मुस्ताङमा दुर्लभ कस्तुरी मृग मृत फेला
जोमसोम : मुस्ताङमा हिमाली संरक्षित दुर्लभ वन्यजन्तु कस्तुरी मृग फेला परेको छ। घरपझोङ गाउँपालिका-३ पुथाङ एअरपोर्टको कम्पाण्ड बाहिर सोमबार बिहान संरक्षित वन्यजन्तु पोथी कस्तुरी मृग फेला परेको एक्याप जोमसोमले जनाएको छ।
पुथाङको एअरपोर्ट नजिक कस्तुरी मृग मृत अवस्थामा स्थानीयले देखेपछि एक्याप जोमसोम कार्यालयलाई जानकारी गराइएको थियो। त्यसपछि एक्यापको कर्मचारी टोलीले घटनास्थलमा पुगेको थियो। टोलीले घटनास्थलको अध्ययन र मुचुल्का गरी मृत कस्तुरी मृत त्यहाँबाट एक्याप कार्यालयमा ल्याइएको थियो।
मुस्ताङमा पहिलो पटक संरक्षित वन्यजन्तु कस्तुरी मृत भेटिएको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए। वन्यजन्तु वा छाडा कुकुरको आक्रमणबाट कस्तुरी मृगको मृत्यु भएको प्रमुख रेग्मीले बताए।
पशु चिकित्सक लालमणी अर्यालले मृत कस्तुरीको विभिन्न भागमा चोटपटक लागेको र कस्तुरीको विभिन्न अंगहरु वन्यजन्तु वा कुकुरले खाइसकेको अवस्था रहेको बताए।