नवीकरण नगराएका हतियार खोज्दै प्रहरी
परासी : जिल्ला प्रशासन कार्यालय नवलपरासीले अनुमति (इजाजत) लिएर राखेका हातहतियारको खोजी गर्न थालेको छ । अनुमति लिएका तर,लामो समयसम्म पनि नवीकरण नगराएका हतियारको खोजी गर्न थालिएको हो ।
प्रशासनले सूचना नै निकालेर सम्बन्धित व्यक्तिलाई अनुमति पत्रसहित नवीकरण गर्नका लागि कार्यालयमा आउन भनेको छ । ३५ दिने सूचनामार्फत जेठ ५ गतेभित्र नवीकरण गराउन मिल्ने हतियारलाई नवीकरण गराउन र नमिल्ने हतियारलाई प्रशासनमा बुझाउन जानकारी गराइएको छ ।
‘नवीकरणका लागि समय तोकेका छौं । हतियारको अनुमति लिएर गएपनि अहिलेसम्म नवीकरण नगराएका व्यक्तिहरुको खोजीका लागि सम्बन्धित पालिकाका प्रहरी युनिटलाई पत्रचार गरिएको छ । केही दिनमा त्यसको तथ्यांक आउने र नवीकरणको म्याद सकिएका हतियारलाई जफत गर्छौं, ’प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले भने ।
५ वर्ष पूरा भएर पनि नवीकरण नगराएका हतियारको संख्या २३७ थान रहेको प्रशासनले जनाएको छ । हातहतियार खरखजना ऐनले पाँच वर्षसम्म नवीकरण नगराए त्यस्ता हतियार जफत हुने र ती स्वतः अवैध मानेको छ ।
जिल्लामा ४०४ थान अनुमति लिएका हातहतियार छन् । जसमा नवीकरण भएका हतियारको संख्या १०६ रहेको छ । नवीकरण गराउन मिल्ने हतियारको संख्या ६१ थान रहेको प्रशासनले जनाएको छ ।
जिल्लाबाट अनुमति लिएका हतियारमा सबैभन्दा बढी १२ बोरका राइफल छन् । २२,२३ र ३५ बोरका राइफल, ३५ बोरको पेस्तोल, कटुई, ब्रिज लोड, भरुवा, मेनिचर र हवाई बन्दुक नामका हतियार राख्न अनुमति पत्र लिएको प्रशासनले जनाएको छ ।