मोदीको शपथ ग्रहणमा सहभागी हुन आज प्रधानमन्त्री भारत जाँदै, भेटवार्ता पनि गर्ने

मोदीको शपथ ग्रहणमा सहभागी हुन आज प्रधानमन्त्री भारत जाँदै, भेटवार्ता पनि गर्ने
फाइल तस्बिर।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले बताए। ती अधिकारीले भने, ‘प्रधानमन्त्रीद्वयबीच संक्षिप्त भेटवार्ता हुनेछ।’

प्रधानमन्त्री दाहालका साथ उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन्। उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहणमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो। प्रधानमन्त्री दाहालले यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गरेका थिए। यसअघि सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए। त्यसबेला पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख समारोहमा सहभागी भएका थिए। गत बुधबार प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता भएको थियो। त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो। प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए। 

प्रत्युत्तरमा भारतका प्रधानमन्त्री मोदीले ‘प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो भने। उनको न्यानो शुभकामनाका लागि उनलाई धन्यवाद व्यक्त गरेँ। भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौं,’ भनेका  थिए। 

सात चरणमा भारतमा सम्पन्न लोकसभा निर्वाचन परिणामअनुसार नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए) २ सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले २ सय ४० सिट जितेको छ। 

एनडीएको समर्थनमा भारतीय जनता पार्टीका नेता मोदीले आइतबार अपराह्न तेस्रो कार्यकालका लागि शपथग्रहण गर्ने निश्चित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ। प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहालसँगै भारत सरकारले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.