विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सुरु
![विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सुरु](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_rQaqQ7uHFZ_lVwvAjlMxc.jpg)
गुल्मी : मालिका गाउँपालिका गुल्मीले विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सुरु गरेको छ। विपन्न अशक्त तथा अनाथ विद्यार्थीलाई प्रोत्साहन तथा विद्यालयमा शैक्षिक सुधार गर्ने उद्देश्यसहित उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
विद्यार्थीको वास्तविक समस्याको पहिचान गरी गाउँपालिकाले समाधान गर्ने गरी उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष देविराम अर्यालले जानकारी दिए। ‘हामी गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा पुग्छौं, विद्यार्थीका समस्या सुन्छौं, वास्तविक समस्या पहिचान गर्छौं,’ अध्यक्ष अर्यालले भने’ ‘आर्थिक अवस्था कमजोर भएर विद्यालयमा पढ्न बञ्चित भएका विद्यार्थीको पहिचान गरेर शैक्षिक सामग्री वितरण गर्छौं।’
यतिबेला गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्यक्ष अर्याल पुगेर विद्यार्थीका समस्या सुन्ने,विद्यार्थीलाई शैक्षिक सामग्री, झोला र विद्यालयलाई खेलकुद सामग्री वितरणको कार्यक्रमलाई तीव्र पारिएको छ। कार्यक्रममार्फत पालिका भित्रका ८ सय विपन्न, गरिब विद्यार्थीले शैक्षिक सामग्री र ३ सय विद्यार्थीले झोला प्राप्त गर्नेछन्। आर्थिक वर्ष २०८० लाई मालिका गाउँपालिकाले शैक्षिक सुधार वर्षको रुपमा घोषणा गरेको थियो।
गाउँपालिकाले शैक्षिक सुधार वर्ष अन्तर्गत नमुना युवा संसद अभ्यास,युवाको मुद्दामा वहस पैरवी,विद्यार्थी र अभिभावकका गुनासो संकलन, प्रधानाध्यापक,विद्यालय व्यावस्थापन समिति अध्यक्ष र जनप्रतिनिधि र कर्मचारी बीच करार सम्झौता,अभिभावकसँग उपाध्यक्ष र विद्यार्थीसँग अध्यक्ष लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थी भर्ना दरमा कमी, विद्यार्थीको स्रोत र साधनको अभावमा सामुदायिक विद्यालयहरूले आफ्ना क्रियाकलाप सञ्चालन गर्न नसकेको अवस्थामा गाउँपालिकाले केही इँटा थप्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले जानकारी दिए।
शैक्षिक सुधार वर्ष कार्यक्रम अन्तर्गत गाउँपालिकाले उपाध्यक्षसँग अभिभावक, विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ। यी र यस्ता कार्यक्रमबाट गाउँपालिकाले विगतका वर्षको तुलना यस वर्ष दोब्बरले शैक्षिक गुणस्तरमा सुधार समेत ल्याएको छ।’मालिका गाउँपालिकाको समृद्धिको आधार कृषि,पर्यटन,सामाजिक विकास र पूर्वाधार नारा बोकेको गाउँपालिकाले शिक्षामा गुणस्तरीय ल्याउन थुप्रै कार्यक्रम सञ्चालन गरिएको मालिका गाउँपालिका –६ का वडाअध्यक्ष दीपक भण्डारीले बताए।
विद्यार्थीले आफ्ना र विद्यालयमा भोग्दै आएका समस्या निर्धक्क भएर राख्न सकेमा पालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीले सार्थकता पाउने वडाअध्यक्ष भण्डारीले बताए। आगामी दिनमा शैक्षिक र भौतिक पक्षलाई अगाडि बढाउन सकेको समग्र गाउँपालिकाको शैक्षिक विकासमा टेवा पुग्ने अर्जै माध्यमिक विद्यालयका शिक्षक वुद्धिसागर अर्यालले बताए।
गाउँपालिकाका अध्यक्ष विद्यालयमा आएर समस्या बुझेकोमा विद्यार्थी खुशी हुँदै ११ र १२ कक्षामा निःशुल्क शिक्षाको माग गरेका छन्। गाउँपालिका भित्रका ५४ वटा सामुदायिक विद्यालयमा ४६ सय विद्यार्थीले पठनपाठन गर्दै आएका छन्।
गाउँपालिकाले अघिल्लो शैक्षिक सत्रदेखि आधारभूत तहमा ‘हाम्रो मालिका’ नामक स्थानीय पाठ्यक्रम सञ्चालन गरेको छ। हाम्रो मालिका पुस्तकमा स्थानीय तहका पर्यटकीय,धार्मिक तथा सामाजिक परम्परा लगायतका समसामयिक विषय समेटिएको छ। प्रत्येक वर्ष पालिकाले हाम्रो मालिका थप परिमार्जित गर्दै अगाडि बढ्न सकेमा विद्यार्थीलाई आफ्नो पालिका र समुदायका विषयमा जान्न र बुझ्न थप टेवा पुग्ने थानापति निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर खड्काले बताए।
विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्य अनुरूप अभिभावक र विद्यार्थीको चाहना अनुसार यसै शैक्षिक सत्रदेखि उक्त विद्यालयमा १२ वटा विदामा समेत विद्यालय सञ्चालन गरिने अध्यक्ष खड्काले बताए। यसै वर्षदेखि उक्त विद्यालयमा नेपाली र अंग्रेजी दुवै भाषा पढाउन थालिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)