उत्तराखण्डमा पर्यटकले भरिएको गाडी नदीमा खस्यो : १४ जनाको मृत्यु,  १२ जना घाइते

उत्तराखण्डमा पर्यटकले भरिएको गाडी नदीमा खस्यो : १४ जनाको मृत्यु,  १२ जना घाइते
तस्बिर : बीबीसी।

नयाँ दिल्ली : भारतमा गुरुग्रामबाट उत्तराखण्ड घुम्न आएका पर्यटकहरु शनिबार एउटा दुःखद दुर्घटनामा परेका छन्। रुद्रप्रयाग नजिकै बद्रीनाथ राष्ट्रिय राजमार्गबाट ​​पर्यटक बोकेको एउटा यात्रुवाहक गाडी अनियन्त्रित भई करिब ३०० मिटर तल अलकनंदा नदीको किनारमा खसेको थियो। यस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

रुद्रप्रयाग जिल्ला प्रकोप व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले भने, 'गुरुग्रामबाट २६ यात्रु बोकेर तुंगानाथ-चोपटा जाँदै गरेको टेम्पो ट्राभलर गाडी शनिबार बिहान ११.३० बजे रुद्रप्रयाग मुख्यालय नजिकै दुर्घटनामा परेको थियो। साँझसम्म घटनामा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये ३ जनाको सनाखत हुन सकेको छैन।'

यो घटना रुद्रप्रयाग जिल्ला सदरमुकामबाट करिब ७ किलोमिटर टाढा रहेको रैतोली नामक ठाउँ नजिक भएको हो। 'शुक्रबार राति करिब १० बजे, पर्यटकहरू गाडीमा दिल्लीबाट उत्तराखण्डको चोप्टा जान निस्किएका थिए। घटनाको खबर पाएलगत्तै एसडीआरएफ, डीडीआरएफ, प्रहरी, जल प्रहरी, होमगार्डलगायत स्थानीय बासिन्दा उद्धारका लागि घटनास्थलमा पुगेका थिए', उनले भने।

 गाडी सडकबाट करिब ३०० मिटर गहिरो खाल्डोमा खसेकोले १० जनाको घटनास्थलमै मृत्यु भएको थियो। १४ जनाको उद्धार गरी जिल्ला अस्पताल रुद्रप्रयागमा भर्ना गरियो। अस्पताल पुग्दा चिकित्सकले एकजनालाई मृत घोषणा गरेका थिए। अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका सात जनालाई हेलिकप्टरबाट उद्धार गरिएको उनले बताए।  एम्स ऋषिकेश पुगेपछि थप दुई जनाको मृत्यु भएको उनले जानकारी दिए।

मुख्यमन्त्री पुष्कर सिंह धामी शनिबार साँझ एम्स ऋषिकेश पुगेर त्यहाँ भर्ना भएका घाइते पर्यटकको अवस्थाबारे चिकित्सकसँग जानकारी लिएका थिए। मुख्यमन्त्री धामीले मृतकका परिवारलाई २/२ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन्। मुख्यमन्त्रीले गम्भीर घाइतेलाई रु ४०–४० हजार र सामान्य घाइतेलाई १०–१० हजार रुपैयाँ उपलब्ध गराउन निर्देशन पनि दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.