एउटा सहरको बकपत्र

एउटा सहरको बकपत्र
सांकेतिक तस्बिर।

आदरणीय दाइ

कैल्यै काठमाडौं जानू भा छ ?

काठमाडौं जडताको महल थापेर

क्रूरताको रंग धसिरहेछ
र, सपनाको बेकसुर फैसला सुनाउँदै
फाँसीको फन्दामा
हजारौं अबोध घाँटी लट्काइरहेछ।

देश भूगोल नापेर
आफ्नो क्षेत्रफल घोषणा गर्छ
र, सहर्ष 
विविधतामा एकताको नारा घन्काउँछ
विडम्बना काठमाडौंबाहेक 
यो देशको किताबमा
कहाँ छ अरूको अस्तित्व 
र त प्रदेशमा 
आम मान्छेहरू आफ्नो सुगन्धको सुवास खोजिरहेछ।

काठमाडौं रत्नपार्कलाई अँगालो मार्छ
र, बित्थाको विश्वासमा
भ्रमको गुराँस सिउरिन्छ – बेसक कानहरूमा
विडम्बना आस्थाको बली चढाउँछ
फुँडो रत्नपार्क 
कुमारी आमाको पसल थापेर
अस्मिताको विज्ञान गर्छ
र, हरसाँझ कचल्टिँदो बैंसको व्यापारमा
निमग्न निदाउँछ।

आदरणीय दाजु
रत्नपार्क असरल्ल नाङ्लाहरूमा
पानी बेच्छ र बदाम बेच्छ
हो त्यहीँनेर
अलिपर हेर्नुस् 
नितम्बको प्रदर्शन गर्दै 
रत्नपार्क ढुङ्ढुङ्ती
वीर्यको स्खलन पनि गर्छ
अखबार भ्रमको हेडलाइन छापेर
हरबिहान
मान्छेको आँखामा– आँखा बिझाउँछ
र, नेताको बकवासलाई
पहिलो प्राथमिकता दिन्छ।

हो काठमाडौं 
आडम्बरको ढोङ बोकेर
समाचार होइन पर्चा, विज्ञान र नग्नता छपाउँछ
र, कालो मसीको बान्ता गरेर
आफ्नो दादागिरी प्रदर्शन गर्दछ।
सडक किनारभरि
युद्धमा हारेका सिपाहीजस्ता
बगुन्द्र अपाहिचहरू
कचौरामा यातनाको सिक्का थाप्छन्
र, रातभरि
निदाउँदै ग्लानिहरू
आफ्नो सम्भ्रान्तताको परिचय दिन्छ काठमाडौं।

महलजस्ता
बगुन्द्र बगरहरूको
भग्नावशेषका आँखीझ्यालहरूबाट
काठमाडौं आफ्नो गिद्धजस्ता आँखाहरूले
टुलुटुलु षड्यन्त्र हेर्छ
निरन्तर कपट देख्छ
र, अनवरत छलहरूलाई स्पर्श गरेर
दंग एक्लै मुस्कुराउँछ।
ठमेल गल्तीहरूमा
मान्छेको भीड मात्र लाग्दैन 
अनगिन्ती तस्कर र भ्रष्ट 
र, देशद्रोहीहरू साँझ निलेर रक्सीको पेगहरूमा
आम सर्वहाराको रहरलाग्दा सपनाहरू निल्छ
कचेरा लागेका भैंसीका पाडाहरूको
सितनहरूसित नांगा आङहरूको आकांक्षा चपाउँछ
र, दिनदहाडै अपहरण फिरौतीका
बहस छलफलमा काठमाडौं अमूल्य समय बर्बाद गर्छ
हेर्नुस् फोहरहरूको सगरमाथा खोतलेर
टिपिरहेछन् – प्लास्टिक 
कोचेर भविष्यको लालझण्डा – बोराभरि
सल्काइरहेछन् अनाथहरू – चुरोटका खिल्ली 
छैन उनीहरूले पढ्ने पाठशाला 
फुटपाथ ओढेर
हरसाँझ ताराका सपना देख्छन्
र, उठेर बिहान
आफैंलाई थप्पड हान्छन्
सपना देख्नुको जघन्य अपराधमा।

काठमाडौं 
अबोधहरूले सपना देख्न वर्जित छ
कि उनीहरूले वेदनाको पहाड मात्र टेक्नुपर्छ
क्रूरता सहेर हर्दम
दरिद्रता नामको हिंस्रक दाँत तिखार्दै
दुःखान्त कथाको पात्र झैं भिडहरूमा
आफूलाई कस्मेटिक हाँसोमा रूपान्तरण गर्नुपर्छ।

सुदूर सम्झनाको तलाउमुन्तिर
सोचेर सम्झने हो भने
काठमाडौं साँच्चै दमको रोगीजस्तै
दिनभरि खोक्छ
र, रातभरि वेदनाको आँसु बगाउँछ।

काठमाडौं 
भुसतिघ्रे लठैतहरूको जमातमा उभिन्छ
द्रोपदीजस्तै लुटाएर अस्मिता 
आलस्य शरीर लिँदै चोक चोक
गल्लीहरूमा निदाउने प्रयत्न गर्छ।

हो काठमाडौं 
दुर्याेधनको नेतृत्वमा 
पाण्डव हत्याको योजना बनाइरहन्छ
र, अन्तिम महाभारतको
कल्पनामा शकुनी पद प्रदर्शन गर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.