काठमाडौंमा 'लापता' नेताहरू खोज्दै मधेसका काकाकुल जनता (फोटो फिचर)
काठमाडौं : पानीको माग गर्दै मधेसबाट हिँडेर काठमाडौं आएका पीडितहरूले मुखमा टेप टाँसेर प्रधानमन्त्रीलगायत शीर्ष नेताहरूको खोजी गरेका छन्। आफ्नो माग बेवास्ता गरेको भन्दै उनीहरूले नेताहरूको पोस्टर टाँसेर विरोध प्रदर्शन गरेका हुन्।
माइतीघरदेखि नयाँ बानेश्वरसम्म गरिएको प्रदर्शमा उनीहरूले नेताहरूको खोजी गरेका हुन्। ‘लापता, लापता, लपाता’ भन्दै उनीहरूले प्रधानमन्त्री, मन्त्री र पार्टीका नेताहरूको तस्बिर प्लेकार्डमा टाँसेका हुन्। ३६ दिनदेखि आन्दोलित मधेसबासीको माग पूरा गर्न सरोकारवलाहरू अनइच्छुक देखिएको चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले बताए।
चुरे दोहनले मुहान सुकेर पानीको हाहाकार भएपछि मधेसबासीहरू २५ दिन पैदल हिँडेर समस्या सुनाउन काठमाडौंको माइतीघर आएका हुन्। धर्ना बसेको ११औं दिन बिते पनि सरकारले बेवास्ता गरिरहेको आन्दोलनमा सहभागी शान्ति देवीले बताइन्।
उनीहरूले मधेसलाई सुखाग्रस्त क्षेत्र घोषणँ गरी सम्पूर्ण नदीहरूको मुहान रिचार्ज गर्न माग गर्दै आएका छन्। त्यतिमात्र नभएर चुरे क्षेत्रमा भइरहेको दोहन रोक्नुपर्ने र अतिक्रमित जग्गा वन क्षेत्रमा फर्काउनुपर्ने उनीहरूको माग छ।