सहिद। मनोज गजुरेल र चक्र दवाडीले क्रमशः शुक्रराज शास्त्री र दशरथ चन्द बनेर दिएको प्रस्तुति मननीय रह्यो। सहिदका हात किन नबनाएको होला भन्ने जिज्ञासा दशरथले राख्दा शुक्रराजले भने– ‘सायद सहिद दिवसमा फूलमाला लगाउन आउँदा हाम्रा सपना अनुसार देश निर्माण गर्न नसकेको भन्दै कुट्छौं भनेर होला।’ सहिदलाई लगाइदिने मालामा कमिसनको कुरो र राणा शासनकालमा सहिद हुनुअघि देशका निम्ति बोलेका सन्दर्भ र विचारले सबैलाई भावुक बनाएको थियो। कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, ‘सिस्नुपानीले जति हान्यो त्यति प्रेरणा जगाएको छ हामीजस्ता नेतालाई।’
कार्यक्रमको अन्त्यमा, स्वर्गीय गायक भक्तराज आचार्यको शब्दसंगीतमा डा. बमबहादुर थापा जितालीका शब्दमा दीप श्रेष्ठ, दिपक खरेल, मीरा राणा, मुरलीधर, मह जोडी, संगीता राना, लोचन भट्टराई, देविका बन्दना, कुन्ति मोक्तान, आनी छोइङ, धीरेन्द्र प्रेमर्षी, सत्य–स्वरूपराज आचार्यले गाएका थिए।