कतारका राजालाई स्वागत गरौं, नेपालमा राजसंस्था पुनर्स्थापना गर्न ढिलो नगरौं : लिङ्देन
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कतारका अमिर (राजा) शेख तमिम बिन हमद अल थानीलाई नेपालमा स्वागत गर्न आह्वान गरेका छन्। उनले कतारका राजा नेपाल भ्रमणमा आउने भएपछि मंगलबार दिएको सार्वजनिक बिदाले राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान भएको बताएका हुन्।
‘लाखौं नेपाली युवाको रोजगारदाता राजतन्त्रात्मक मुलुक कतारका राजा अत्यन्तै लोकप्रिय शेख तमीम विन हमद अल थानीलाई नेपालमा हार्दिक स्वागत छ। कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुहुने र राजालाई २१ तोपको सलामी दिइने कार्यक्रम छ।’ लिङ्देनले प्रशंसा गर्दै भने, ‘नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ। यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो।’
उनले हिनताबोध नगरी नवीन समझदारी गर्न आग्रह गरे। नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसँस्थाको पुनःस्थापना गर्नुपर्ने उनको भनाई छ।
उनले भने, ‘हिनताबोध नगरौँ , नवीन समझदारी गरौं, नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसंस्थाको पुनःस्थापना गरौँ।’