सुर्खेत : सामान्यतया भैंसी दूध उत्पादनका लागि पालिन्छ । भैंसीको दूधबाटै मनग्य आम्दानी गर्ने किसानको संख्या पनि धेरै छ । तर, सुर्खेतका केही किसान भने भैंसीको गोबर बेचेरै मालामाल बनेका छन् । अर्थात् यहाँका किसानले भैंसीको गोबर बेचेर मनग्य आम्दानी गरिरहेका हुन् ।
सुर्खेतको भेरीगंगा नगरपालिका–११ चिप्लेका किसान टोपेन्द्र रानासँग हाल ३१ वटा भैंसी छन् । जसमा ११ वटा दुहुना छन् । दूधबाट मासिक १ लाख रुपैयाँ आम्दानी हुन्छ । तर, टोपेन्द्रले दूध मात्र होइन, भैंसीको गोबर बेचेर लोभलाग्दो आम्दानी गरिरहेका छन् । गोबरबाटसमेत मनग्य आम्दानी हुन थालेपछि उनले भैंसीपालन व्यवसायलाई थप विस्तार गर्ने योजना बनाएका छन् ।
टोपेन्द्र भन्छन्, ‘भैंसीबाट त मालामाल नै भइयो । दूधसँगै गोबर पनि बिक्री हुन थाल्यो । अचेल दूध मात्र होइन, भैंसीको गोबर किन्न आउनेको संख्या पनि उत्तिकै छ ।’ आफूले पालेको भैंसीबाट वर्षमा ४० ट्र्याक्टरभन्दा बढी गोबर उत्पादन हुने गरेको उनले सुनाए । उनका अनुसार एक ट्र्याक्टर गोबर ७ हजार रुपैयाँमा बिक्री हुन्छ । ‘यो वर्ष मैले १० ट्र्याक्टर गोबर बेचिसकेँ, त्यसबाट ७० हजार रुपैयाँ आम्दानी भयो । गोबरको माग धेरै छ, तर हामीले आफ्नै खेतबारीमा प्रयोग गरेर बचेको गोबर मात्र बिक्री गर्छौं’, उनले भने ।
रोजगारीका लागि तीन वर्षसम्म कुबेत बसेका टोपेन्द्रले गाउँ फर्किएर भैंसीपालन थालेका हुन् । ‘कमाउनका लागि विदेश नै जानुपर्दो रहेनछ’ टोपेन्द्र भन्छन्, ‘गाउँमै बसेर गोबरबाट नगद कमाउन थालेको छु । घाँस र दूधबाट पनि राम्रै आम्दानी भइरहेको छ । अब केका लागि विदेश जानु ?’
उनले यसबाट भएको आम्दानीले गाउँमै थप जग्गा र गरगहना जोडेका छन् । केही आम्दानी भैंसीपालनमै लगानी गरेका छन् । पछिल्लो समय चिप्ले गाउँका प्रायः किसानले भैंसी पालेका छन् । प्रत्येक किसानसँग कम्तीमा पाँचदेखि बढीमा ३१ वटासम्म भैंसी छन् । भैंसी पाल्ने गाउँका रूपमा चिनिने यो गाउँले दूधमात्र होइन, अहिले गोबर पनि निर्यात गरिरहेको छ । स्थानीयका अनुसार यो गाउँमा वर्षमा दुई सय ट्र्याक्टरभन्दा बढी गोबर मल उत्पादन हुन्छ । मुख्य गरी यहाँ उत्पादन भएको गोबर मल छिमेकी गाउँका किसान, व्यावसायिक तरकारी खेती गर्नेहरू र कृषि विषय पढाउने क्याम्पस तथा विद्यालयले खरिद गर्छन्् । स्याउला र घाँसपात नमिलाइएको शुद्ध गोबर मात्र भएकाले जिल्लाभित्र र जिल्लाबाहिर समेत यहाँका गोबर निर्यात हुने गरेको हो । यहाँका किसानले पछिल्लो समय गोबर निर्यात गरेर गाउँमा मोहर भित्र्याउन थालेका हुन् ।
चिप्ले गाउँकै किसान राधिका बुढाथोकीसँग हाल पाँचवटा भैंसी छन् । उनले दैनिक १० लिटर दूध बिक्री गर्दै आएकी छन् । उनी भन्छिन्, ‘भैंसीपालनबाट दोहोरो–तेहोरो फाइदा छ । दूधसँगै गोबर पनि बिक्री हुन्छ । गोबर बेचेरै हामीले नगद कमाएका छौं, गोबरको मलले गर्दा हाम्रो खेती पनि पहिलेको भन्दा फस्टाउन थालेको छ ।’ दूध र गोबर बेचेरै भएको आम्दानीबाट उनले छोराछोरीको पढाइ खर्च टारेकी छन् । भैंसीपालनमा सघाउने मान्छे राखेर रोजगारी पनि दिएकी छन् ।
यस्तै सुर्खेतकै लेकबेंसी नगरपालिका–१० साटाफाँटका किसानले पनि गोबर बेचेर आम्दानी गरिरहेका छन् । स्थानीय अगुवा किसान हुमप्रसाद लामिछाने भन्छन्, ‘भैंसी पाल्न थालेपछि गाउँमा आम्दानीको स्रोत बढ्यो । यहाँका किसानले दूध र गोबर बेचेर थुप्रै आम्दानी गरिरहेका छन् ।’ गाईभैंसी नपालेका किसानले खेतीमा मलका रूपमा प्रयोग गर्न आफूहरूबाट गोबर किन्ने गरेको उनले सुनाए । उनका अनुसार यहाँ उत्पादन भएको गोबर छिमेकी गाउँ र कर्णालीको राजधानी वीरेन्द्रनगरका किसानले समेत खरिद गर्छन्् । गोबरबाटसमेत आम्दानी हुन थालेपछि गाउँका अन्य किसानहरू पनि विस्तारै भैंसीपालनतर्फ आकर्षित हुन थालेको उनको भनाइ छ ।
उनका अनुसार गोबर मलको प्रयोग गर्न थालेपछि किसानको उत्पादनमा पनि वृद्धि भइरहेको छ ।
गोबर मल वातावरणमैत्री
धेरै उत्पादन हुने लोभमा अहिले पनि अधिकांश किसानले रासायनिक मलको प्रयोग गर्छन्् । रासायनिक मल र विषादीका कारण माटोको उत्पादन क्षमता घट्ने र वातावरणमा समेत क्षति पुग्ने कृषि प्राविधिक बताउँछन् । तर, गोबर मल वातावरणमैत्री भएकाले यसको माग बढेको कृषि प्राविधिको भनाइ छ । कृषि प्राविधिक हस्त बिक भन्छन्, ‘गोबरले माटोको उर्वरा शक्ति बढाउँछ, वातावरणलाई पनि कुनै हानी गर्दैन । माटोलाई उब्जाउ बनाउने भएकाले गोबर मलको माग बढ्दो छ । अर्कोतर्फ गाईभैंसीको पिसावले खेतीमा अर्गानिक विषादी र सिँचाइको समेत काम गर्दछ ।’
रासायनिक मल र विषादीका कारण माटो बिग्रँदै गएको उनको भनाइ छ । माटो बिग्रेका कारण उत्पादनमा कमी आएको उनले बताए । तर वातावरणमा नोक्सान नगर्ने र उत्पादनमा वृद्धि हुने भएकाले गोबर मल वातावरणमैत्री भएको उनको भनाइ छ । उनी भन्छन्, ‘गोबर मलको प्रयोग बढ्नु भनेको वातावरण संरक्षणमा पनि टेवा पुग्नु हो । गोबर मलको प्रयोगले रासायनिक मलको प्रयोगलाई समेत घटाएको छ । यसले गोबर बेच्ने किसानलाई त आम्दानी भएकै छ, खेती गर्ने किसानलाई पनि मलको अभाव टरेको छ ।’ उनका अनुसार पछिल्लो समय किसानले गोबर मलको प्रयोग बढाएका छन् ।
अनि पाल्न थाले किसानले भैंसी...
सुर्खेतमा पछिल्लो समय किसान व्यावसायिक भैंसी पालनतर्फ आकर्षित भएका छन् । कुनै बेला जीविकोपार्जनका लागि मात्र भैंसी पाल्दै आएका किसान अहिले व्यावसायिक बन्न थालेका हुन् । कृषि क्षेत्र विकास कार्यक्रमले आर्थिक तथा प्राविधिक सहयोग गर्न थालेपछि आफूहरूले व्यावसायिक रूपमा भैंसी पाल्न थालेको किसानको भनाइ छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित यो कार्यक्रमअन्तर्गत किसान र सरकारको आधा–आधा लगानी हुन्छ ।
चिप्ले गाउँकै किसान भूमिका राना भन्छिन्, ‘कुल लागतको आधा लगानी सरकारले गर्ने भएकाले पनि व्यवसायिक रूपमा भैंसीपालन गर्न सहज भयो । गाउँका सबैले अचेल व्यावसायिक रूपमै भैंसी पाल्न थालेका छन् ।’ कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतका सञ्चार अधिकृत रत्नबहादुर बुढाले किसानलाई व्यावसायिक बनाउन सहयोग गरिएको बताए । उनका अनुसार किसानलाई भकारो निर्माण, दूध बोक्ने सामान र घाँस काट्ने मेसिन, औषधि, प्राविधिक तालिम, नश्ल सुधार तथा बिमा लगायतका काममा सहयोग गरिन्छ ।
कार्यक्रममार्फत सहयोग पाउन थालेपछि विगतमा गुजराका लागि मात्र एक/दुइटा भैंसी पाल्दै आएका किसानले हिजोआज व्यवसायिक रूपमा पाल्न थालेका हुन् । किसानहरू हाल भैंसीपालन कृषक समूह नै गठन गरी संगठित भएका छन् । कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतका प्रमुख वासुदेव काफ्लेले व्यावसायिक भैंसी पालनबाट किसानहरू आत्मनिर्भर बनेको बताए ।
उनले भने, ‘व्यावसायिक भैंसीपालनबाट दूध मात्र होइन, गोबर मल पनि पर्याप्त उत्पादन भइरहेको छ । किसानले गोबर मल बेचेर पनि आम्दानी गरिरहेका छन् । गोबर उपलब्ध हुन थालेपछि रासायनिक मलको प्रयोग घट्न थालेको छ । यसले अर्गानिक खेतीमा प्रोत्साहन भइरहेको छ ।’