सहरी सडकमा साइकल लेन

सहरी सडकमा साइकल लेन
फाइल तस्बिर।

साइकलको प्रयोगले वातावरणमा सघाउ पुग्दछ। वायु प्रदूषणको चपेटामा रहेका सहरहरूमा स्वच्छता आउँछ। जनस्वास्थ्यमा सुधार हुँदै जान्छ।

विकसित मुलुकहरूमा सेफ ड्राइभिङ अर्थात् सुरक्षित हँकाइलाई कडाइकासाथ नियमन गरिएको पाइन्छ। त्यहाँका सडकहरू व्यवस्थित हुने हुँदा दुर्घटनाका खबरहरू कमै मात्र सुनिन्छन्।

तर नेपालमा लापरबाहीपूर्वक सवारीसाधन हाँक्ने प्रवृत्तिले गर्दा घाइते हुने, अंगभंग हुने र कसैकसैको ज्यानसमेत जाने गरेका खबरहरू सञ्चारमाध्यमहरूबाट आइरहेका पाइन्छन्। गाडी जब ट्राफिक चोकनिर आइपुग्छ तब चालकले हत्तपत्त सिटबेल्ट लगाउने र गाडी चोक पार भइसकेपछि भने पुनः बेल्ट फुकाल्ने गरेका दृश्यहरू यात्रुहरूले थाहा पाउँदा पाउँदै पनि चालकलाई ‘यसो नगर्नुस्’ भन्न सक्दैनन्। नेपालीहरूको सोच पनि त्यस्तै छ, लापरबाहीलाई टुलुटुलु हेरिरहने। सवारीसाधन सञ्चालनमा मात्र होइन तमाम कुराहरूमा नेपालीको बानीमा सुधार आउनु जरुरी छ। सभ्य समाजको सिर्जना नहुँदासम्म देशमा खासै सुधार हुने छाँटकाँट देखिदैन।

सन् १९१० अर्थात् वि.सं. १९६७ सालतिर नेपालमा पहिलोपटक साइकल भित्र्याउने व्यक्ति शूरशमशेर राणा थिए। साइकल आविष्कारको १०० वर्ष नहुँदै सन् १९१० मा भारतमा शासन गर्ने अंग्रेज सरकारले ३५ हजार साइकल बेलायतबाट झिकाएको थियो। ती साइकलहरूमध्ये केही साइकलहरू नेपालमा भित्रिएको थियो। राणाका छोरा–नातिहरूको सोख पूरा गर्ने ती साइकल भिœयाइएको अनुमान छ। शूरशमशेर नै नेपालको सबैभन्दा पहिले साइकल चढ्ने व्यक्ति थिए। 

हाम्रो समाजमा हालका दिनहरूमा कसैकसैको सोचाइ एउटा गाडी हुनुपर्ने, नभए कम्तीमा एउटा बाइकसम्म  हुनैपर्ने मान्यता छ। किस्ताबन्दीमा पनि गाडीहरू पाइने हुँदा जेथा धितो राखेर गाडी किन्ने र गाडीमा चढेर सान देखाउने चलन पनि छ। किस्ता र ब्याज तिर्न नसकेपछि केही ख्याति कमाएका कलाकारहरू निराश हुने गरेका कैयन घटनाहरू सुनिँदै आएको पनि छ। अहिले सडक पुगेका दुर्गम ठाउँहरूमा समेत मोटरसाइकलहरू चल्दै आएका छन्। कसैकसैले गाडी किनेर निजी प्रयोगमा चलाउने गरेको पनि पाइन्छ।

लेखक स्वयं २०४० सालमा पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमा साइकल सिक्दै र कुदाउँदै गरेको र पुल्चोककै दमकल ग्यारेजनिर एउटा गाडीले झन्डै हानेको थियो। त्यो डरलाग्दो अवस्था यो लेखकले कहिल्यै पनि बिर्सिदैन। साथै हामी पाटनढोकानिर एउटा साइकल पसलबाट दिनभरिको दुई रुपैयाँ भाडा तिरेर साइकल ल्याउने गर्दथ्यौं।

मानिसहरू व्यायामको लागि थेरापी सेन्टर र फिजिकल फिटनेस सेन्टरमा शुल्क तिरेर व्यायाम गर्छन्। तर एउटा साइकलले पर्याप्त व्यायाम हुन्छ। कतिपय साइकल पन्छाएर मोटरसाइकल वा स्कुटी किन्ने र ज्यान बिगार्ने गरेका हुन्छन्। साइकल चढ्ने यात्रुको स्वास्थ्य तन्तुरुस्त हुन्छ। साइकलको यात्राले मांसपेशी र स्नायुहरूलाई सक्रिय बनाउँछ। साथै साइकल चलाउने मानिसको पाचन क्षमता स्वचालित सवारीसाधन चलाउनेको तुलनामा ज्यादा हुन्छ। साथै खान रुच्ने गरी भोक पनि लाग्दछ, जो स्वास्थ्यका लागि सकारात्मक कुरा हो। साइकलमा यात्रा गर्न रुचाउने सञ्चारकर्मी राजिन खनाल पनि साइकल चलाउनु स्वास्थ्यका लागि त लाभदायक त छँदैछ, त्यसमाथि पर्यावरणीय शुद्धताको लागि साइकल झनै महत्वपूर्ण छ। 

हुन त नेपालमा २ लाख १० हजारसम्मका माउन्टेन बाइक साइकलहरू बिक्री वितरण हुने गरेको पाइन्छ। तर सामान्य साइकलको मूल्य भने ज्यादै न्यून छ। २०४१।०४२ सालतिर वीरगन्जमा एउटा साइकलको मूल्य दुई हजार पथ्र्याे भने अहिले कम्तीमा आठ हजार पर्ने वीरगन्जवासी भूपेन्द्र पौडेल बताउँछन्। साइकल यात्रुले आफ्नो सोखअनुसार मूल्य तिरेर साइकल किन्ने हो। हुनेखानेले महँगोमा किन्लान् र न्यून आय भएकाहरूले कम मूल्यको किन्लान् त्यो आ–आफ्नो ठाउँमा छ। आर्थिक हिसाबले स्वचालित सवारीसाधनभन्दा साइकल धेरै सस्तो छ। हावा हाल्न र पन्चर टाल्न थोरै खर्च गरे पुग्छ भने मर्मतका लागि पनि खासै खर्च लाग्दैन। बिग्रिएमा डो¥याएर घरसम्म ल्याउन पनि सजिलो छ। अन्य स्वचालित सवारीसाधन बिग्रिएमा तनाब नै भोग्नुपर्ने, भनेको समयमा मिस्त्री नपाइने र बोलाउँदा मिस्त्री समयमा नआउने हुँदा सवारीधनीहरूलाई समस्या पैदा हुने गर्दछ। 

साइकलको प्रयोगले वातावरणमा सघाउ पुग्दछ। वायु प्रदूषणको चपेटामा रहेका सहरहरूमा साइकलको प्रयोग बढ्ने हो भने वायुमा स्वच्छता आउँछ र जनस्वास्थ्यमा सुधार हुँदै जान्छ। पेट्रोलियम पदार्थ प्रयोग गरिने साधनहरूको संख्या घट्न गई पेट्रोलको लागि विदेशी मुद्रा पनि बचत हुन्छ। जुन कुरा मुलुककै लागि सकारात्मक विषय पनि हो। यसतर्फ पनि सबैको ध्यान जानु जरुरी छ।

यहाँ पुरानो भन्नाले साइकललाई भन्न खोजिएको होइन साइकल पसललाई भन्न खोजिएको हो। काठमाडौंको कमलाक्षीमा पञ्चनारायण अष्टनारायण साइकल पसल धेरै पुरानो र निकै कारोबार हुने पसल हो। पहिलेपहिले त्यस पसलमा साइकल किन्नेको संख्या धेरै देखिन्थ्यो भने आजकल साइकलप्रति आकर्षण हराउँदै गएकोले साइकलको खासै बिक्री वितरण भएको पाइँदैन। साना नानीबाबुहरूका लागि चाहिने साइकलदेखि ठूला मानिस चढ्ने साइकलहरू त्यस पसलमा पाइन्छन्। 

साइकल चलाइरहेका यात्रुहरूलाई स्वचालित वाहनहरूका चालकहरूले हेपेर धक्का दिन खोज्ने, अनावश्यक चर्को हर्न बजाउने साथै मुख छोड्ने गरेको पाइन्छ। यो अहम्कारी र असभ्य क्रियाकलाप हो भन्नु अत्युक्ति हुने छैन। अहम्कार र फूर्तिले आफैंलाई हानि गर्छ भन्ने कुरा ठूला सवारीसाधन चलाउनेले ख्याल गर्नु पर्दछ। सानो भन्दैमा कसैलाई पनि हेपेर व्यवहार गर्नु हुँदैन। यो कुरा सवारीका विषयमा मात्र नभएर सामाजिक र राष्ट्रिय परिवेशमा उत्तिकै सान्दर्भिक ठहर्छ। 

केही समयअघि वायु प्रदूषणमा काठमाडौं विश्वमा एक नम्बरको सहर भएको कुरा प्रकाशमा आएको थियो। कारण थोत्रा र सही हालतमा नभएका गाडी सञ्चालन नै थियो। अर्कातिर डढेलोले पनि वायुमण्डल प्रदूषणका लागि केही भूमिका खेलेको थियो। साइकल चढ्नाले हुने फाइदाहरूका बारेमा पनि सरकार वा स्थानीय निकायहरूले जनतालाई सुसूचित गराउनु पर्दछ। जनचेतना जगाउनु पर्दछ जसले गर्दा यात्रुहरू साइकल चढ्न प्रेरित बनून् र उनीहरूले वातावरणमा सघाउन पुर्‍याऊन्। यसतर्फ सम्बन्धित निकायहरूले आवश्यक कार्यक्रम तय गरी नीति, नियम बनाउनु जरुरी छ।

नेपालमा विदेशमा जस्तो साइकलका लागि अलग्गै लेनको व्यवस्था भएको पाइँदैन। संघीय राजधानी काठमाडौंलगायत अन्य साना सहरहरूमा समेत अलग्गै साइकल लेनको अति जरुरी छ। अलग्गै साइकल लेन भएमा साइकल यात्रुहरू सुरक्षित रहने र निर्धक्कसँग साइकलयात्रा गरी समयमै गन्तव्यमा पुग्ने अवस्था हुन्छ। त्यसैले वातावरणमैत्री सवारीसाधनको रूपमा रहेको साइकलका लागि अलग्गै साइकल लेन निर्माण गरिनु अति आवश्यक छ। साइकल लेनको व्यवस्था भएमा साइकल यात्रुहरू गाडीको जाममा पर्ने थिएनन्। साथै दुर्घटनाको जोखिम पनि कम हुने थियो।

ठूला सवारीसाधनले साइकललाई ठक्कर दिएर पटकपटक गरी धेरैजनाको ज्यान गएका समाचारहरू नआएका पनि होइनन्। ट्रिपरजस्ता मालवाहक ठूला सवारीसाधनहरूले त मोटरबाइक र स्कुटीलाई ठक्कर दिएर चालकलाई घटनास्थलमै ठहरै पारेका समाचारहरू पनि आई नै रहन्छन्। राजधानी काठमाडौंलगायत नेपालका सबै सहरहरूमा बेग्लै साइकल लेनको व्यवस्था गर्न सकेमा साइकल यात्रुहरूलाई सहज हुनेमा दुईमत छैन। ठूला सवारीसाधनहरू सँगसँगै गुडाउनुपर्दा डर पनि हुने भएकोले साइकल लेनको ज्यादै खाँचो छ। साइकल यात्रुहरू सुरक्षित पनि हुनेछन्।

सरकारले साइकल र साइकल यात्रुको संख्या बढाउन प्रोत्साहन दिनेतर्फ लाग्नु जरुरी छ। सरकारले नै साइकल व्यवसायीहरूलाई अनुदान दिएर जनतालाई सहुलियत मूल्यमा साइकल विक्री गर्ने वातावरण बनाइदिए धेरै राम्रो हुने थियो। साइकलको प्रयोग बढ्दा पेट्रोलियम पदार्थको आयातमा कमी हुने र देशको अर्थतन्त्रमा केही मात्रामा भए पनि सुधार हुनेमा कुनै शंका छैन। मोटरसाइकल र स्कुटरको तुलनामा साइकल सजिलो र सहज सवारीसाधन हो। स्वास्थ्यका लागि समेत लाभदायक मानिने साइकलको प्रयोग हराउँदै जाँदा अन्य प्रदूषण गराउने साधनहरूको संख्या बढ्न जान्छ। 

बस्नको लागि प्रयोग हुने मुडा बनाउन साइकलको पुराना टायरको आवश्यकता पर्दछ। साइकल चढ्ने प्रवृत्ति घट्दै जाँदा मुडा बनाउने उद्योग संकटमा पर्दै जाने देखिन्छ। तसर्थ मुडा उद्योगलाई सघाउ पु¥याउनका लागि पनि साइकलहरूको संख्या बढाउन जरुरी छ। त्यसै फालिने गरिएको पुराना टायरहरू सस्तो भाउमा कबाडीलाई बेच्नुभन्दा मुडा उद्योगीलाई उचित मूल्यमा बेच्न सकेमा थोरै भए पनि आम्दानी हुन्छ र पकेट खर्च चल्न सक्छ।

लेखक २०४० देखि २०५६ सालसम्म वीरगन्जस्थित सरकारी चिनी कारखानामा कार्यरत रहँदा घण्टाघरदेखि कारखानासम्म मजदुर र कर्मचारीहरू चढेका साइकलका लाइनहरू देखिन्थे। बडो आकर्षक लाग्ने त्यो दृश्य हालका दिनहरूमा देखिँदैनन्। न कारखाना सञ्चालनमा छ न त कारखानामा कर्मचारी मजदुर नै काम गर्न आउँछन्। किनकि २०४६ सालपछि सरकारी कारखानाहरू धराशायी हुँदै ध्वस्त भए र कैयन जनता बेरोजगार बने। उखु कृषकहरूसमेत अप्रत्यक्ष रूपमा बेरोजगारी बन्न पुगे र उनीहरूको रोजीरोटी पनि गुम्यो। वीरगन्जमा पहिलेपहिले साइकलको दोस्रो रूप रिक्सा पनि निकै चल्ने गरेका थिए। साथै टाँगाहरू पनि सञ्चालनमा थिए।

हाल अटोरिक्सा अर्थात् टेम्पोको संख्या बढ्दै गएको पाइन्छ। स्वचालित सवारी चलाउन सजिलो पनि हुने भएकोले वीरगन्जलगायतका तराईका सहर बजारहरूमा टाँगा र रिक्साको चलन हराउँदै गएको पाइन्छ। वीरगन्ज बजार क्षेत्रमा मेनरोडमा टाँगाहरू चलाउन रोक लगाइएको र निश्चित बाटो मात्र तोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.