जेठ १६ र १७ गते पहिलो राष्ट्रिय महिला भेलाको आयोजना गर्दै एमाले
![जेठ १६ र १७ गते पहिलो राष्ट्रिय महिला भेलाको आयोजना गर्दै एमाले](https://annapurnapost.prixacdn.net/media/albums/Communist-Party-of-Nepal-UML-Yemale_20211022032844_liSs2224Ss_fvM4d8jp8n.jpg)
काठमाडौं : नेकपा (एमाले)ले जेठ १६ र १७ गते पहिलो राष्ट्रिय महिला भेलाको आयोजना गर्ने भएको छ। एमाले जनसंगठन समन्वय संयन्त्रले आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै सम्मेलनको तयारी पुरा भएको र राष्ट्रिय भेलाको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले नेपाल सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवस घोषणा गरी मनाउँदै सन्दर्भमा भेलाको आयोजना गरेको जानकारी दिए। भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको विषय चर्चा गरिने र महिला आन्दोलनका अबका एजेण्डाहरूलाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिने उनले बताए।
भेलामा पार्टीका केन्द्रीय सदस्यहरु, नेकपा (एमाले) आबद्ध २३ वटै जनसंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी लगायतको सहभागीता रहने एमालेले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)