क्रान्ति होइन, त्याग

क्रान्ति होइन, त्याग

यो देश तपाईं नभए बन्ला नबन्ला, तर तपाईंहरू रहुन्जेल बन्ने कुनै संकेत देखिएन।

नोट : यो विचार उमेर पाकेका आदरणीय राजनेताहरूमा सप्रेम समर्पित छ।

मेरो बुझाइको त्याग

शास्त्र अध्ययनअनुसार त्याग भनेको निर्जीव, जीवित, भाव, इच्छा वा कामनासँग बलिदान, परित्याग, राजीनामा, दान, उदारता, निकास, प्रस्थान, भेद, विच्छेदन, स्वतन्त्रता, मुक्ति आदि कर्ममार्फत आफ्नो अधिकार, स्वामित्व र सम्बन्धन अन्त्य गर्नु हो भन्ने मेरो बुझाइ छ। नेपाली बृहत् शब्दकोशले पनि त्याग शब्दलाई यसरी अथ्र्याएको छ– ‘कुनै व्यक्ति, वस्तु, धारणा आदिबाट आफ्नो अधिकार, स्वत्व, माया, स्नेह वा सम्बन्धविच्छेद गर्ने काम; उत्सर्ग; छोड्ने काम; वैराग्य; मोचन।’

त्याग र सन्न्यासबीच के फरक छ ?

महाभारतमा अर्जुनको यस्तै प्रश्नमा श्रीकृष्ण भन्छन् कि, ‘इच्छाद्वारा प्रेरित कर्म त्याग्नु सन्न्यास हो, र सबै कर्मको फल त्याग्नु त्याग हो।’

त्यागै किन ?

त्यागभाव नभएको मानव चोखो हुँदैन। त्यागी मात्रै विश्वास र नेतृत्वको असली उम्मेदवार हो। त्यागसोच बिनाको मानवमा कञ्जुसी, लोभ, धुत्र्याइँ, कायरता, काँतरता, कमजोरी र र्‍यालेपन आदि द्वेषहरू हुन्छन््। जसले गर्दा उनीहरूमा नैतिकबल, सेवाभाव र निस्वार्थपन अति कम हुन्छ। त्यस्ताले सत्य, नैतिकता, मानवता, इमानदारी एवं मूल्य–मान्यताहरूलाई स्वहितका लागि सम्झौता गर्न सक्छन्। त्यागभाव नभएकाहरू अवसरवादी, खुरापाती र भित्रीरूपमा दरिद्र र असुरक्षित हुन्छन्। हरदम हरेकको प्रयोग, शक्तिका लागि जस्तोसुकै सम्झौता र भ्रमहरूको खेती त्यागभावहीनहरूको व्यापार हो। त्यागभावहीनले छोड्न सक्दैनन् र कब्जाका लागि जुनसुकै पराकाष्ठासम्म जान सक्छन्।

नेपाल र त्याग

नेपाल प्रधानमन्त्री पाउँदासमेत सगर्व त्याग गरेका गणेशमान सिंहजस्ता त्यागी नेताको देश हो।  त्यागी सहिदहरू, जो फाँसीमा झुन्डिन, गोली थाप्न तयार भए तर सम्झौता गरेनन्, तिनकै मूल्य र शत्मा यो देश अडिएको छ।

नेपाल हाल राजनीतिक अशुद्धतामा फसेको देखिन्छ। राजनीतिमा त्यही व्यक्ति र उही प्रवृत्ति हाबी भएको हेर्दा–हेर्दा वाक्क लागिसकेको छ। वाक्क पनि यति हदको छ कि– वितृष्णा नै लाग्ने, निराशा नै फैलाउने। यी मुहारहरू, प्रवृत्तिहरू फेरिने कहिले ? नेपालमा राजनीतिको पट्यारलाग्दो याम धेरै लामो भयो। न केही चाख्लाग्दो छ, न केही नवीन, न केही महत्त्वपूर्ण। नेताले जागिर जस्तै खाइरहेका छन् र लिप्त छन्। खोइ त्याग ? विगत केही दशकमा कुन–कुन नेताले सन्न्यास लिए ?

यमराज ठिंग अगाडि उभिँदा– न सरकार, न संसद्, न सचिवालय, एक्लै हो व्यहोर्ने । काललाई कसरी निर्भय सामना गर्ने, के छ तयारी ?

खेलकुद आफूलाई अब्बल प्रमाणित गरिरहनुपर्ने विधा हो, चुनावजस्तै। तर पनि खेलाडीले उचित समयमा सन्न्यास लिन्छन्। राष्ट्रसेवकको पनि सेवानिवृत्ति हुन्छ। गुरु, न्यायाधीश, सेना, प्रहरी, आखिर सबैको सेवानिवृत्ति हुन्छ। नेताहरूको भने सन्न्यास वा सेवानिवृत्ति किन हुँदैन ? किनभने उनीहरूमा त्यागभाव छैन। उनीहरू देश बनाउन होइन, आफूलाई बनाउन तल्लीन छन्। देशको ठेक्का किन सधैं लिइरहनु पर्‍यो ? घरिघरि उमेरको हद बढाएर पदीय कार्यकाल वृद्धि गरिरहन्छन्। हरे, यसभन्दा ठूलो लिल्चडपन के हुन सक्छ ?

तर त्याग उमेर पुगेका नेताले मात्र होइन, केही गर्न–बोल्न नसकेका, रबर स्टाम्पसरह औकात भएका, स्वविचारविहीन, साहस नभएका, पछौटे र ‘पाकाहरू कहिले मर्लान् र शक्ति अपुतालीमा आइपर्ला’ भनी कुरिबसेका उमेरदारहरूले पनि सन्न्यास लिनु अपरिहार्य छ।

कसैले केही ओगट्दा आफ्नो नकामीले क्षति मात्र गरिरहेको हुँदैन, नयाँ योग्यको अवसरसमेत तुहिरहेको हुन्छ।

त्याग जरुरी सबैमा

त्याग नेताले मात्र होइन, हरेक समूह समुदायले गर्नु जरुरी छ। हो, नेताले पदलिप्सा त्याग गर्न जरुरी छ। कर्मचारीले भ्रष्टाचार त्याग्नु जरुरी छ। प्रहरीले चाकरी, शिक्षकले दलगिरी त्याग्नुपर्छ। सेनाले व्यवसाय, व्यापारीले उपभोक्तासँगको अति मुनाफा, वकिलले न्यायाधीशसँगको दौत्य सम्बन्ध, जनताले नेता–विशेषसँगको अन्धभक्तियुक्त प्रेम त्याग गर्नु जरुरी छ। पत्रकारले लोकप्रियताको लोभ, डाक्टरले क्लिनिक–क्लिनिक चहार्ने प्रवृत्ति, इन्जिनियरले गलत हरहिसाब, ठेकेदारले शक्तिकेन्द्रमा चढाउने नैवेद्य, अनि सबै नेपालीले भद्दा आचरणमा सुहाउँदो छु भन्ने भ्रम र सोच–विचारसमेत अरूसँग सापटी माग्ने दरिद्रता त्याग्नु अत्यावश्यक छ।

क्रान्तिका थकाइ

कृपया अब क्रान्ति नदिनुस्, शान्ति दिनुस्। धेरै थाकियो क्रान्तिले। देखियो पनि। ‘क्रान्ति’लाई क्रान्ति एक्लै मूल्यांकन गर्नु हुँदैन। यसलाई लागत र गुमेका सम्भाव्य अवसरहरू र हात परेका उपलब्धिहरूको उपज, महत्त्व र प्रासंगिकताका सन्दर्भमा पनि परीक्षण गर्नुपर्छ। र मूल्यांकन तटस्थताले गर्नुपर्छ।

यद्यपि अब भूतकालमा अल्झेर बसेर हुँदैन। विश्लेषण–पक्षाघातबाट पर अब शान्तिको कुरा गरौं। सबै उग्र भएको बेला, त्यागभाव दुर्लभ भएको घडीमा, शान्तिको अभियान जरुरी छ। क्रान्तिको थकाइ शान्तिको कायाकल्पमा मेटौं– आफूलाई, समाजलाई, राष्ट्रलाई र सके विश्वलाई पुनः निर्माण गरौं। पुनर्जीवित पारौं। पुनर्जागरण गरौं।

तपाईंहरूले कृपया देश बचाइदिइरहनु पर्दैन

हाम्रा धेरै नेतालाई के भ्रम छ भने, यो देश उहाँहरू बिना बन्न त के टिक्नै सक्दैन। पदमा बसिरहने उहाँहरूको बहाना के छ भने– कसैले महाधिवेशनमा जितेर देखाओस्, कसैले निर्वाचनमा जितेर देखाओस, कसैले विद्रोह गरेर सफल भएर देखाओस्। यस्तो लाग्छ कि किनभने राम्रा उत्तराधिकारी छैनन्, उहाँहरू पदमा बसिदिनु परेको छ। देश बनाउनेबीच हिँडिरहनु परेको छ।

नेपाल हाल राजनीतिक अशुद्घतामा फसेको देखिन्छ। राजनीतिमा त्यही व्यक्ति र उही प्रवृत्तिा हाबी भएको हेर्दा–हेर्दा वाक्क लागिसकेको छ। वाक्क पनि यति हदको छ कि– वितृष्णा नै लाग्ने, निराशा नै फैलाउने। यी मुहारहरू, प्रवृत्तिाहरू फेरिने कहिले ? 

तर माथि मैले भनेजस्तै सत्तालिप्सामा त्यागभाव शून्य भएर उहाँहरू अपवित्र हुनु भएको छ। सत्ताको खेलमा उहाँहरूले न आफ्नो उत्तराधिकारी घोषणा गर्न सक्नुभएको छ, न अर्को पुस्तालाइै राम्ररी ‘ग्रुम’ गर्न सक्नुभएको छ। त्यस्तैगरी उत्तराधिकारीहरू पनि उही आशीर्वादमा अगाडि बढ्ने लोभ र लालसीमा हुकुमप्रमांगी कुरेर बसेका छन्। उनीहरूमा पनि सत्यका लागि लड्ने, सत्यका लागि बोल्ने र सत्यका लागि त्याग गर्न सक्ने क्षमता छैन। तर यो देश तपाईं नभए बन्ला नबन्ला, तर तपाईंहरू रहुन्जेल बन्ने कुनै संकेत देखिएन।

त्यागपुरी

काठमाडौं नजिकै, नुवाकोट वा सिन्धुलीतिर एउटा राम्रो आश्रम बनाउनु पर्‍यो–त्यागपुरी। त्यागआश्रम। भन्नु पर्दा, नेताहरूको सेवानिवृत्तिका लागि सेवासुविधा र ध्यान व्यवस्थासहितको त्याग आश्रम। देशको ठूलो सेवा गरेकाहरूका लागि कदरस्वरूप निःशुल्क आश्रम। देशको सेवा गर्दा भएको संक्रमण, थकान, अपवित्रता सफा गर्ने स्थल। र विश्व राजनेताहरूका लागिसमेत तीर्थधाम। बरु माक्र्स, लेनिन, माओ आदि सबैका प्रतिमासहितको राजनीतिक तीर्थआश्रम।

अब महान् नेताहरूलाई राजनीतिक–पर्यटनतिर लगाएर नयाँले देश चलाउने कि ? यो मबिना देश चल्दैन, मलाई प्रतिस्थापन गर्न काविल अर्को छैन, त्यसैले म टिकिरहनुपरेको छ भन्ने दुष्ट–चक्र तोड्न बलपूर्वक सेवानिवृत्ति निर्विकल्प देखिन्छ।

भविष्य के होला ?

जे सुकै होला। वर्तमान कस्तो छ ? यसभन्दा नराम्रो पक्कै नहोला। भृकुटीमण्डपको रेलगाडी जसरी चलाए पनि सगरमाथा पुग्दैन। अब बेला क्रमभंगताको छ, नवीनताको छ। नयाँ गाडीसहितको चालक चाहियो। पक्कै भेटिएला। शान्ति र त्यागमा उम्रेका र नैतिक साहस भएकाहरू धेरै छन्। ओगटेर बसिदिएकाहरू जाऊन्, नयाँ आफैं आउँछन्। पात झरेपछि के होला ? नयाँ पालुवा पक्कै पलाउला।

के देश बन्धकमा छ ?

अर्को देशको दुस्मनको बन्धकमात्र बन्धकी होइन, देश व्यक्ति, विचार, प्रगतिहीनता, प्रक्रिया, प्रणाली, नियत, आचरण आदिको पनि बन्धक बन्न सक्छ। हामीले नेताहरूले प्रायः भूराजनीतिक जालमा देश फसेको छ भनेको सुनेका हुन्छौं। तर, त्यो धेरै हदसम्म एउटा बहाना मात्र हो भन्ने बुझ्छु म।

अन्तर्राष्ट्रिय समुदायले पनि भेटेको मान्छेको नियत–हैसियत हेर्छ। त्यागी नेपालीहरूले विश्व सम्मान नपाएका कहाँ हुन् र ? 

एकपटक सम्झिऔं त। देश ‘भिजन’ विहीनता, अकर्मण्यता, अनैतिकताको बन्धक छ। देश ‘जेरियाट्रिक’ सोच र अवस्थाको बन्धक छ। देश सेवानिवृत्त हुनुपर्नेहरूको सेवाको बन्धक छ।

समाधि कि मृत्यु ?

मृत्यु निश्चित छ। प्राकृतिक हिसाबले उमेरवाला पहिला हुनेछन्, भवितव्यका हिसाबले जो कोही पनि। मरेर गएकाहरूलाई एकपटक फर्केर हेरौं त। कति सकी–नसकी दम सास्ती खेपी केको दौडधुप हो यस्तो ? यो कस्तो भारी बोक्ने रहर हो यति धेर, यतिविधि ? जिन्दगीभर देशको जिम्मेवारीको स्वघोषित कुल्ली नै बनिरहने ? विचरा।

उसो भए के छ मृत्युको तयारी ? करिब भिसा लागिसकेको अब प्रस्थान पर्खेर बसेकाको खोइ आध्यात्मिक पोको–पन्तरो ? 

यहाँको केही लैजान पाइँदैन भन्ने थाहा हुदाहुँदै पनि खोइ अविनाशको जोहो गरेको ? सामथ्र्य र ब्रह्माण्डीय ऊर्जा भए मृत्युलाई निमन्त्रणा दिएर समाधि लिनेतिर लाग्नु पर्‍यो। नभए भैरव यातना वा त्यस्तैको अभ्यासमा लाग्नु पर्‍यो। यमराज ठिंग अगाडि उभिँदा– न सरकार, न संसद्, न सचिवालय, एक्लै हो व्यहोर्ने। काललाई कसरी निर्भय सामना गर्ने, के छ तयारी ?

उमेर पुग्यो ? कृपया, त्यागिदिनोस्

​​​​​​​छोडिदिनुस्। अत्ति गर्नुभयो। धेरै गिजोल्नुभयो, गिजोलिनुभयो। अब पवित्रतातिर लाग्नुस्। त्यागिदिनुस्। आध्यात्मिक यात्रामा लाग्नुस्। आध्यात्मिकतामा पनि शक्ति छ, बरु उतै सत्ता गठन गर्ने कोसिस गर्नुस्। शुद्ध शक्ति नेतृत्व गर्नुस्। नेपालसँगको तपाईंहरूको मोह, दायित्व, जिम्मेवारी, स्वामित्व, अझ सक्नुहुन्छ भने अहिलेसम्म गरेको प्रेमसमेत त्यागिदिनुहोस्। तपाईं नेपालसँग मुक्त हुनुस्, नेपाललाई पनि तपाईंसँगै मुक्त गर्नुस्। तपाईंको त्याग अब अनिवार्य बनिसक्यो।

बुद्ध पनि त्यागले नै चम्किए, जानकी, भृकुटी पनि त्यागले नै विभूति बने। त्यागभाव नभएका शक्तिशालीहरू यत्तिकै बिलाएर गए। विश्वकी आमा चोमोलोङमा तिमीलाई संसारकै अग्लो बनाइदिन सब त्यागेर त्यो सिरानमा एक्लै बसिदिएकी छन्। तिनी पनि त्यागले नै प्रख्यात छिन्। अब तपाईं पनि त्यागी बन्नुस्।

तपाईंको त्याग कीर्ति बनेर युगौंयुग चम्किरहनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.