गुल्मीको भनभनेमा आगलागीबाट तीन घरगोठ जले
![गुल्मीको भनभनेमा आगलागीबाट तीन घरगोठ जले](https://annapurnapost.prixacdn.net/media/albums/basti-aago_zU4MIg5V0k_gOsPmrCEWO.jpg)
गुल्मी : गुल्मीको मदाने गाउँपालिका- ७ भनभनेमा आगलागीबाट तीनवटा घरगोठ जलेर नष्ट भएका छन् । आइतबार स्थानीय व्यक्तिको खरबारीमा लागेको आगो बस्तीतर्फ फैलिएर तीन वटा घर–गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
भनभनेको दिपक माद्यामिक विद्यालय नजिकैको वनबाट फैलिएको आगो बस्तीमा फैलिएपछि स्थानीय यम बहादुर घर्तीको ढुङ्गाले छाएको दुईतले घर जलेर पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए । त्यस्तै आगलागीबाट सोही वडाका सोम बहादुर घर्तीको ढुङ्गाले छाएको २ तले कच्ची घर,बङ्गालो र कुटानी कुटानी पिसानी गर्ने एउटा मिल समेत जलेर पूर्णरुपमा क्षति भएको छ । आगलागीका कारण घर विहिन भएका नागरिकलाई गाउँमै सुरक्षित स्थानमा राखिएको छ।
हावाहुरीसहित भएको आगलागीबाट दिपक माद्यामिक विद्यालयको दुईवटा शौचालय जलेर नष्ट भएका छन् भने स्थानीयका परालको टौवा, दाउरा राख्ने कटकुरो, आरा मेसिन जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
सुरक्षाकर्मी , जनप्रतिनिधी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । गर्मीयाम सुरुभएसँगै भएको आगलागीले जिल्लाभर दर्जनौं घर गोठ पूर्ण क्षति भएका छन् भने सयौं पशुचौपायले ज्यान गुमाएका छन् । जिल्लाका १२ वटै स्थानीय तहका विभिन्न ठाउँका सामुदायिक , सरकारी तथा व्यक्तिगत वनमा लागेको आगो नियन्त्रणमा आएपछि पुनः लाग्ने गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)