गर्मीका कारण विद्यार्थीहरु बेहोस
नुवाकोट : अत्यधिक गर्मीका कारण नुवाकोटका विद्यालयहरूमा विद्यार्थी बिरामी हुन थालेका छन्। दुई सातादेखि नुवाकोटमा अत्यधिक गर्मी बढेको छ।
केही दिनमा समेत पानी नपरे विद्यालय बन्द गर्ने तयारीमा विद्यालयहरू पुगेका छन्। दिउँसोको समयमा तातो हावा बहने र जमिनसमेत तातो हुँदा अध्ययन अध्यापनमा असहज भइरहेको चन्द्रज्योती माविका प्रधानाध्यापक वासुदेव पनेरु बताउँछन्। यही तापक्रम निरन्तर रहिरहे केही दिनमै विदा गर्नु पर्ने अवस्था रहेको उनले बताए। नुवाकोटमा १० दिनदेखि पानी परेको छैन।
पानी नपरी गर्मी बढेपछि विद्यार्थीहरू बेहोससमेत भएका छन्। गर्मीका कारण विदुर नगरपालिका ५ देवीघाटमा रहेको शहीद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयका पाँच जना विद्यार्थी गर्मीका कारण बेहोस भएका हुन्।
धेरै गर्मी भएका कारण दिउँसो विद्यालयमा अध्ययन गरिरहेका बेला ३ जना छात्रा र २ जना छात्रसहित ५ जना बेहोस भएको जनाइएको छ। अत्यधिक गर्मीको कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि विद्यालयले अभिभावकसँग विदा दिने वा बिहानको समयमा पढाउने भन्ने विकल्पमा छलफल गर्ने तयारी गरिरहेको छ।
केही दिनमा पानी नपरे तीन गतेदेखि विद्यालय बन्द गरिने अध्यक्ष मानबहादुर डंगोलको भनाई छ। उनका अनुसार गर्मीले बेहोस भएका विद्यार्थीहरूलाई चिसो पानी पिउन दिएपछि विस्तारै होसमा आएका थिए।
धेरै गर्मीका कारण विद्यार्थीहरू बेहोस भएका हुन्। उनीहरू पौने एक घण्टा बेहोस भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ। पछिल्लो दुई सातादेखि धेरै गर्मी बढेकोले विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या हुने गरेको छ। पानी नपरे पनि मकैलगायतका खाद्यान्न तथा तरकारी वालीसमेत सुक्न थालेका छन्।