करेन्ट लागेर बालिकाको मृत्यु
नुवाकोट : नुवाकोटको सिन्दुरेफाँटमा करेन्ट लागेर बालिकाको मृत्यु भएको छ। गोठालो जाने क्रममा करेन्ट लागेर लिखु गाउपालिका-३ डुम्रीगाउँकी १२ वर्षीया इन्दिरा राईको मृत्यु भएको हो।
बेलकोटगढी नगरपालिका-१३ स्थित सिन्दुरेफाँट बाडुलमा नेपाल विद्युत प्राधिकरण काठमाडौं ग्रिड महाशाखाअन्तर्गत रहेको नुवाकोट–काठमाडौ ६६ केभी प्रसारण लाइनमा गोठालो गएका बेला असार १ गते दिउँसो करेन्ट लागेर घाइते भएकी राईको उपचारको क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
करेन्ट लागेर शरीरका विभिन्न भागहरु जलेपछि घाइतेलाई उपचारार्थ अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए। पीडित पक्षलाई उचित क्षतिपूर्ति दिइनुपर्ने स्थानीयवासी तथा पीडित पक्षले माग गरेको छ।