स्वच्छ सास लिन संघर्ष !
काठमाडौं उपत्यकाको वायु अस्वस्थ छ। देशका सयौं स्थानमा डढेलो लागिरहेको छ। केही महिनादेखि वर्षा पनि हुन सकेको छैन। आकाशमा रहेका धुलोका कणहरूले वायु अस्वस्थ बनिरहेको छ। यसैले केही महिनादेखि काठमाडौं सहर विश्वका प्रदूषित सहरमा पर्छ। तथ्यांकले दसौं स्थानभित्रै पर्नु एकातिर दुःखदायी कुरा भयो भने अर्कोतिर स्वास्थ्य जोखिममा परेको स्पष्ट पार्छ। सरकारसँग वायु प्रदूषण नियन्त्रणसम्बन्धी नीति राम्रो भए पनि प्रभावकारी कार्यान्वयन छैन। संविधानमा स्वच्छ वातावरणमा बाँच्न पाउनु नागरिकको मौलिक हक हो भनिएको छ।
काम गर्न स्वस्थ शरीर चाहिन्छ। स्वस्थ शरीरका लागि सन्तुलित भोजन, व्यक्तिगत सरसफाइ र वरिपरिको वातावरण पनि सफासुग्घर हुनुपर्छ। हिजोआज वायु प्रदूषण, जल प्रदूषण, ध्वनि प्रदूषण (कोलाहल), घरभित्रको प्रदूषणजस्ता शब्द आधुनिक जीवनका लागि गम्भीर समस्या बनेका छन्। शुद्ध हावामा हानिकारक पदार्थ मिसिन गई जीवजन्तु र बोटबिरुवामा समेत नराम्रो असर परिरहेको छ। वायु प्रदूषणमा हावाले उडाउने धुलो, फूलका परागकण, ज्वालामुखी आदि प्राकृतिक प्रदूषक पर्छन् भने मानव सिर्जित वायु प्रदूषणमा बढ्दो सवारीसाधन, गुणस्तरहीन पेट्रोलियम पदार्थ, मर्मतसम्भारविहीन सवारीसाधन, अव्यवस्थित र साँघुरा सडक, सयौं उद्योगको धुवाँ, घरमा दाउरा बाल्दा निस्कने धुँवा, इँट्टाभट्टा आदि पर्छन्।
मुख्य वायु प्रदूषणमा १० माइक्रोनभन्दा साना धुलोको कण– पी.एम. १०, सल्फरका अक्साइडहरू, नाइट्रोजनका अक्साइडहरू, कार्बनडाई तथा मोनो अक्साइड, लिड, ओजन, हाइड्रोजन छन्। वार्षिक ५० हजार टनभन्दा बढी घातक प्रदूषित ग्या“स थपिन्छन्। त्यसैले अहिले विशेषतः काठमाडौं उपत्यकाको वातावरण बिग्रिएको अवस्थामा छ। राजधानीको वायु प्रदूषणको झन्डै आधा हिस्सा सवारीसाधनको धुवाँले लिएको छ।
विपद्कै रूपमा वायु प्रदूषण : उपत्यकामा बढ्दै गरेको प्रदूषणको अवस्था हेर्दा भोलिका दिनमा हामीले स्वच्छ हावा लिन क्लिन एयर ब्याग बोकेर हिँड्ने दिन नआउला भन्न सकिँदैन। नेपाल विश्वका दुई ठूला र अति धेरै वायु प्रदूषण उत्सर्जन गर्ने मुलुक चीन र भारतबीच अवस्थित छ। वरिपरिको वातावरणले पार्ने प्रभावले पनि नेपाल यसै मारमा परेकै छ।
नेपाल सरकारले २०७६ मा पारित काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजनाले वायु प्रदूषण सूचकांक तीन सयभन्दा बढी भएको अवस्थालाई विपद् मान्न सकिने उल्लेख छ। जुन खतरनाक र आपत्कालीन अवस्था हो। विगतमा पनि दुईपटक आपत्कालीन अवस्था आएको र विद्यालय बन्द, सवारीसाधनमा कटौतीलगायत न्यूनीकरणका उपाय अवलम्बन गर्नु परेको थियो।
सासका लागि पनि संघर्ष : मानव शरीरका लागि नभई नहुने तत्व हो अक्सिजन। जसका लागि हरेक मानिसले दिनमा करिब २२ हजार पटक सास फेर्छ। यसका लागि २५ किलो शुद्ध हावा जरुरत पर्छ। स्वास्थ्य मन्त्रालयको ढोकैमा २०२३ मा झुन्ड्याइएको ‘हेपा फिल्टरजडित कृत्रिम फोक्सो’ १५ दिनमै कालो भयो। जनचेतनाका लागि उक्त फोक्सो पृथ्वी दिवसका दिन उपत्यकाका विभिन्न स्थानमा राखियो। यसले अनेकन संक्रमण हुने, रोग बढ्नेमात्रै नभई आयु नै ४.१ वर्षले घटाएको देखाएको छ। १५ वर्षभन्दा कम उमेरका लगभग ९३ प्रतिशत केटाकेटी हरेक दिन प्रदूषित हावामा सास फेर्छन्। उनीहरूको स्वास्थ्य एवं विकासमा गम्भीर प्रभाव पारिरहेको छ। जसले हरेक १० जनामा १ जनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन बताउँछ।
विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण हरेक वर्ष ७० लाख तथा नेपालमा ४२ हजार १ सयको अल्पायुमै मृत्यु हुने गरेको छ। संवेदनशीलतालाई हेरेर सूचकांक ० देखि ५० लाई राम्रो, सूचकांक ५१ देखि १०० लाई मध्यम, १०१ देखि १५० लाई संवेदनशील मानिन्छ। सूचकांक १५१ देखि २०० लाई अस्वस्थ र २०१ देखि ३०० लाई धेरै अस्वस्थ मानिन्छ। सूचकांक ३ सयभन्दा माथिलाई विपद् वा आपत्कालीन अवस्था मानिन्छ। स्टेट अफ ग्लोबल एअर २०२० का अनुसार घरभित्र र बाहिर हुने वायु प्रदूषणका कारण सन् २०१९ मा ४२ हजार जनाको मृत्यु भएको थियो। जसमा १९ प्रतिशत ५ वर्षमुनिका, २७ प्रतिशत ७० वर्षमाथिका थिए।
स्वास्थ्यमा अल्प तथा दीर्घकालीन गरी दुई किसिमले असर पार्छ। बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम, स्मरण शक्तिमा ह्रास, खाना नरुच्नेजस्ता समस्या ल्याउँछ। गर्भवती तथा गर्भको शिशुमा असर परी समयपूर्व शिशु जन्मने, कम तौल भएका बच्चा जन्मने खतरा हुन्छ। एलर्जी, नाक, कान, घाँटीको संक्रमण, खोकी, थकान, आ“खा सुक्खा, आँखा पोल्ने, रातो हुने तथा लामो समयसम्म प्रदूषणमा भए ५० वर्ष नपुग्दै दम लाग्ने हुन सक्छ। मुटुको रक्तनली ब्लक हुन सक्छ। श्वास नली, छाला तथा फोक्सोको क्यान्सर बनाउन सक्छ। पक्षाघात र मस्तिष्कघातको खतरा बढ्छ। श्वासप्रश्वाससम्बन्धी समस्या जटिल बन्दै जाँदा सास फेर्न संघर्ष गर्नुपर्ने अवस्था निम्तिन्छ।
बढदो वायु प्रदूषणले कोभिड—१९ लगायतका खोपको प्रभावलाई एन्टिबडी आईजी एम र जीलाई १० प्रतिशत कम गर्दिन्छ। उक्त तथ्य कोभिड खोप लगाएका ४० देखि ६५ वर्षका ९ सय २७ मानिसबाट २०२० देखि २०२१ गर्मीसम्म दुवै मात्रा खोप लगाइसकेकाबाट संकलित तथ्यांकमा छ। वायु प्रदूषणले एलर्जी र दममा देखिए जस्तै टी हेल्पर लिम्फोसाइट टाइप १७ जस्ता प्रतिरक्षा प्रतिक्रियाका कारक बढाउँछ, एन्टिभाइरल प्रतिरक्षा प्रतिक्रियालाई बिगार्छ र खोपको प्रभावकारिता तथा रोगको पनि जटिलता बढाउने गर्छ। धूलोधुवाँका कणले वायुमण्डलको ओजन तह नष्ट गरी सूर्यका हानिकारक बिकिरण सीधै आइरहेका छन्। जसले आ“खा, छाला, मोतीबिन्दु र क्यान्सर बढाइरहेका छन्। छाला, आँखा, श्वासप्रश्वास र मुटुरोगीहरूको संख्या तथा गाम्र्भीयतामा भएको बढोत्तरीमा पनि प्रदूषण जिम्मेवार देखिएको छ। तसर्थ स्वास्थ्य संस्थामा यस्ता बिरामीको बढोत्तरी हुनासाथ वायु प्रदूषण बढिरहेको संकेत गर्छ।
अन्त्यमा, नेपालमा हाल सूचीकृत विपद्ले भन्दा यसले बढी दैनिक एक सय बढीको मृत्यु हुन्छ। कचौराजस्तो उपत्यकामा सदाबहार समस्याका रूपमा रहेको वायु प्रदूषणले ल्याउने विपद्लाई सरकारले सूचीकृत गरी तत्सम्बन्धी नीति र कार्यक्रम ल्याउन ढिला भएको छ। सरकारले प्रदूषण शुल्क भनेरै नेपाल भित्रिने पेट्रोल, डिजेलबाट प्रतिलिटर रुपैयाँ उठाउने गर्छ। मुलुक आर्थिक रूपमा गरिब भएर यस्तो विसंगति देखिएको कदापि होइन। आर्थिक समस्याभन्दा पनि योजनाविहीनताले असर पारेको स्पष्ट देखिन्छ। घरमा बस्ने सार्वभौम नागरिकदेखि वडास्तरमा काम गर्ने महिला, जनप्रतिनिधि तथा संघसंस्था सबै सरोकारवाला जागरुक बन्नैपर्छ। अन्यथा घरभित्र तथा काममा निस्कँदा सास फेर्न घरबाटै झोलामा स्वस्थ हावा बोकेर हिँड्ने दिन आउनेछन्।
(बुढाथोकी, नेपाल चिकित्सक संघका उपाध्यक्ष हुन्।)