समयमा कार्यालय नआउने कर्मचारीलाई कारबाही गर्न स्वास्थ्य मन्त्रीको निर्देशन
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले समयमा कार्यालय नआउने कर्मचारीहरूलाई कारबाही गर्न निर्देशन दिएका छन्। आइतबार आफू मातहतको मन्त्रालयअन्तरगत कार्यालयको विभिन्न महाशाखा,शाखा र फाँटहरूको अनुगमनका क्रममा मन्त्री यादवले समयमा कार्यालय नआउने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका हुन्। मन्त्री यादवले कर्मचारीहरू समयमा आए नआएको विषयमा पनि जानकारी लिएका थिए।
अनुगमनका क्रममा मन्त्री यादवले कर्मचारीहरूले गर्ने काम कारवाहीलगायतका गतिविधिसँगै योजनाहरूको प्रगति र कार्यान्वयनमा आएका चुनौतिका बारेमा जानकारी लिएका थिए। केही दिनअघि मन्त्री यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत काठमाडौंस्थित स्वास्थ्य सेवा विभागको अनुमगन गरेका थिए।
स्वास्थ्य सेवा विभागमार्फत् प्रवाह हुने जनमुखी सेवाहरूलाई थप प्रभावकारी बनाउन आवश्यक बजेटदेखि जनशक्ति व्यवस्थापनको काम प्राथमिकता साथ गर्ने प्रतिवद्धता दिएका थिए। उनले स्वास्थ्य संवेदनशील क्षेत्र रहेकाले बजेट बढाउन पहल गरिरहेको बताएका थिए।