जिम्मेवार अभिभावक बन्ने कि!
आजकलका बालबालिका अटेरी भएका हुन्? धेरैले यस्तो प्रश्न गर्छन्। समय पहिलेजस्तो छैन। हामी बच्चा हुँदा सोच्ने शैली, तौरतरिका र व्यवहारमा पहिलेभन्दा अहिलेका बालबालिकामा धेरै परिवर्तन आएको छ। केही समयअघि ८-१० वर्षको उमेरमा नै घरको धेरैजसो जिम्मेवारी बोक्ने चलन थियो। तर, आजकालका बच्चाहरू आफैं खानसमेत सक्दैनन्।
गाउँघरमा भैंसी, गाईगोरू पाल्ने चलन थियो र कतिपय स्थानमा अहिले पनि छ। गाउँले परिवेशमा हुर्केका अधिकांशले भकारो सोहोर्ने, घाँस काट्ने, गाईबस्तुको गोठालो बन्ने खाले जीवनशैली भोगेको हुनुपर्छ। बिहानै भकारो सोहोर्ने, घर सरसफाई, तरकारी बारीमा पानी लगाउने, घरका सबै काम सकेर अध्ययनका लागि विद्यालय जाने चलन थियो। यसरी पढ्नेहरू पढाइमा पनि अब्बल हुन्थे भने घरको काममा पनि उत्तिकै पोख्त।
तर, आज समय फेरिएको छ। गाईबस्तु पाल्ने र खेतीकिसानी गर्ने चलन हराउँदै गएको छ। भान्सामा प्याकेटको दूध, बोरामा चामल र प्लाष्टिकको झोलामा दाल आउँछ। जीवनशैली फरक र सहज भएको छ। यतिका सुविधा हुँदाहुँदै पनि के हामीले उमेरअनुसार छोराछोरीलाई घरको काम गर्न सिकाएका छौं? पैसा कमाउने, पढाईमा तीक्ष्ण भए पनि जीवन चलाउनका लागि पकाउने, सरसफाई गर्ने, कपडा धुनेलगायतका जीवन धान्ने काम त गर्नैपर्छ। बोरामै आएको चामल भए पनि सिठी लगाएर पकाउनैपर्छ। पढाईमात्र होइन, जीवन चलाउने कला पनि उत्तिकै महत्वपूर्ण छ।
सर्टिफिकेटमा ए प्लस ल्याए पनि बच्चाले उमेरअनुसारको काम गर्न जान्दैन वा सिकेको छैन भने किताबी पढाइको अर्थ छैन। हरेक बुबा-आमाको चाहना आफ्ना सन्तान असल र सफल होउन् भन्ने नै हुन्छ। तर, बच्चाले सफल हुने मार्ग अबलम्वन गरेको छ कि छैन? त्यो महत्वपूर्ण हुन्छ। बच्चालाई कसरी जिम्मेवार बनाउने त? उज्वल भविष्य सुनिश्चित गर्न पालन-पोषण, सही मार्ग निर्देशनका लागि सहयोग गर्ने तर निर्णय लिन उनीहरूलाई नै दिने गर्नुपर्छ। बालबालिकामा सकारात्मक व्यवहार निर्माण गर्ने पहिलो जिम्मेवार अभिभावक नै हुन्। पहिलेजस्तो बच्चालाई गाली गरेर, हप्काएर सही बाटोमा ल्याउन सकिने अवस्था छैन।
सही मार्ग, सही सुझाव र परेको बेला सहयोगजस्ता सकारात्मक कार्यलाई निरन्तरता दिँदा बालबालिकामा सकारात्मक ऊर्जा उत्पन्न हुन्छ। हामी उनीहरू असल हुन्, समाजमा उनीहरूको असल पहिचान होस् भन्ने चाहन्छौं। तर, आफूले कस्तो अभ्यास गर्दैछौं? यसतर्फ ध्यान दिनु आवश्यक छ। समाजले चाहेको व्यवहार निर्माण गरेर उज्वल भविष्य बनाउनका लागि सही र सक्षम अभिभावक हुनु पहिलो शर्त हो।
हामीकहाँ बालबालिकाका विषयमा संवेदनशील हुने चलन छैन। बच्चा त हुन् । यिनीहरूलाई के थाहा छ र? भनेर कम मूल्यांकन गर्ने गरिन्छ। बच्चा हुँदा यो हामीमध्ये अधिकांशले भोगेको हुनुपर्छ। अभिभावकले बालबालिकाप्रति विशेष ध्यान दिनुपर्ने धेरै विषयहरू छन्। उनीहरूले सोधेका प्रश्नका उत्तर दिने प्रयास गर्नुपर्छ। यदि अभिभावकले उनीहरूले सोधेका प्रश्नका उत्तर नदिएर अलमल्याउने हो भने प्रश्न गर्ने बानी नै हराएर जान्छ। जब बच्चाले प्रश्न गर्न छोड्छ, त्यसपछि उसमा विभिन्न समस्या देखिन थाल्छन्। उसले आफूलाई एक्लो अनूभुत गर्न थाल्छ। खुसी र दुःखभित्रै दबाउने प्रयत्न गर्छ। बाल्यावस्था जीवनको महत्वपूर्ण चरण हो। यो अवस्थाका बच्चाहरूमा देखिएका सामाजिक व्यवहार पछिसम्म पनि रहिरहन्छन्। उमेर बढ्दै गएपछि व्यवहारलाई परिवर्तन गर्न सजिलो हुँदैन। असल सन्तान चाहनेले पहिले असल अभिभावक बन्ने कोसीस गर्नैपर्छ।
असल, ज्ञानी बच्चासँगै स्वस्थ शरीर जरुरी हुन्छ। उनीहरूको स्वास्थ्यप्रति अभिभावक सजग हुनुपर्छ। बाल्यावस्थामा मांशपेसी र स्नायुप्रणालीको राम्रो विकास हुन्छ। यो बेला पौष्टिक आहारको व्यवस्था गर्नु अभिभावकको जिम्मेवारी हुन्छ। यो उमेरमा हाँस्न, खेल्न, नाँच्न दिनुपर्छ। बौद्धीक विकासका कार्यक्रमहरू हेर्न दिने र सन्देशमूलक कथाहरू सुनाउँदा उनीहरूको क्षमता बढ्छ। मद्यपान, धुम्रपानजस्ता कुलतबाट टाढा राख्नुपर्छ। कतिपयले चुरोट, रक्सी ल्याउन बच्चाहरूलाई अह्राउने गर्छन्। यो एकदमै गलत हो। बच्चाले पसलबाट यस्ता पद्धार्थ लिएर आउने क्रममा लत बसाउन पनि सक्छन्। घरमा उनीहरूका अगाडि रक्सी, चुरोट पिउने कैयन अभिभावकहरू हाम्रो समाजमा छन्। बुवाआमानै छोराछोरीका पहिलो मार्गनिर्देशक हुन्। मार्गनिर्देशकले नै गलत बाटो अपनाएपछि कसरी असल सन्तान निर्माण हुन्छन्?
सबै बालबालिका एकैखाले हुँदैनन्। क्षमता र रुचि फरक हुन्छन्। कोही अति क्षमतावान् हुन्छन् भने कोही एभरेज। कोही शारीरिकरूपमा कमजोर पनि हुन सक्छन्। कसैको ढिलो बुझ्ने क्षमता हुन्छ। बालबालिकालाई एक अर्कामा तुलना गर्नुहुँदैन। उनीहरूको मनोबल सधैं उच्च राख्ने काम गर्नुपर्छ। बालबालिकाहरूलाई लिंग, भाषा, धर्म, वर्ण, जातका नाममा फरक व्यवहार गर्नुहुँदैन। हामीले थाहा नपाई विभेद गरेका पनि हुनसक्छौं। यसतर्फ सचेत हुनुपर्छ।
आजकल बालबालिकाहरू मानसिकरूपमा कमजोर बन्दै गएका छन्। उनीहरूमाथि केही गलत व्यवहार भयो भने आत्महत्याजस्ता गम्भीर निर्णय लिइरहेका छन्। जीवन फेरि पाइँदैन। यस्ता निर्णय कुनै पनि हालतमा समस्याका समाधान होइनन् भनेर सिकाउनुपर्छ। समस्यासँग भाग्ने होइन, डटेर सामना गर्नुपर्छ भनेर सिकाउने अभिभावकको खाँचो छ। साना समस्यासँग आत्तिने होइन, समाधानका लागि पहल गर्न अग्रसर हुनुपर्छ।
जीवनोपयोगी सीपले प्रत्येक परिस्थितिसँग डटेर अगाडि बढ्न सक्षम बनाउँछ। सही निर्णय लिन, समस्याको समाधान गर्न, हरेक परिस्थितिमा आफूलाई अनुकूल बनाउनसक्ने क्षमताको विकास हुन्छ। शारीरिक, मानसिक, संवेगात्मकरूपमा स्वस्थ बालबालिका नै हाम्रा भविष्य हुन्। हाम्रा नानीहरूको पहिलो पाठशाला घर हो। अभिभावक पहिलो गुरु हुन्। बालबालिकामा राम्रो व्यवहार निर्माण गर्न अभिभावकले राम्रो वातावरण घरमा नै तयार गर्नुपर्छ। बालबालिकाका लागि असल संस्कार सिकाउन उनीहरूमा गरिएको लगानी नै सुन्दर भविष्य निर्माणको आधार हो। त्यसैले बालबालिकालाई असल संस्कार र पर्याप्त समय दिएर जिम्मेवार अभिभावक बनौं।