एउटै वडामा ५ वर्षयता ६ जना मृगौलाका बिरामी
गोरखा : धार्चे गाउँपालिका ७ लापुकी अनुजा गुरुङ ११ वर्षको कलिलो उमेरमै मृगौला रोगबाट पीडित छिन्। सानो छँदै बुवाको मृत्युको शोक ब्यहोरेकी उनी अहिले आफैं अस्पतालमा भर्ना भई उपचार गराइरहेकी छिन्। आर्थिक अवस्था ज्यादै न्यून भएकी उनी अहिले समयमा उपचार नपाए ज्यानै जाने रोगबाट ग्रसित बनेकी छन्। उपचारखर्च जुटाइदिने बुवाको अभावमै अनुजा पाटन अस्पतालमा डायलसिस गराइरहेकी वडाध्यक्ष राकेश गुरुङले बताए।
सोही वडाको लापुवेशीस्थित प्रभात किरण माविमा कक्षा आठमा अध्ययनरत १५ वर्षकी रोजिना गुरुङ पनि मृगौला फेल भएर उपचाररत छिन्। उनी अहिले डायलासिसको क्रममा छिन्। उनी मासिक नियमित १० हजार रुपैयाँको औषधि सेवन गर्छिन्। रोजिनाको उपचारका लागि विद्यालयले नै सामाजिक सञ्जालमार्फत आर्थिक संकलन अभियान चलाएको छ। सो अभियानबाट संकलन भएको रकमबाट उनको उपचार भइरहेको प्रधानाध्यापक जीव गुरुङलाई उद्धृत गर्दै वडाअध्यक्ष राकेश गुरुङले बताए। सोही वडाको लापुगाउँकै उषा गुरुङ (नाम परिवर्तन) पनि सोही रोगबाट ग्रसित छन्। उनी प्रारम्भिक चरणकी बिरामी हुन्। उनको हाल परिवारले नै उपचार गरिरहेको छ। सोही वडाको खानीगाउँका करिब ५० वर्षीय सुनार गुरुङलाई पनि मृगौलाको समस्याले गाँजिरहेको छ। उनी विगत दुई वर्षदेखि यो समस्याबाट ग्रसित छन्। आर्थिक अवस्था कमजोर रहेकाले आफ्नतजनले सामाजिक सञ्जालमार्फत उनको उपचार खर्चका लागि आर्थिक संकलन अभियान सञ्चालन गरेर केही रकम जोरजाम गरेका छन्।
धार्चे ७ का सबैभन्दा पहिलो मृगौला रोगका बिरामी हुन्, भिरकुनाका जयराम गुरुङ। उनलाई करिब ५ वर्षअघि यो रोग देखा परेको थियो। गुरुङ अहिले करिब ३५ वर्षका भए। उनको उपचारका लागि पनि आफ्नतजन तथा साथीसंगीले सामाजिक सञ्जालमार्फत सबैमा आव्हान गरेका थिए। उनी बिरामी भएको तीन वर्षपछि लापु गाउँका ४४ वर्षीय सूर्यलाल बिक पनि यहीे रोगबाट ग्रसित बने। उनी पनि हाल नियमित रूपमा मृगौला रोगको औषधि सेवन गर्दै आएका छन्। सुनार गुरुङ, जयराम गुरुङ, सूर्यलाल बिक र अनुजा गुरुङले भने सरकारले मृगौला रोगीहरूलाई उपलब्ध गराउने सेवा सुविधा पनि लिँदै आएका छन्। बिकमा यो रोग देखा परे यता क्रमश: उनी सहित वडाका ६ जनालाई यो रोग लागेको हो।
जयराम र सूर्यलाललाई रोग देखा पर्नुको अन्तराल धेरै भएता पनि दुई वर्षभित्र छ जनामा रोग देखिनु भनेको भयावह स्थिति भएको वडाअध्यक्ष राकेश गुरुङको भनाइ छ। यो रोग किन र के कारणले बढ्दै छ भन्ने बारे केही जानकारी नभएको वडाध्यक्ष गुरुङले जानकारी दिए। कतिपय व्यक्तिले समस्या खुलाउन नखोज्नेसमेत उनले बताए। ‘हाम्रो वडामा किन मृगौलाका बिरामीको संख्या बढ्दै गएको हो, खोइ कुन्नी ?’, उनले भने।
वडामा संक्रमितको संख्या धेरै भएकोप्रति वडाअध्यक्ष गुरुङले चिन्ता व्यक्त गरे। वडामा भएका मृगौला रोग पीडितहरूका लागि आर्थिक सहयोगसमेत जुटाउने क्रम जारी रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !