गर्मी छल्न जाने होइन त ठोरी ?
![गर्मी छल्न जाने होइन त ठोरी ?](https://annapurnapost.prixacdn.net/media/albums/thori-3_5bhCjjZ5sp_FT83cwgR5O.jpg)
वीरगन्ज : विगतका वर्षभन्दा यस वर्ष देशभरि अत्यधिक गर्मी छ। वीरगन्ज, कलैया र यस आसपासका क्षेत्रको तापक्रम पनि दिनहुँ बढ्दै गइरहेको छ। यस आसपास क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी नै मापन भइरहेको छ। प्रचण्ड गर्मी अनि तातो हावा चल्दै आएका कारण वीरगन्ज र यस आसपासको क्षेत्रको जनजीवन अस्तव्यस्त नै बनेको छ। गर्मीले आकुलव्याकुल हुँदा वीरगन्ज, कलैयालगायतका सहरी क्षेत्रका मानिस गर्मी छल्न मकवानपुरको त्रिखण्डी पुग्ने गरेका छन्।
वीरगन्ज, कलैया आसपासका मानिसका लागि गर्मी छल्न र घुमफिर गर्न अब पर्साको ठोरी पनि नयाँ गन्तव्य बन्दै गइरहेको छ। हुलाकी सडक बनेपछि वीरगन्ज, कलैयालगायतका क्षेत्रका मानिस घुमफिर गरी रमाइलो गर्न र गर्मीका बेला शीतलताको आनन्द लिन अचेल ठोरी जान थालेका छन्।
मधेस प्रदेशकै मुख्य पर्यटकीय स्थलका रूपमा स्थापित हुँदै आएको ठोरी प्राकृतिक रूपमा निक्कै मनोरम छ। कलकल पानी बग्ने आधा दर्जनभन्दा बढी खोला, हरियाली जंगल र पहाडले सिंगारिएको ठोरीमा पुग्ने जोकोही पनि आनन्दित हुन्छन्।
यसअघि वनभोज खान र घुम्न पुग्ने भारतीयले दिनहुँ भरिभराउ हुने गरेको ठोरीस्थित अमृतधारा पार्कमा अचेल वीरगन्ज, कलैया, परवानीपुर, जितपुरलगायतका स्थानबाट पनि पुगेकाहरूको चहलपहल देख्न पाइन्छ।
ठोरी घुम्न पुग्नेहरू सेतो पहाडसँगै टाँसिएरै रहेको ठुटे खोलाको चिसो पानीमा नुहाएर रमाउँदै आएकोमा अब ठोरीमै चिसो अनि कलकल पानीमा नुहाउन अर्को मनोरम तालु खोला पनि आकर्षणको केन्द्र बन्न थालेको छ।
मध्यवर्ती वनभित्र रहेको रानी वनभोज पार्र्क छेउमै रहेको तालु खोलामा अचेल गर्मी छल्न नुहाउन पुग्नेहरूको संख्या बढ्दै गएको छ। मानव बस्तीबाट करिब पाँच सय मिटरभित्रको जंगलबीचमा बगिरहेको तालु खोलामा अहिलेको गर्मीका बेला पुगेर नुहाउँदा मनै शीतल हुन्छ।
ठोरी बजार क्षेत्रका होटल व्यवसायी रामशरण लमिछाने भन्छन्, ‘पहिले ठोरीमा घुम्न आउनेहरू ठुटे खोलामा नुहाएर रमाइलो गर्थे। तर अहिले नुहाएर रमाइलो गर्ने अर्को गन्तव्य तालु खोला पनि बन्दै गएको छ।’
ठोरीमा घुम्न जानेहरूका लागि रमाउने अन्य प्राकृतिक गन्तव्यहरू पनि थुप्रै छन्। ती हुन्– रेडहिल पार्क, गोलेडाँडा, झोलुङ्गे पुल, रानीवन पार्क, अमृतधारा पार्क, गणेशमान सिंह पार्क इत्यादि।
हुलाकी सडक बनेर ठोरी घुम्न आउने भारतीयसँगै आन्तरिक पर्यटकहरूको संख्या बढ्दै गएपछि ठोरीमा खानपान र बास बस्नका लागि होमस्टेसँगै सुविधासम्पन्न होटल र रेस्टुरेन्टहरू पनि खुल्न थालेका छन्। तीनैमध्येको एक हो– ठोरी जंगल रिसोर्ट।
स्थानीय चार जना युवा उद्यमीले मिलेर सगोलमा सञ्चालनमा ल्याएको ठोरी जंगल रिसोर्ट पनि ठोरी घुम्न र रमाइलो गर्न पुग्नेहरूका लागि अर्को एक आकर्षणको केन्द्र बन्दै गएको छ।
ठोरी–२ इच्छानगरमा करिब तीन बिघा क्षेत्रफलमा करिब तीन करोड रुपैयाँको लगानीमा सञ्चालित उक्त रिसोर्टमा अचेल आन्तरिक र बाह्य पर्यटकको चहलपहल राम्रै देखिन्छ। उक्त रिसोर्टमा एक रातमा ३० भन्दा बढीलाई बास बस्न मिल्ने १० वटा सुविधासम्पन्न भिल्ला (कटेज) छन् भने एकैपटक एक सयभन्दा बढी पाहुनालाई खानपान गर्न सक्ने रेस्टुरेन्ट पनि उपलब्ध छ।
रिसोर्टका सञ्चालक सुदीप थापाका अनुसार, नेपालको पर्र्सा, बारा, मकवानपुर, चितवन, काठमाडौंदेखि पाहुनाहरू आउने गरेका छन्। यसका साथै भारत बिहारको रक्सौल, नरकटियागन्ज, मोतीहारी, बेतिया, मुजफरपुर पटनासम्मबाट पनि भारतीयहरू घुम्न र रमाइलो गर्न आउने गरेको उनले बताए। रिसोर्टमा आउने पाहुनाले चाहना राखेमा जंगल सफारीको व्यवस्था पनि गरिएको रिसोर्टका अर्का सञ्चालक धीरसिंह थापाले बतााए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)