विभिन्न रोग र बिरामीको उपचारमा होमियोप्याथी चिकित्साको प्रभावकारितालाई प्रष्ट्याउँदै पुस्तक लेखिएको छ।
सरकारी सेवानिवृत्त अधिकांश व्यक्ति घुमफिर र घरायसी काममा व्यस्त हुन्छन्, रमाउँछन्। तर, डा. ललितकुमार मिश्र अपवादमा पर्छन्। सेवा निवृत्तपछि पनि सेवा (उपचार) र प्रकाशन (लेखरचना) मा सक्रिय छन्। ज्येष्ठ नागरिक भइसक्दा पनि उनमा ऊर्जा कायमै छ।
७५ वर्षीय मिश्र वरिष्ठ होमियोप्याथिक कन्सल्ट्यान्ट हुन्। झन्डै चार दशकभन्दा लामो समय बिरामीको सेवामा संलग्नको अनुभव छ उनमा। आफूले जानेबुझेका विषयमा लेख प्रकाशन गरी जनमानसमा पुर्याउन तल्लिन छन् उनी। उनैद्वारा लिखित होमियोप्याथिक चिकित्सासँग सम्बन्धित लेखरचनाको सँगालो हो, ‘रोग होइन, रोगीको उपचार’। विभिन्न राष्ट्रिय दैनिक र अनलाइन सञ्चारमाध्यममा पूर्वप्रकाशित लेखरचनाको एकीकृत संग्रहका रूपमा पुस्तक सार्वजनिक भएको छ, दोस्रो कृतिको रूपमा।
विश्वमा विभिन्न उपचार पद्धति प्रयोगमा छन्। तीमध्ये एक हो, होमियोप्याथी चिकित्सा। अठारौं शताब्दीको उत्तरार्धमा होमियोप्याथी चिकित्साको जन्म भएको मानिन्छ। यसको संस्थापक जर्मन चिकित्सक स्यामुएल ह्यानेमन हुन्। यस उपचार पद्धतिमा पहिले नियमानुसार रोगको पहिचान गर्ने र त्यसपछि प्राप्त नतिजाअनुसार औषधि सिफारिस गरिन्छ। सन् १७९६ मा हेनिमेनद्वारा प्रतिपादित होमियाप्याथी चिकित्सा अहिले विश्वका अधिकांश मुलुकमा फैलिएको छ। जर्मनबाट सुरु भएको यो उपचार पद्धति नेपालमा राणाकालमा प्रयोगमा आइसकेको थियो।
यद्यपि, सरकारी तवरबाट भने २०१० सालमा पशुपति होमियोप्याथिक चिकित्सालयबाट उपचार सुरु भएको हो। यसै अस्पतालमा २०३८ सालमा करार सेवाबाट उपचार सुरु गरेका हुन्, मिश्र। उपचार सेवामा चार दशकको लामो अनुभवले पनि लेखलाई सशक्त पार्न सघाएको छ। उनका अनुसार
होमियोप्याथिक चिकित्सा पद्धतिमा रोग
निदान गर्ने प्रक्रिया आधुनिक चिकित्सा प्रणालीभन्दा अलि फरक छ। रोगको लक्षणमात्र होइन, सम्पूर्ण शारीरिक परीक्षण पनि गरिन्छ। निदानको प्रक्रियामा बिरामीलाई स्वास्थ्यसँग सम्बन्धित प्रश्नहरू सोधिन्छ। बिरामीको शारीरिक, मानसिक, भावनात्मक अवस्थाको जानकारी लिइन्छ। जसको मद्दतले चिकित्सकले रोगको प्रकार र कारण पत्ता लगाउँछन्। र, उपचार सुरु गर्छन्।
विशेषगरी अस्वस्थ जीवनशैलीले गर्दा निम्तने समस्या, एलर्जी, डेंगु ज्वरो, मिर्गौलाको पत्थरी, साइनसाइटिस, मधुमेह, प्रतिरक्षा विकारबाट पीडितहरूको होमियोप्याथी उपचार पद्धतिमा आकर्षण रहेको पुस्तकमा छ। भारतीय चर्चित गायक सोनु निगमले आफ्नो आवाजलाई आवश्यक गहिराइदिन होमियोप्याथी औषधिको प्रयोग गरेको अनुभव पुस्तकमा उद्धृत गरिएको छ। पुस्तकमा समाविष्ट ५१ वटै लेख रोग र उपचारकै सेरोफेरोमै केन्द्रित छन्।
‘होमियोप्याथी : जन्मदेखि अहिलेसम्म’ शीर्षकमा प्रकाशित लेखको अनुच्छेदमा एक रिपोर्टका अनुसार विश्वमा लगभग १५ प्रतिशतभन्दा बढी मानिस होमियोप्याथी चिकित्सा पद्धतिमा आफ्नो रोगको उपचार हुनेमा विश्वास गर्छन् भनिएको छ। त्यो रिपोर्ट प्रकाशन कहिले भएको हो ? विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) वा अन्य कुन संस्थाले गरेको प्रकाशन गरेको हो ? खुलाइएको छैन। सोही पृष्ठको अर्को अनुच्छेदमा विश्वमा ९० भन्दा बढी मुलुकमा होमियोप्याथी चिकित्सा प्रयोगमा रहेको उल्लेख छ। होमियोप्याथी चिकित्सा प्रयोग नै नभएका मुलुक पनि छन्। त्यहाँका जनताले कसरी उपचार हुनेमा विश्वास गरे ? प्रश्न उब्जनु अस्वाभाविक होइन।
‘साइनोसाइटिस अर्थात् पिनास’ शीर्षकमा प्रकाशित लेखको पृष्ठ १६९ मा ‘सिम्पटम्स’ शब्द प्रयोग भएको छ। नेपाली शब्द ‘लक्षणहरू’ लेख्दा नै उपयुक्त हुने देखिन्छ। नवौं लेखको शीर्षक ‘जाडोमा ब्रेनस्ट्रोक र हृदयाघात’ छ। शीर्षकमा नेपाली शब्द ‘जाडोमा मस्तिष्कघात र हृदयाघात’ उल्लेख गर्न सकिन्थ्यो। रोगलाई अंग्रेजी शब्द नै चयन गर्ने लेखकको चाहना भए ‘जाडोमा ब्रेन स्ट्रोक र हर्ट अट्याक’ शब्द उचित हुन्थ्यो। अर्थात् शीर्षक चयन गर्दा एकरूपता दिएको भए उपयुक्त हुन्थ्यो। डा. मिश्रले कतिपय लेखको अन्त्यमा औषधिहरूका नाम सिफारिससमेत गरेका छन्। तर, औषधि सेवन गर्नुअघि नजिकको विज्ञ चिकित्सकसँग परामर्श गर्न सल्लाह दिएका छन्। औषधि पसलबाट औषधि खरिद गरी आफूखुसी सेवन गर्ने आमप्रवृत्तिलाई निरुत्साहित गरेको पक्ष राम्रो छ।
‘सफ्ट ड्रिंक्समा नै लुकेको छ, डायबिटिज’ शीर्षकको लेखमार्फत नाफामुखी कम्पनीको कार्यलाई उदांगो पारिएको छ। जसका लागि अमेरिकन हार्ट एसोसिएसनको विज्ञप्तिसहित उदाहरणसमेत पेस गरिएको छ। बजारका चिसो पेयभन्दा घरमै उपलब्ध प्रकृतिप्रदत्त चिजको सेवन गर्न सुझाइएको छ।
होमियोप्याथिक चिकित्सा पद्धतिलाई प्रभावकारी रहेको भनाइ छ, लेखकको। लेखकीयमा छ, होमियो चिकित्सा पद्धतिमा रोगको होइन, रोगीको उपचार गरिन्छ। जब कि अन्य चिकित्सा पद्धतिमा केवल रोगको उपचार गर्ने गरिन्छ भन्दै होमियो चिकित्सा पद्धतिको महत्त्व र प्रभावकारिताबारे अथ्र्याएका छन्। विभिन्न रोग र बिरामीको उपचारमा होमियोप्याथी चिकित्साको प्रभावकारितालाई प्रष्ट्याउँदै पुस्तक लेखिएको छ। जसमा विभिन्न रोगका लक्षणसहित उपचार सम्बन्धमा सामान्य पाठकले पनि जानकारी पाउँछन्। पुस्तक पठनीय छ। मानिस विभिन्न रोगले आक्रान्त छ, त्यसैले सबैलाई पुस्तक चाहिन्छ।
विद्यार्थी, बिरामी, स्वास्थ्यकर्मीमात्र होइन, स्वस्थ नागरिकका लागि पनि पुस्तक लाभदायी छ। स्वस्थ जीवनका लागि मार्गदर्शक बन्नेमा विवाद छैन। यो पुस्तक विषयवस्तुका हिसाबले पनि संग्रहणीय छ। पुस्तकले जो कोहीलाई स्वस्थ रहन आफैंभित्र घोत्लिन र सच्चिनसमेत घचघच्याउँछ।
सम्पादक गोपीकृष्ण ढुंगानाले भूमिकामा लेखेका छन्, ‘भनिन्छ, ८० प्रतिशत रोगको कारण मन हो। मनले म रोगी छैन र मलाई समस्या छ वा रोगले गाँजेको छ आदि भन्नेबीच मानसिकमात्र होइन, शारीरिक रूपमै फरक परिणाम देखिन्छ। मानसिक रूपमा बलियो मान्छे क्यान्सरजस्तो भयानक रोग लागे पनि त्यसलाई जित्न सक्छ भने मानसिक रूपमा कमजोर मान्छेलाई घुँडामा घाउ लागे पनि ऊ थला परिदिन्छ।’ यी वाक्यले पनि पाठकलाई कमजोर पक्ष छोड्दा रोगबाट जोगिन सक्ने र हिम्मत जुटाए रोगबाट टाढा बस्न सकिने सन्देश दिएको छ। पुस्तक भुँडीपुराँण प्रकाशनले बजारमा ल्याएको हो ।