वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई दोस्रो झड्का
काठमाडौं : वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई दोस्रो झड्का लागेको छ। आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १०६ रनको योगफल तयार पारेको थियो।
जवाफी ब्याटिङ गर्ने क्रममा ओबेद म्याककोयको बलमा जोनसन चार्ल्सले ३.४ ओभरमा कुशल भुर्तेललाई क्याच आउट गराएका हुन्।
भुर्तेलले ८ बलमा २ रन मात्र जोड्न सके।
त्यस अगाडि लोकेश बम घाइते भएपछि क्रिजमा अनिल शाह आएका हुन्। शाह पनि ओसेन थोमसको बलमा आन्द्रे फ्लेचरले क्याच आउट भए। शाहले ५ बलमा १ रन मात्र बनाए। बमले १२ बलमा १७ रन जोडेका थिए। शाह बाहिरिएपछि अहिले पुन: बम कप्तान रोहितकुमार पौडेलसँग साझेदारी गर्न क्रिजमा आएका छन्। नेपालले ५ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा २३ रन तयार पारेको छ।
आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’टोलीसँग खेलेको हो। शनिबार नेपालले वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले हराएको थियो। नेपाल र वेस्टइन्डिज ‘ए’बीचको दोस्रो खेल यही वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ। घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ।