वेयुल किमोलुङ सेराङ : सत्यम् शिवम् सुन्दरम्
![वेयुल किमोलुङ सेराङ : सत्यम् शिवम् सुन्दरम्](https://annapurnapost.prixacdn.net/media/albums/Serang-Monastry-1_PghO24zfdV_UBhI0lEIOs.jpg)
गोरखा : आँखाभरि हिमशृंखला, छाँगा, छहरा र गुराँसे वन। श्रवणभरि घोरल, झारल, नाउर, डाँफे र मुनाल क्रीडाको गुञ्जन। मनभरि सत्यम्, शिवम् सुन्दरम्। यो हो, सेराङको स्मरण। जहाँ कायिक, वाचिक, मानसिक हिंसामुक्त छ। जहाँ मान्छे र वन्यजन्तुबीच मित्रवत् सम्बन्ध छ। त्यो हो वेयुल किमोलुङ सेराङ।
केही दिनअघि यही सेराङबाट नुब्री क्षेत्रलाई ‘अहिंसा उपत्यका’ घोषणा भयो। यसअघि १९७७ सालमा गौतम बुद्धको जन्म, बोधिलाभ र महापरिनिर्वाणको सन्दर्भ पारेर टुल्कुडुक्पा लामा सेराप दोर्जेले चुम उपत्यकालाई अहिंसा क्षेत्र घोषणा गरेका थिए। त्यसको एक सय वर्ष पूरा भएको अवसरमा गत वर्ष चुम उपत्यकाको राजेन गुम्बामा स्याग्या शताब्दी महोत्सव मनाइएको थियो।
अहिंसालाई स्थानीय भाषामा ‘स्याग्या’ भन्ने गर्छन्। सेराङ स्वयं त सदियौंदेखि अहिंसा क्षेत्र नै थियो। अब सेराङ रहेको नुब्री उपत्यका नै अहिंसा क्षेत्र भयो। अहिंसा हुनका लागि सेराङ गुम्बा र गाउँपालिकाले शील अर्थात् आचारसंहिता जारी गरेका छन्। बौद्ध धर्मावलम्बीले पालना गर्नुपर्ने पाँचवटा नियमलाई पञ्चशील भनिन्छ। जसअन्तर्गत पहिलो शील हो– कुनै पनि प्राणीको शरीर तथा मनमा चोट नपुर्याउने अर्थात् यसलाई अहिंसा पनि भनिन्छ। त्यस्तै मादक पदार्थ (लागूऔषध) सेवन नगर्नु, व्यभिचार नगर्नु, झूटो नबोल्नु र अरूको वस्तुमाथि अधिकार नजन्माउनु हो। शान्ति उपत्यका हुनका लागि चुम र नुब्री क्षेत्रका बासिन्दाले पालना गर्नुपर्ने नियमलाई बुद्धले जारी गरेको पञ्चशीलसँग सम्बन्ध जोड्ने प्रयास गरे पनि ठ्याक्कै त्यस्तो भने छैन। यहाँ जारी शील मौलिक खालका छन्। ‘जंगली वा घरपालुवा पशुपक्षी हत्या नगर्ने, डढेलो नलगाउने, मह नकाढ्ने, सिकार नखेल्ने शीलमा उल्लेख छ’, गाउँपालिका अध्यक्ष निमा लामा भन्छन्। शीलको पालना गर्ने गराउने प्रतिबद्धता पत्रमा सेराङ गुम्बाका प्रमुख लामा टुल्कु कर्मा रिम्पोछे, टुल्कु पासाङ रिम्पोछे, टुल्कु
सेराङ गुम्बा सेराङ हिमालको काखमा अवस्थित छ। सेराङ हिमाल, जसलाई श्रृंगी हिमाल पनि भन्ने गरिन्छ। स्थानीय भाषामा भने यसलाई काङ् टासी पासाङ भन्ने गरिन्छ। यो चुमनुब्री गाउँपालिका–५ मा अवस्थित छ। सेराङ हिमाल आरोहणका लागि अनुमति छैन। अनुमति माग गर्न पर्वतारोहण तथा पर्यटनसँग संबद्ध व्यवसायीले लविङ गरिरहेका छन्। तर सेराङ गुम्बाले यो हिमाल आरोहणका लागि अनुमति नदिन सरकारसँग माग गरिरहेको छ। गुम्बाले गाउँपालिकासँग पनि आरोहण नदिन लविङ गरिदिन अनुरोध गरेअनुसार केही दिन अगाडि सम्पन्न सेराङ कार्यपालिका बैठकले आरोहणका लागि अनुमति नदिन लबिङ गर्ने निर्णय पनि गरेको छ।
समुद्री सतहदेखि ३५ सय मिटर उचाइमा रहेको सेराङ गुम्बा पुग्न चुमनुब्री—५ बिहीबाट करिब ६ घण्टा पैदलयात्रा तय गर्नुपर्छ। चुमनुब्री—४ क्वाक, छाकबाट पनि पदमार्ग छ। विदेशी पर्यटक सेराङ पुगेर क्वाक छाक हुँदै पुनः मनास्लु पदमार्गमा जोडिन्छन् ।
सेराङ गुम्बा धेरै पुरानो गुम्बा हो। यहाँका प्रमुख लामा टुल्कु पासाङ रिम्पोछेका अनुसार सेराङ बज्रयाना सम्प्रदायका संस्थापक गुरु पद्मसम्भवले बेयुल किमोलुङ (लुकेको पवित्रस्थल) अन्तर्गत पर्ने ठाउँ हो भनेर पहिचान गराएको ठाउँ हो। ‘नेपालीबाट श्रृंगी हिमाल र बुद्धमार्गीहरूको धर्मग्रन्थमा टासी पासाङ भनेर लेखिएको हिमाल यहाँ छ’, रिम्पोछेले भने, ‘सातौं, आठौं शताबदीतिर तिब्बती गुरु रिम्पोछेले यहाँ लुकेर रहेको धर्मग्रन्थ तथा धार्मिक सामग्रीहरू फेला पारेका थिए। टासी पासाङ हिमालभित्र अझै पनि त्यस्ता धेरै सामान लुकका छन् भनेर धर्मग्रन्थमा लेखिएको छ। यो ठाउँ विश्वभरका लागि शान्तिभूमि हो। बुद्धमार्गी मात्रै होइन, हिन्दुका ऋषि श्रृंगीले पनि यहाँ तपस्या गरेर ज्ञान प्राप्त गरेको भनिन्छ । हिन्दुहरू यो हिमाललाई श्रृंगी हिमाल भनेर पुज्छन्।’
टुल्कु पासाङ रिम्पोछेका अनुसार कम्तीमा चार सय वर्षअघि सेराङ गुम्बा निर्माण भएको हो। यसलाई यो क्षेत्रकै सबैभन्दा प्राचीन गुम्बा मानिन्छ। ‘आठौं शताब्दीका गुरु पद्मसम्भवले ध्यान गरेको ठाउँ भएकाले यो गुम्बाको विशेष महत्त्व छ। त्यसैले यहाँ धेरै आनी, भिक्षुहरूले बुद्ध धर्मको अभ्यास गरिरहेका हुन्छन्’, उनी भन्छन्, ‘यो ठाउँलाई संरक्षण गर्न र विश्वभर चिनाउन प्रयास गरिरहेका छन्। प्रमुख लामा चुकी निमा रिम्पोछेले यो गुम्बाको अहिले देखिएको संरचना सन् १९८१ मा निर्माण गर्नुभएको थियो र १९९१ मा सिक्किममा बस्ने तिब्बतका धेरै ठूलो रिम्पोछे आएर उद्घाटन गर्नुभएको थियो।’ यहाँ ध्यान केन्द्र र शिक्षा केन्द्र छन्। यो गुम्बामा बुद्धधर्म सम्प्रदायको कला, इतिहास आदिका बारेमा पढाइ हुने उनले बताए।
धेरै महत्त्वपूर्ण गुम्बा भएकाले यस गुम्बामा धेरै लामा, आनीहरू बुद्धधर्म, दर्शनको अभ्यास गर्ने गर्छन्। तपस्वीहरू गुम्बा आसपास रहेका गुफाहरूमा तीन, चार वर्षसम्म ध्यानमा बस्ने गर्छन्। ‘ध्यान बस्नका लागि सेराङ आसपास धेरै गुफाहरू छन्। यहाँ २० वर्षसम्म पनि ध्यान बस्ने गरेको पाइन्छ’, रिम्पोछे भन्छन्, ‘आधुनिक प्रणालीको शिक्षा नहुँदा नयाँ पुस्ताका बालबालिकालाई दुःख हुने रहेछ भन्ने महसुस भयो र गुम्बाले सेराङ गुम्बा आधारभूत विद्यालय नामको एउटा विद्यालय सञ्चालन गरेको छ। त्यहाँ गुम्बाले नै १५ जना शिक्षक राखेर पठनपाठन गरिरहेको छ। यहाँ अहिले १ सय ३० जना बालबालिका पढ्ने गर्छन्। जाडोका बेला यहाँभन्दा केही न्यानो हुने बिही गाउँमा बसेर पढ्न छुट्टै विद्यालय भवन निर्माण गरेर सञ्चालन गरेको छ। यहाँका बालबालिकालाई खाने, बस्ने व्यवस्था गुम्बाले गरेको छ। साथै पोसाक, स्टेसनरी सबै सामान गुम्बाले नै निःशुल्क उपलब्ध गराउने गर्दछ।’
स्वदेशी तथा विदेशी पर्यटक आउने भए पनि हिंसा नहुने हुँदा यहाँ जंगली पशुपन्छीहरू मान्छेका नजिक आउँछन्। जंगली नाउरहरू मान्छेसँगै खेल्ने, बस्ने, खाने र रमाउने गर्छन्। मानव र जंगली जनावरको मित्रवत् सम्बन्धको रमाइलो अनुभव यहाँ लिन सकिन्छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)